त्रिभुवन विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल हुन् । त्रिवि राजनीतिले थिलथिलो भएपछि यहाँ पढ्नेहरुले न त क्यालेण्डरअनुसार परीक्षा दिन पाउँछन् न समयमा प्रमाणपत्र नै । देशकै सबैभन्दा धेरै विद्यार्थी पढ्ने त्रिवि बेरोजगार उत्पादन गर्ने थलो नै बनेको छ । जसकारण यहाँ उपकुलपतिले पनि विद्यार्थीको कुटाइ खानुपर्छ भने कति समय कार्यालय नगई सीधै बिदामा बस्नुपर्छ । अति राजनीतिकरणले त्रिवि बद्नाम छ ।
सुशासनमा अब जोडतोडका साथ लाग्ने कसम खाएका प्रधानमन्त्री दाहालले गत पुस २ गते रंगशाला पुगेर त्रिविलाई राजनीतिक भागबण्डाबाट मुक्त गर्ने घोषणा गर्न भ्याए । त्रिविको ४९औं दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले गिनिज वल्र्ड रेकर्ड कायम भएको दाबी गर्दै आफूले विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डाको अन्त्य गर्ने घोषणा गरे । त्रिविले दाबी गरेको रेकर्ड त्यही दिन ‘फेक’ ठहरियो ।
प्रधानमन्त्री दाहालको दाबी पनि विस्तारै झूठ सावित हुन थालेको छ । प्रधानमन्त्रीकै निर्देशनमा पुस २० गते शिक्षा मन्त्रालयअन्तर्गतको उपकुलपति छनोट समितिले त्रिविमा उपकुलपतिका लागि दरखास्त आह्वान ग¥यो । उक्त दरखास्तमा राखिएको विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि पनि बुझाउनुपर्ने छ भन्ने बुँदा यति विवादित बन्यो कि दुई दिनमै प्रक्रिया नै रद्द भयो । भनिन्छ उक्त बुँदा अहिलेका उपकुलपति प्रा.डा. शिवलाल भुसालका लागि बनाइएको बुँदा थियो । त्यसपछि निकालिएको दरखास्तमा यस्तो प्रावधान राखिएन । ४३ जनाले आवेदन दिए ।
माघ २६ गते ‘सर्टलिस्ट’ निकालियो १४ जनाको । जसमा पनि छुटेनन् प्रा.डा. शिवलाल । बेलैमा उपकुलपति छान्न नसकेपछि थप तीन महिना यो पदको जिम्मेवारी शिवलाललाई नै दिइसकेको छ सरकारले । यो बीचमा शिवलालले संसद्को शिक्षा समितिमा पटकपटक जाँचिनुपरेको छ । माओवादीनिकट त्यसमा पनि प्रधानमन्त्री दाहालनिकट मानिने शिवलाललाई उपकुलपतिमा ल्याउन मुश्किल हुने देखिएपछि सरकारले अर्को प्रपञ्च रचेको छ । यो बीचमा माघ २३ गते त्रिवि कार्यकारी परिषद्को बैठक राखेर भागबण्डा गरी डिन नियुक्त गरेका छन् ।
यसरी भागबण्डा गदौ कांग्रेसलाई चार क्याम्पस, माओवादीलाई तीन र एमालेलाई तीनवटा क्याम्पसमा डिन परेको छ । प्रधानमन्त्री त्रिविमा आफैं राजनीति अन्त्य गर्ने घोषणा गर्ने तर आफैं पानी धमिलो बनाएर माछा मार्ने खेलमा लागेको देखिन्छ । शिवलाल उपकुलपति बनेमा पक्कै उनीमाथि लागेको आरोप पुष्टि हुने देखिन्छ । यसैले राजनीतिमाथि राजनीति नगर्ने कि प्रधानमन्त्रीज्यू ?