काठमाडौं– अरुको नागरिकता किर्ते गरी वैदेशिक रोजगारीको नाममा युरोप पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–३ घर भई ललितपुर नख्खु बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषाको मिथिला नगरपालिका–१० घर भई नख्खु नै बस्ने रामसेवक सिंह रहेको प्रहरीले जनाएको छ ।
रामेश्वर र रामसेवक नातामा ज्वाईं–जेठान रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नगारिकताको प्रमाणपत्रमा रामेश्वर सिंहले आफ्नो बहिनी ज्वाईं रामसेवक सिंहको फोटो टाँसेर किर्ते गरी काठमाडौं, चितवन र विर्तामोडमा कन्सल्टेन्सी दर्ता गरेर रोजगारीको लागि युरोपेली मुलुक रोमानिया, जर्मनी, क्रोएसिया र अफगानिस्तान पठाइदिने भन्दै प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म ठगी गरेको प्रहरीले उल्लेख गरेको छ ।
लामो समयदेखि ठगीधन्दा चलाउँदै आएका ज्वाईं–जेठानले युरोपेली मुलुकका प्रतिष्ठित कम्पनीहरुमा काम लगाइदिने भन्दै ५५ जनासँग त्रिसठ्ठी लाख रुपैयाँ संकलन गरी ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
रामेश्वरले २०७४ सालदेखि एक वर्ष बजाज ओभरसिजमा वैदेशिक रोजगारसम्बन्धी काम सिकेको, २०७४ साल फागुनमा भेरी ओभरसिज किनेर सञ्चालन गरी दुई सय जनाबाट तीन करोड रुपैयाँ ठगी गरी डेढ वर्ष जेल सजाय भुक्तान गरेको, २०७८ सालमा ठगी मुद्दामा फरार रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।
रामेश्वरले भेरी ओभरसिजमा विदेश जान भनि पेश गरेका यादवत्रयको नागरिकताको प्रमाणपत्रमा रामसेवकको फोटो टाँसेको पनि खुल्न आएको छ । उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको ६० लाख बरावरको चेक र नौ वटा सिमकार्ड बरामद गरिएको पनि प्रहरीले जनाएको छ । उनीहरुउपर ठगी, किर्ते जालसाजी, बैंकिङ कसुरलगायतका अपराधमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।