- अरुबेला सरकारको आलोचनामा खर्चिने थापाले बुधबार सुशासन कायमबारे धारणा राख्ने क्रममा अरुण चौधरीसँग लामिछाने आक्रोशको घानमा परेका हुन्
- लामिछाने पनि के कम, अदालतले दोषी ठहर गरेका नेताहरू पुराना दलमा अझै पदाधिकारीकै रूपमा रहेको भन्दै गगनतिरै औंला सोझ्याए
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच संसद् बैठकमै घोचपेच भएको छ । बुधबारको प्रतिनिधि सभामा सरकारी जग्गा हडपेको प्रकरण र सहकारी ठगी प्रकरणमा दुई नेताबीच घोचपेच भएको हो ।
निकै लामो समय सम्बोधन गरेका महामन्त्री थापाले सुरुमा नेपालको सार्वजनिक जग्गा हडप्ने र सहकारी ठगीमा संलग्न व्यक्ति जतिसुकै शक्तिशाली भए पनि सजाय पाउनुपर्ने बताएका थिए । उनको यो अभिव्यक्ति बाँसबारीमा रहेको छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेर अन्ततः थुनामुक्त भएका व्यवसायी अरुण चौधरी र सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलक्षित थियो ।
आम नागरिकले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ । ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन ? कानुनले कारबाही गर्नु पर्दैन ?
गगन थापा
महामन्त्री
नेपाली कांग्रेस
‘नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्छ । जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस्, दण्ड पाउनुपर्छ । आमनागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउनेमाथि कारबाही हुनुपर्छ,’ गगनले भनेका थिए ।
अझ आक्रोशित हुँदै थापाले लामिछानेलक्षित भनाई राखे । सहकारी ठगी धन्दाको मतियार भएका व्यक्ति कारबाहीको दायरामा आउनुपर्ने उनको भनाई थियो । त्यसो गरिए सरकार सुशासनको पक्षमा साँचो रुपमा उभिएको अर्थ लाग्ने पनि उनको भनाइ थियो ।
‘आम नागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ । ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन ? कानुनले कारबाही गर्नु पर्दैन ?’ महामन्त्री थापाले भने ।अरुबेला अधिकांश समय सरकारको आलोचनामा खर्चिने थापाले बुधबार भने सुशासन कायमसँग सम्बन्धित सवालमा धारणा राखेका हुन् । सोही क्रममा चौधरीसँगै लामिछाने पनि थापाको आक्रोशको घानमा परे ।
उनले नागरिकता बनाउनलाई किर्ते गर्नेमाथि पनि कारबाही हुनुपर्ने बताए । ‘हातमा तागत होस्, कलम होस् नागरिकता बनाउनलाई किर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यसकारण किर्ते गरे पनि माफी हुन्छ भनेर चल्छ ?’ थापाले प्रश्न गरे । उनले सुशासनको मन्त्र भनेको कानुनी शासन नै भएको बताए । सामान्य नागरिकलाई जसरी सुशासनविरोधी गतिविधिमा संलग्नमाथि कानुनी डण्डा चलाउनुपर्नेमा उनको जोड थियो ।
‘चाहे जग्गा हडप्ने होस्, नागरिकताको किर्ते गर्ने होस् वा सहकारीमा ठग्ने होस्, यताको होस् वा उताको होस्, जुनसुकै दलको होस्, दलभन्दा बाहिरको होस्, जतिसुकै शक्तिशाली होस्’, गगनले भने, ‘एउटा नागरिकले जे गर्दा दण्ड पाउँछ, शक्तिशालीलाई पनि त्यो कानुन त्यसरी नै लागू हुनुपर्छ ।’थापा रोस्ट्रममा यसरी चर्किँदा घरिघरी रवि पिलिक्क हेर्थे । आक्रोशभाव उनको अनुहारमा देखिन्थ्यो । अन्ततः रविले थापाको जवाफमात्रै फर्काएनन्, उल्टै प्रश्न पनि गरे ।
कांग्रेसले लामो समयसम्म सरकार नछोडेको जस्तो पनि लाग्छ । राजनीति र सदनमा भएको पनि वर्षौं बितेजस्तो लाग्छ । रोके छ चाहिँ केले ? नयाँ दलले ?
रवि लामिछाने
सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारी जग्गा हडप्ने, नागरिकता किर्ते गर्ने र सहकारीका ठगहरूलाई कारबाहीको दायरामा ल्याउन नयाँ दलले रोकेको हो भनी प्रश्न गरे । ‘सरकारी जग्गा किर्ते गर्नेहरू आफ्नै दलभित्र छन् कि ∕ पहिला पार्टीभित्र कारबाही गरेर सुशासनको नयाँ कदम र उदाहरण दिने पो हो कि ? नागरिकता किर्ते गर्ने र सहकारीका ठगहरूलाई कारबाहीको दायरामा ल्याउने पो हो कि ? सरकारमै भएजस्तो लाग्छ’, लामिछानेले गगनप्रति लक्षित गर्दै भने, ‘लामो समयसम्म सरकार नछोडेको जस्तो पनि लाग्छ । राजनीति र सदनमा भएको पनि वर्षौं बितेजस्तो लाग्छ । रोके छ चाहिँ केले ? नयाँ दलले ?’
अदालतले दोषी ठहर गरेका मान्छेहरू केही पुराना दलमा अझै पदाधिकारीका रूपमा रहेको पनि लामिछानेले बताए । ‘पुराना दलले एकपटक आफ्नो दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरू अझै पदाधिकारीका रूपमा रहन्छन्’, रविले भने ।
तर, पूर्वउपप्रधान तथा गृहमन्त्री भएका रवि सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनीविरुद्ध उजुरी पनि परेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितले लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशविरुद्ध पनि अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएका छन् । सहकारीको रकम हिनामिनामा लामिछाने र पुन पनि संलग्न रहेको पीडितहरुको जिकिर छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक मोहन थापाका अनुसार २५ जना पीडितले लामिछाने र पुनविरुद्ध उजुरी दिएका हुन् । त्यहाँ यसअघि नै १ हजार ७६ जना पीडितले पनि लामिछानेलगायतविरुद्ध उजुरी दिएका छन् । उजुरीमा बचतकर्ताको पैसा लामिछाने यसअघि शेयरधनी रहेको गोरखा मिडिया प्रालिमा लगानी गरेको पीडितहरुले उल्लेख गरेका छन् । तर, लामिछानेले आरोपहरुको खण्डन गरेका छन् । समाचारहरुमा सत्यता नभएको पनि उनको दाबी छ ।
यसरी लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको बेला कांग्रेस महामन्त्री थापाले उनलाई कारबाहीको मागसमेत गरे । अनुसन्धानको दायरामा ल्याएर दोषी ठहरिए सर्वसाधारण नागरिकलाई जसरी कारबाही हुनुपर्नेमा उनको जोड छ । लामिछानेले भने यी सबै विषयलाई खारेज गर्दै कारबाही गरेर देखाउन चुनौती दिएका हुन् ।