काठमाडौं– सरकारले वैदेशिक रोजगारसम्बन्धी चालु आर्थिक वर्षको छ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले बिहीबार छ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै यस अवधिमा तीन लाख ४३ हजार ४११ जना नेपाली रोजगारीको लागि विदेशिएको जानकारी दिएको छ । जसमध्ये ३९ हजार ५७२ जना महिला रहेको उल्लेख गरिएको छ ।
चालु आवको सुरुआती साउनदेखि पुस मसान्तसम्मको गतिविधि उल्लेख गर्दै विभागले व्यक्तिगत नयाँ श्रम स्वीकृतिमा ४२ हजार १९० जना, म्यानपावरमार्फत एक लाख ५८ हजार ९८६ जना, पुनः श्रम स्वीकृति लिएर एक लाख ३५ हजार ४३५ जना र इपीएस (जीटुजी)मार्फत ६ हजार ८०० जना नेपाली रोजगारीको लागि विदेशिएको तथ्यांक सार्वजनिक गरेको छ ।
विभागले मातहत रहेका विभिन्न शाखामा परेका उजुरी तथा उजुरी फछ्र्योट र क्षतिपूर्ति रकम पनि सार्वजनिक गरेको छ । विभागको उद्धार, राहत तथा शाखामा साउनदेखि पुस मसान्तसम्म उद्धारका लागि ६९० उजुरी परेको छ । जसमा ४५ जनाको उद्धार गरिएको तथा १७२ जनालाई क्षतिपूर्ति दिइएको छ । उद्धारको लागि आएका ७९ जनालाई आपसी सहमतिमा मिलाइएको छ । ६५ उजुरी फिर्ता गरिएको छ, भने १ तामेलीमा राखिएको बताइएको छ । उद्धारको लागि आएका उजुरीमध्ये ३६२ वटा फछ्र्यौट भएको छ । क्षतिपूर्ति रकम भने एक करोड ३९ लाख ४६ हजार रुपैयाँ दावी गरिएको छ ।
त्यस्तै यस अवधिमा मुद्दा तथा अनुसन्धान शाखामा एक हजार १३० उजुरी परेका छन् । जसमा १९१ मिलापत्र गराइएको छ भने ८४ वटा उजुरीको अदालतमा मुद्दा दर्ता गरिएको छ । यसमा ११ करोड दुई लाख ८९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दाबी गरिएको विभागले जनाएको छ ।
यसैगरी विभाग परिसरभित्रै रहेको प्रहरी शाखामा १ हजार ६७५ उजुरी दर्ता भएका छन् । जसमा ६५ उजुरीमा मिलापत्र गराइएको छ भने ९२३ उजुरी फछ्र्योट गरिएको छ । प्रहरीमा परेका उजुरीहरूबाट १ करोड ४२ लाख नौ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी गरिएको विभागले जनाएको छ ।
समग्रमा यो ६ महिनाको अवधिमा तीन हजार ४९५ उजुरी दर्ता भई एक हजार ५६० वटा फछ्र्योट भएको विभागले उल्लेख गरेको छ । साथै उजुरीकर्ताबाट १३ करोड ८४ लाख ४५ हजार दावी गरिएको उल्लेख छ ।