सहरमा कुकुर छाडा छाड्ने चलन घटेको छैन । घरबाट छाडा छाडिएका कुकुरले बेलाबेला मानिसहरुमाथि आक्रमण गर्ने घटना बढेका छन् । यस्ता घटना कम गराउन काठमाडौं महानगरलगायत स्थानीय तहहरुले बन्ध्याकरणदेखि खोप कार्यक्रम सञ्चालन गर्छन् । काठमाडौं महानगरले पछिल्लो ६० दिनमा तीन हजारभन्दा बढी कुकुरमा बन्ध्याकरण गर्नुका साथै पाँच हजारभन्दा बढी कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाएको छ ।
अरु नगरपालिकाले पनि यस्तै कार्यक्रम सञ्चालन गरे पनि कुकुरले टोकेको घटना झन् बढ्दो छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार कुकुरले टोकेका बिरामीको संख्या बढिरहेको छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा कुकुरले टोकेपछि खोप लगाउन आउने नयाँ बिरामी ३८ हजार ७४८ रहेका थिए भने आव २०७९÷८० मा यो संख्या बढेर ५० हजार ४९४ पुगेको छ ।
यस्तै आव २०७८÷७९ मा नयाँ र पुरानो गरी एक लाख, एक हजार, एक सय ९६ र आव २०७९÷८० मा नयाँ र पुरानो गरी एक लाख २५ हजार ९० बिरामीले रेबिजविरुद्धको खोप लगाएका छन् । अस्पतालका अनुसार कुकुरले जाडोमा भन्दा गर्मी महिनामा बढीलाई टोक्ने टोक्छ । जाडोमा होस् गर्मी रात्रीकालीन समय र बिहान कुकुरले बाइक, साइकल सवार रहेका यात्रुमाथिसमेत झम्टेर टोक्ने गर्छ ।
घरपालुवा र भुस्याहा कुकुरले मानिसलाई टोक्ने गरेको छ । कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप नलगाएको खण्डमा रेबिज रोग लाग्ने गर्दछ । अस्पतालका प्रमुख कल्सन्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले कुकुरले टोकेपछि जतिसक्दो चाँडै खोप लगाउनुपर्ने हुन्छ । खोप नलगाएको खण्डमा २० देखि ९० दिनसम्म रेबिज रोगको लक्षण देखिने र लक्षण देखिएको सात दिनभित्रमा बिरामीको मृत्यु हुन्छ । रेबिज रोग लागेका बिरामीको मृत्युदर शतप्रतिशत रहेको छ । रेबिज रोग लागेका मान्छे सुरुमा पानी र हावासँग डराउने र त्यसपछि अचेत अवस्था भई मृत्यु हुने गर्छन् ।
रेबिजबाट संक्रमित भएको कुकुर, जंगली जनावरजस्तै स्याल, फ्याउरोले टोकेमा, चिथोरेमा तिनीहरूको र्यालबाट रेबिज रोग सर्दछ । रेबिज भाइरसले मस्तिष्कमा असर पु¥याउँछ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ । कुकुरले टोकेमा टोकेको घाउमा १५ मिनेटसम्म साबुनपानीले सफा गर्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । यस्तो घातक रोगलाई नियन्त्रणमा लिनका लागि सबैले मिलेर कुकुरको टोकाइलाई कमभन्दा कम गर्नुपर्छ । त्यसैले जनस्वास्थ्यमा ख्याल गर्दै यसका लागि भुस्याहा कुकुर नियन्त्रण गर्ने कार्यक्रम चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउनुपर्छ ।