सत्यनारायण श्रेष्ठको सभापतित्वमा २००८ सालमा नेपाल पत्रकार संघ गठन भएकै हो । तर जातको हिसाबमा उनको नेतृत्वलाई पत्रकार महासंघले स्वीकारेन । यस विषयमा नेपाल जनजाति पत्रकार महासंघमा चौथो अधिवेशनबाटै मुद्दा उठेको थियो । यसलाई हामीले पाँचौं महाविधेशनबाट मुद्दा बनाएको हो । यसबीचमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पनि ज्ञापनपत्र बुझाएका थियौं । महासंघका वर्तमान अध्यक्ष विपुल पोखरेललाई पनि ज्ञापनपत्र बुझाएका हौं । तर इतिहासमाथि गद्दारी गर्दै चोरबाटोबाट ‘अग्र अनुहार’ नामक किताब ल्याउने कोसिस गरियो । यसको हामीले शान्तिपूर्णरुपमा विरोध गरेका हौं ।
गजुरधन राई
अध्यक्ष, फोनिज
यो नै अन्तिम इतिहास होइन, इतिहास करेक्सन गर्दै जाने हो । पत्रकार महासंघ र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पत्रकार महासंघले विभिन्न माध्ययमबाट सम्मान गर्न तयार छ, महासंघलाई यहाँसम्म ल्याउन धेरैले महŒवपूर्ण भूमिका खेल्नुभएको छ ।
विपुल पोखरेल
अध्यक्ष, नेपाल पत्रकार महासंघ
काठमाडौं– नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष को हुन् ?
जवाफ प्रस्टै छ– सत्यनारायणबहादुर श्रेष्ठ ।
लिखित दस्तावेज प्रस्ट हुँदाहुँदै नेपाल पत्रकार महासंघले भने यसलाई अस्वीकार गर्ने क्रम जारी राखेको छ । जसकारण यो विषयमा पुनः विवाद सिर्जना भएको छ । आइतबार नेपाल पर्यटन बोर्डको सभाहलमा बालकृष्ण अधिकारी सम्पादित ‘अग्र अनुहार’ पुस्तक विमोचनको कार्यतालिका थियो । पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले प्रकाशन गरेको किताब विमोचनको क्रममा केही समय नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज)ले अवरोधको प्रयाससमेत गरेको थियो ।
अग्र अनुहारको प्रकाशन तत्कालका लागि रोक्न नेवाः राष्ट्रिय पत्रकार दबुले शनिबार नै आग्रह गरेको थियो । फोनिजले पनि विज्ञप्ति जारी गरेर विमोचन कार्यक्रम स्थगित गर्न अनुरोध गरेको थियो । उक्त किताबको विमोचनका लागि सभामुख देवराज घिमिरे र सञ्चारमन्त्री रेखा शर्मालाई आमन्त्रण गरिएको थियो । कार्यक्रम विवादित हुने देखिएपछि दुबै अतिथिले आफ्नो उपस्थिति स्थगित गरे । यद्यपि सार्वजनिक कार्यक्रमलाई निरन्तरता दिएपछि फोनिज अध्यक्ष गजुरधन राईको नेतृत्वमा पुगेको टोलीले इतिहास मेट्न पाइँदैन भन्दै नाराबाजी ग¥यो । विरोधका क्रममा किताबसमेत च्यातियो ।
को हुन् पत्रकार महासंघका संस्थापक ?
गृष्मबहादुर देवकोटाको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’को तेस्रो संस्करण(२०५९)को पृष्ठ १३८ मा लेखिएको छ, ‘नेपालमा सबैभन्दा पहिले २००८ सालमा नेपाल पत्रकार संघ नामक पत्रकारहरुको एउटा संघको स्थापना भयो । यस संघका सभापति श्री सत्यनारायणबहादुर श्रेष्ठ र सेक्रेटरी श्री भोजबहादुर सिंह न्यौपानी हुनुहुन्थ्यो ।’
२००९ वैशाख २८ गते आर्य समाज मन्दिर भोटाहिटीमा यस संघको दोस्रो सभा बसेको र यही सभाले सभापतिमा सत्यनारायणबहादुर श्रेष्ठ, उपसभापतिमा प्रेमराज शर्मा, सेक्रेटरीमा भोजबहादुर सिंह न्यौपाने, ज्वाइन्ट सेक्रेटरीमा रामहरि जोशी, कोषाध्यक्षमा रामराज शर्मा र अन्य चार सदस्यसहितको कार्यकारिणी समिति बनेको उल्लेख छ । यसैगरी यो समितिको साधारण सदस्य १३ जना रहेको किताबमा उल्लेख छ ।
तर पत्रकार महासंघले भने यो तथ्यलाई अझै मानेको छैन । महासंघले २०१२ चैत १६ गते कृष्णप्रसाद उपाध्यायको सभापतित्वमा गठन भएको समितिलाई मात्र मान्यता दिएको छ । सुरूमा पत्रकार संघका रुपमा स्थापना भएको यो संस्था २०५३ जेठबाट महासंघमा रुपान्तरण भएको देखिन्छ । पत्रकार महासंघले आफ्नो वेबसाइटमा यसको स्थापना भने २०१२ लाई नै आधिकारिक भएको उल्लेख गरेको छ । ‘वि.सं. २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तरताका रुपमा महासंघ रहेको छ,’ महासंघले भनेको छ ।
के छ किताबमा, किन भयो विवाद ?
‘अग्र अनुहार’मा नेपाल पत्रकार महासंघको नेतृत्व गरिसकेका २२ जना पूर्वाध्यक्ष र वर्तमान अध्यक्ष विपुल पोखरेलसहितको जीवनी समेटिएको छ । ऐतिहासिक दस्तावेजमा सत्यनारायणबहादुर श्रेष्ठको नाम छुट्याइएकोमा आफूहरुले विरोध गरेको फोनिज अध्यक्ष गजुरधन राईले बताए । ‘इतिहासमाथि गद्दारी गर्दै चोरबाटोबाट अग्र अनुहार नामक किताब ल्याउने कोसिस गरियो । यसमा हामीले शान्तिपूर्ण रुपमा हामीले विरोध गरेका हौं,’ राईले प्रभावसँग भने ।
पत्रकार महासंघको संस्थापक अध्यक्ष भट्टराई नै कायम राखेपछि २०७४ असोजमा पत्रकार महसंघका अघिल्ल अध्यक्ष गोविन्द आचार्यलाई तत्कालीन फोनिज अध्यक्ष डण्ड गुरुङले तथ्य सच्याउन कार्यालयमै पुगी ध्यानाकर्षण गराएका थिए । यसबारेमा २०७९ जेठ १२ गते फोनिजले पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेललाई ध्यानाकर्षणपत्रसमेत बुझाएको थियो । आम सञ्चार प्रतिष्ठानको नाम ‘कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण प्रतिष्ठान’ राख्ने भएपछि फोनिजले यसबारे विरोध जनाउँदै पोखरेललाई विज्ञप्ति बुझाएको थियो । ‘प्रतिष्ठान सञ्चालन गर्ने विषय स्वागतयोग्य विषय हो, तर व्यक्तिको नामबाट प्रतिष्ठान सञ्चालन गर्ने कुरा स्वीकार्य हुन सक्दैन,’ फोनिजको विज्ञप्तिमा भनिएको थियो, ‘यदि व्यक्तिकै नामबाट प्रतिष्ठान सञ्चालन गर्ने हो भने नेपाल पत्रकार संघ (हाल महासंघ) का संस्थापक सभापति सत्यनारायणबहादुर श्रेष्ठको नाममा सञ्चालन गरिनुपर्ने फोनिजको धारणा छ ।’
फोनिजको कार्यालय अनामनगरमा कार्यक्रमसमेत गरेर अध्यक्ष राईले पोखरेललाई श्रेष्ठको फोटोसमेत हस्तान्तरण गरेको थियो । ‘यस विषय फनेजिमा चौथो अधिवेशनबाटै मुद्दा उठेको थियो । यसलाई हामीले पाँचौं महाविधेशनबाट मुद्दा बनाएको हो । यसबीचमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पनि ज्ञापनपत्र बुझाएका थियौं । अहिलेका पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई पनि ज्ञापनपत्र बुझाएकौ हौं,’ राईले भने । त्यतिबेला अध्यक्ष पोखरेलले यसबारे थप छलफल गरेर टुंगोमा पुग्ने बताएका थिए ।
पुस्तक विमोचनमा पनि आइतबार महासंघका अध्यक्ष पोखरेलले यस पुस्तकले पत्रकार र पत्रकारिता क्षेत्रको इतिहास बुझ्न थप मद्दत गर्ने बताउँदै महासंघले पत्रकारिता र महासंघको योगदानसँग जोडिएका व्यक्तिहरूलाई कुनै न कुनै तरिकाले सम्बोधन गर्ने बताए । ‘यो नै अन्तिम इतिहास होइन, इतिहास करेक्सन गर्दै जाने हो,’ पोखरेलले भने, ‘पत्रकार महासंघ र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पत्रकार महासंघले विभिन्न माध्ययमबाट सम्मान गर्न तयार छ, महासंघलाई यहाँसम्म ल्याउन धेरैले महŒवपूर्ण भूमिका खेल्नुभएको छ ।’
महासंघका पूर्वाध्यक्ष किशोर नेपालले यो पुस्तकले पत्रकार महासंघको इतिहास बोकेको बताउँदै इतिहास सच्याउँदै जानुपर्ने धारणा राखे । ‘इतिहास सच्याउँदै जाने हो, बिगार्नेतिर होइन,’ उनले भने, ‘राजनीतिक परिवर्तन, जनआन्दोलनलगायत कालखण्डमा पत्रकारको टेवा ठूलो छ ।’
प्राध्यापक तथा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले अभिव्यक्ति, वाक र प्रेस स्वतन्त्रताका आवाज पत्रकार महासंघले उठाएको बताउँदै आवाज उठाउनेहरूको दस्ताबेज तयार हुनु खुसीको कुरा रहेको बताए । ‘यो किताब एउटा बेसमेन्ट हो, महासंघ र पत्रकारिताको इतिहासबारे यसमा समेटिएको छ,’ उनले भने, ‘नेपालको सात दशकको पत्रकारिताको इतिहासमा कैयौं आवाज उठे, आमनागरिकका आवाज पत्रकार महासंघ र पत्रकारले उठाएका छन् ।’
प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकार महासंघले उपलब्ध गराएको पूर्वाध्यक्षहरूको नामअनुसार जीवनी तयार पारेको दाबी गरे । ‘उहाँहरूले संस्थापकको विषयमा प्रश्न उठाउनुभएको सुनियो । तर, संस्थापक अध्यक्षको निक्र्योल प्रतिष्ठान प्रदेशले गर्ने होइन,’ अधिकारीले भने, ‘हामीले महासंघको कार्यालयमा राखिएको फोटो र उपलब्ध दस्तावेजलाई आधार बनाएर पुस्तक प्रकाशित गरेका हौं ।’