धरहराको निर्माण पूरा नभइ पार्किङ खुल्ला गरिएपछि अहिले निर्माण कम्पनी रमन कन्स्ट्रक्सन र काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहबीच टकराव बढेको छ । हुन त घर बन्ने क्रममा तला थप्दै गर्दा भुइँतल्लामा बस्न सकिन्छ । यही सामान्य विषयलाई लिएर बालेनको कदम सही भन्नेहरु पनि छन् ।
तर धरहराको पार्किङको सवालमा फरक विषय छ । तीन तल्लासम्म मुनि बेसमेन्ट रहेको पार्किङ क्षेत्र निर्माण अझै भएको छैन । ती क्षेत्रमा बत्ती, सिसिक्यामरा, अग्निसुरक्षाका विषय जडान गरिएका छैनन् । जसका कारण जुनसुकै बेला जे पनि दुर्घटना हुन सक्छन् । सवारीसाधन चोरी हुन सक्ने उत्तिकै जोखिम छ । त्यसैगरी जमिनमुनिको भागमा अक्सिजन व्यवस्थापन गर्न पनि जरुरी छ । जुन अहिलेसम्म भएको छैन ।
त्यसैले पनि पार्किङका लागि तयार भइनसकेको क्षेत्रमा बलजफ्ती गर्नु ठीक होइन । हुन त एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै ढिपी देखाएर २०७८ को सुरुमै निर्माण कार्य नसकी आफ्नो नाम लेखाउन उद्घाटन गरे । यो कुरा दुनियाँलाई जगजाहेर छ । जसका कारण अहिले ओली प्रतिपक्षी दलको कूर्सीमा पुगेका छन् । प्रतिपक्षीमा पुगेपछि जनताले करुणा देखाउनुपर्नेमा ओलीमाथि उल्टै आक्रोश पोख्छन् जनताहरु ।
बालेनले ओलीको कार्यशैलीमाथि प्रश्न गर्नु जायज हो, तर ओलीले गल्ती गरेको भन्दै आफूले पनि गल्ती गर्दा ठीक हुन्छ भनेर पाखुरा सुर्काउनु ठीक हुन्न । मेलम्चीमा ओलीकै कारण परीक्षणबिनै पानी हाल्दा ढोका खुस्केर कामदारकै मृत्यु भयो । धरहरामात्र हैन ओलीले आफ्नो सत्ता छँदा उन्माद देखाएर निर्माण पूरा नभएको आयोजनाको पनि उद्घाटन सकाए । ओली शैलीकै कारण पुराना दलमाथि आक्रोश बढ्दो छ । तर विधिलाई मिचेर उन्माद देखाउँदै निर्माण नसकी धरहरामा पार्किङ खुलाउन हुन्न ।
बालेनले ‘अकुपाइ टुँडिखेल’अन्तर्गत मजदुरलाई टहराबाट हटाउनु ठीक हो । यसैगरी यहाँ थुपारेर राखेका सामान हटाउनु पनि ठीक हो । किनभने धरहराका संरचनाहरु लगभग निर्माणको अन्तिम चरणमा पुगेको बेला रमण जेभीले अझै त्यो ठाउँ उपयोग गर्नु गैरव्यावसायिक हो । तर यही विषयको झोंकमा असुरक्षित पार्किङमा जोखिम मोल्नु ठीक हुन्न । महानगरले यहाँ पार्किङ खुलाउने नै हो भने सुरक्षाका ग्यारेण्टी गरेरमात्र सुरु गरौं । नभए एउटाले बिराउने, शाखा पिराउने शैलीमा विधि मिच्ने काम नगरौं ।