संवैधानिक परिषद्मा माओवादी खाली नगराउन पनि राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्याललाई अध्यक्ष बनाउँदा उपयुक्त हुन्छ । संवैधानिक परिषद्मा प्रधानमन्त्री रहुञ्जेल त हो एक जना, त्यसपछि त हाम्रो पार्टीको एक जना पनि पदाधिकारी हुँदैन ।
अग्निप्रसाद सापकोटा
प्रवक्ता, माओवादी केन्द्र
- राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल भएकोले अध्यक्षमा दाबी स्वाभाविक रहने माओवादीको तर्क
- कांग्रेस नेता कृष्ण सिटौला राष्ट्रिय सभाको अध्यक्ष बनेर राजनीतिक करिअरको ‘सेफ ल्यान्डिङ’ गर्ने तयारीमा
- सिटौलाका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसमेत ‘ब्याक’ हुने सम्भावना
काठमाडौं– राष्ट्रिय सभाको अध्यक्षमा माओवादीले पनि दाबी गर्ने तयारी गरेको छ । मंगलबार माओवादी केन्द्रका सांसदहरुले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्न दबाब दिएसँगै यस्तो सुरसार देखिएको हो ।
सिंहदरबारमा माओवादीका राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यहरुको संयुक्त बैठकमा सांसदहरुले दाहालसामु उक्त माग राखेका हुन् । राष्ट्रिय सभामा माओवादी सबैभन्दा ठूलो दल भएकोले अध्यक्षमा दाबी स्वाभाविक रहने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए । ‘राष्ट्रिय सभामा माओवादी सबैभन्दा ठूलो दल बनेको छ । यसकारण अध्यक्षमा हाम्रो दाबी रहन्छ,’ बैठकपछि पाण्डेले भने ।
प्रधानमन्त्री दाहालले आफूले यो विषय गठबन्धनमा राख्ने माओवादी नेताहरुलाई बताएका छन् । सत्ता गठबन्धनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि अध्यक्षमा दाबी गरेको छ । निर्वाचनमा उम्मेदवार चयन हुनुअघि नै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा अध्यक्ष बन्ने तयारी गरेका थिए ।
नयाँ निर्वाचित राष्ट्रिय सभा सदस्यहरुले फागुन २० गते राष्ट्रिय सभामा शपथ लिँदै छन् । यही दिनबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बिदा हुने भएपछि उक्त पदका लागि निर्वाचन हुने छ । अध्यक्षका लागि फागुन २९ गते निर्वाचन गर्ने तयारी रहेको छ ।
माओवादीले कसलाई बनाउँदै छ उम्मेदवार ?
सत्तारुढ दल माओवादीले यसअघि एमालेसँगको गठबन्धनमा राष्ट्रिय सभामा उपाध्यक्ष पाएको थियो । उक्त पदमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी थिइन् । अर्याल मधेस प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनलाई पार्टीले राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गरेको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटा बताउँछन् ।
संवैधानिक परिषद्मा माओवादी खाली नगराउन पनि अर्याललाई अध्यक्ष बनाउँदा उपयुक्त हुने सापकोटा बताउँछन् । ‘संवैधानिक परिषद्मा प्रधानमन्त्री रहुञ्जेल त हो एक जना, त्यसपछि त हाम्रो पार्टीको एक जना पनि पदाधिकारी हुँदैन,’ सापकोटाले भने ।
२०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनबाट एमाले पोलिटब्युरो सदस्यमा निर्वाचित भएकी उनी २०६७÷६८ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्री बनेकी थिइन् । नेकपा मसाल पृष्ठभूमिकी अर्याल २०७० जेठ ४ गते माओवादी प्रवेश गरेकी हुन् ।
सिटौलाको आफ्नै तयारी
कांग्रेस नेता सिटौला राष्ट्रिय सभाको अध्यक्ष बनेर राजनीतिक करिअरलाई ‘सेफल्यान्डिङ’ गर्ने मनसायमा देखिन्छन् । त्यसैले उनले चुनावमा होमिनुअघि नै पार्टी सभापति शेरबहादुर देउवासँग उक्त पद पक्का गरेका थिए । सिटौला कांग्रेसमा ‘थर्ड पोल’ अर्थात् तेस्रो खेमाको नेतृत्व गर्ने नेताका रुपमा चिनिन्छन् । गिरिजाप्रसाद कोइरालाको पालामा मनोनीत महामन्त्री बनेका उनको खेमाका युवा नेताहरु धमाधम निस्कन थालेपछि उनी लगातार कमजोर बने । १३औं र १४औं महाधिवेशनमा देउवालाई सघाउन बाध्य भएका सिटौला कसैगरी राष्ट्रिय सभाको अध्यक्ष बन्ने दाउमा छन् ।
तर पार्टीमा उनीपक्षका युवा नेताहरु गुटकै विलय हुन लागेको भन्दै अध्यक्ष बन्न नदिने कसरतमा छन् । १३औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनाएका गगन थापा र १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनाएका प्रदीप पौडेलले उनको खेमा छाडिसकेका छन् । अहिले गगन र प्रदीप शेखर निकट मानिन्छन् । सशक्त युवा नेताहरु धमाधम निस्केपछि सिटौला समूहमा पछिल्लो समय कुन्दनराज काफ्ले, भूपेन्द्र राई, जितबहादुर आले, बलदेव तिमिल्सिनाजस्ता युवा नेताहरु सक्रिय छन् ।
उनीहरु सिटौलालाई उपप्रधानसहित गृहमन्त्री भएको हेर्न चाहन्छन् । सरकारमा हुँदा गुटको पावर बढ्ने अपेक्षासहित सिटौलालाई दबाब दिन नेताहरु सक्रिय रहेको बताइन्छ । ‘सिटौलालाई उनीनिकट नेताहरुले सरकारमा मन्त्री बनोस् भन्ने आशयसहित दबाब दिइरहेका छन्, तर उहाँ आफैं भने अध्यक्ष बन्न लयमा देखिनुहुन्छ,’ सिटौलाइतरका एक नेताले भने ।
सिटौलाले राष्ट्रिय सभाको अध्यक्ष बन्न चाहेमा प्रधानमन्त्री दाहालसमेत ‘ब्याक’ हुने बताइन्छ । यसबारे कांग्रेसले अहिले नै कुनै छलफल चलाइनसकेको कांग्रेस प्रचार विभागका प्रमुख मिनबहादुर विश्वकर्मा बताउँछन् ।
राष्ट्रिय सभामा कसको शक्ति कति ?
माघ ११ को निर्वाचनपछि सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । थप पाँचजना सांसद निर्वाचित भएसँगै १७ सांसदसहित माओवादी राष्ट्रिय सभामा पहिलो दल भएको हो ।
१९ जना सांसदका लागि भएको चुनावबाट माओवादीका कृष्ण अधिकारी (बागमती), मनरुपा शर्मा (गण्डकी), झक्कुप्रसाद सुवेदी (लुम्बिनी), विष्णु विक (कर्णाली) र रेणु चन्द (सुदूरपश्चिम) निर्वाचित भए । हाल माओवादीका उपाध्यक्षसहित राष्ट्रिय सभामा १५ जना सांसद छन् । त्यसमध्ये तीन जनाको २० फागुनमा पदावधि सकिँदै छ । पदावधि सकिन बाँकी १२ जना र बिहीबार निर्वाचित पाँचजना गरी माओवादीको १७ सांसद भएको हो ।
राष्ट्रिय सभाको दोस्रो दल नेपाली कांग्रेस बनेको छ । चुनावमा १० जना सांसद निर्वाचित भए पनि कांग्रेस १६ सिटसहित दोस्रो दल बनेको हो । १० सांसद वर्तमान संसद्मा रहेकामा २० फागुनपछि कांग्रेसका चारजना सांसदको पदावधि सकिने हुँदा १६ सांसदसहित उक्त दल दोस्रो भएको हो ।
निर्वाचन आयोगका अनुसार कांग्रेसका कृष्णप्रसाद सिटौला (कोशी), आनन्दप्रसाद ढुंगाना (मधेस), जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी (बागमती), किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार (गण्डकी), विष्णुकुमारी सापकोटा (लुम्बिनी), कृष्णबहादुर रोकाय (कर्णाली) र नारायण भट्ट तथा बलदेव बोहरा (सुदूरपश्चिम) निर्वाचित भए ।
राष्ट्रिय सभामा खुम्चिएर तेस्रो दल भएको एमालेले १९ मध्ये एक सिट जितेको छ । एमालेबाट कोशी प्रदेशमा रुक्मिणी कोइराला गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै राष्ट्रिय सभामा आएकी हुन् । एमालेका नौ जनाको पदावधि सकिन लागेको छ । यस आधारमा एमाले १० जना सांसदमा सीमित हुने भएको छ ।
सत्ता गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादी आठ सिटसहित चौथो बनेको छ । जनता समाजवादी पार्टीको हाल राष्ट्रिय सभामा तीनजना सांसद छन् ।
राष्ट्रपतिबाट मनोनीत गर्नुपर्ने सिटमा भने राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको चर्चा छ । गठबन्धन दलहरु पौडेललाई राष्ट्रिय सभामा ल्याउन सहमत छन् । त्यसो भएमा जनमोर्चाको राष्ट्रिय सभामा दुई सांसद हुने छ । हाल राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को एक जना सांसद छन् ।