काठमाडौं– रोजगारीका लागि साउदी अरेबिया पुगेका सयौं नेपाली अवैधरुपमा मदिरा उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा जेल परेको बताइएको छ । बढी आम्दानी हुने लोभमा परी मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न भएको आरोपमा झण्डै ५०० नेपाली साउदीका विभिन्न जेलमा परेको बिबिसीले जनाएको छ ।
कतिपय नेपालीहरुले पैसा कमाउने उद्देश्यले नेपालीहरुकै लागि मदिरा बनाउने, बिक्री वितरण तथा सेवन गर्ने गरेका कारण त्यस्तो कार्यमा संलग्नहरूलाई साउदी प्रशासनले पक्राउ गरी जेल हाल्ने गरेको रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
रोजगारीका लागि साउदी अरब पुगेर जेल परेका नेपालीमध्ये धेरैजसोलाई जाँडरक्सी खाएको तथा उत्पादन गरेर बिक्री वितरण र ओसारपसार गर्ने गरेको आरोप लगाइएको बताइएको छ । जेल परेकामध्ये ८५ प्रतिशत नेपालीलाई मदिरा कारोबारको अभियोग लगाइएको छ । दूतावासलाई साउदी प्रशासनबाट प्राप्त तथ्यांकअनुसार ४८० जना नेपाली साउदी जेलमा रहेको सचिव गिरीले जानकारी दिएका छन् । वास्तविक संख्या यो भन्दा पनि बढी रहेको दूतावासको आँकलन रहेको छ ।
साउदीमा जाँडरक्सी उत्पादन, बिक्री वितरण तथा उपभोगमा प्रतिबन्ध भए पनि कतिपय नेपालीहरुले कम समयमा धेरै आम्दानी गर्न सक्ने भएकोले घरेलु मदिरा उत्पादन गरेर बेच्ने पाइएको दूतावासको जानकारीमा आएको गिरीले बताए । ‘नेपालबाट पिठोमा मिसाएर रक्सी बनाउने मर्चा लैजाने र साउदीमा चामल, गहुँ, खजुरलगायतका सामग्री प्रयोग गरेर रक्सी बनाउने गरेको पाइएको छ,’ उनले भने, ‘छोटो समयमा टन्न पैसा कमाइ हुन्छ भन्ने लोभले यो निरुत्साहित भइरहेको छैन, पक्राउ परिएन भने राम्रै हुन्छ भन्ने लोभले यता लागेका छन् ।’
सात दशकदेखि मदिरामाथि प्रतिबन्ध लगाएको साउदी अरबले मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिवाना गराउनेदेखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय दिने गरेको छ । जाँडरक्सी कारोबारको अभियोगमा साउदीमा नेपालीहरुलाई तीन महिनादेखि सात वर्षसम्मको जेल सजाय हुने गरेको बताइन्छ ।
नेपालबाट साउदीलगायत खाडी मुलुकमा जाने श्रमिकहरुलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिममा रक्सीको प्रयोग, उत्पादन तथा बिक्रीवितरण र ओसारपसारबारे जानकारी दिने गरिएको भए पनि त्यहाँ पुगेपछि धेरै नेपाली मदिरा कारोबारको अभियोगमा जेल पर्नुमा श्रम अधिकारीहरूले चिन्ता व्यक्त गरेको बिबिसीले जनाएको छ । साउदी नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्येको एक हो । रोजगारीका क्रममा हाल चार लाखभन्दा बढी नेपाली साउदीमा रहेको सरकारी तथ्यांकले देखाएको छ ।