काठमाडौं – वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पठाउने बहानामा रकम संकलन गरी ठगी गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । रोमानिया, माल्दिभ्स र न्युजिल्याण्ड पठाइदिने भन्दै युवाहरुबाट रकम संकलन गरी फरार रहेको आरोपमा श्यामबहादुर भण्डारी, फूलमाया खत्री र चन्द्रबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
काभ्रेको तेमाल गाउँपालीका–१ घर भई हाल काठमाडौं तार्केश्वर बस्ने भण्डारीले शरण बुढाथोकीलाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई एक प्रतिष्ठित कम्पनीमा पेन्टरको काम लगाइदिने भन्दै मासिक एक लाख रुपैयाँ तलब प्राप्त हुने प्रलोभन देखाएर पाँच लाख ७४ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पीडितसँग पैसा लिएर सम्पर्कविहीन अवस्थामा रहेका उनलाई खोजतलासको क्रममा तार्केश्वरबाटै पक्राउ गरिएको बताइएको छ ।
यसैगरी माल्दिभ्स पठाइदिने बहानामा प्रकाश बुढाथोकीसँग चार लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं काँडाघारी बस्ने खोटाङ बाक्सिलाकी खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले पीडितलाई मासिक एक लाख रुपैयाँ तलब हुने गरी माल्दिभ्सको एक प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डको काम लगाइदिने भन्दै ठगी गरेको आरोप छ ।
यस्तै सल्यानको शारदा नगरपालिका घर भई हाल काठमाडौं सामाखुसी बस्ने बुढाथोकीले खड्गराज गिरीसमेत दुई जनालाई न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । बुढाथोकीले पीडितलाई मासिक दुई लाख रुपैयाँ तलब हुने प्रलोभनमा पारी न्युजिल्याण्डको एक प्रतिष्ठित कम्पनीमा प्याकिङको काम लगाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।