काठमाडौं– वैदेशिक रोजगार बोर्डले अनलाइन सेवा प्रणाली (सफ्टवेयर)मा समस्या देखिएको छ । सफ्टवेरमा समस्या आएपछि आर्थिक सहायतालगायतका सेवाग्राहीलाई दिनुपर्ने सेवा अवरुद्ध हुन पुगेको बोर्डले जनाएको छ ।
बोर्डको सचिवालयले मंगलबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा समस्या आएको उल्लेख गरेको छ ।
बोर्डले सफ्टवेयरको सर्भरमा केही दिनदेखि समस्या आएको जनाउँदै पुनः सञ्चालन हुन अझै केही दिन लाग्ने जनाएको छ । सर्भर मर्मतको काम भइरहेकाले सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता वितरणलगायतका सेवा अवरुद्ध हुने बोर्डले प्रस्ट पारेको छ ।
अनलाइन सेवा अवरुद्ध भए पनि इमेलमार्फत वा भौतिक रुपमा उपस्थित भई दिइएको निवेदन संकलन कार्य निरन्तर सञ्चालनमा रहेको बोर्डका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालले बताए । उनले जतिसक्दो छिटो सर्भर मर्मत तथा सञ्चालन गर्न प्राविधिक टोलीले काम गरिरहेको जानकारी दिए ।