- महासमिति बैठक सँघारमा पनि कांग्रेसले अझै १४ जिल्लामा महासमिति सदस्यको टुंगो लगाउन सकेको छैन
- १४औं महाधिवेशनमा नेतृत्व चयन गरेको कांग्रेसले त्यतिबेला नीति तय गर्न नसकेपछि छ महिनामै ‘नीति अधिवेशन’ गर्ने सहमति गरेका थिए
- महाधिवेशनपछि विभिन्न समयमा नीति अधिवेशन गर्ने घोषणा गरेको कांग्रेसले अन्ततः महासमितिको बोराभित्रै नीति अधिवेशन लटरपटर घुसाएको हो
काठमाडौं– १४औं महाधिवेशनमा छ महिनाभित्रै नीति अधिवेशन गर्ने प्रतिबद्धता जनाएको कांग्रेसले महासमितिभित्रै एकैपटक गोलमटोल बैठक आयोजना गर्दै छ । २०७८ मंसिर अन्तिममा महाधिवेशन सकाएको कांग्रेसले २७ महिनापछि नीति अधिवेशन टारेर महासमिति गर्न लागेको हो ।
उक्त महाधिवेशनमा कांग्रेसले आफ्नो नेतृत्व चयन गरे पनि नीति तय गर्न सकेको थिएन । महाधिवेशन सकिएको १७ महिनापछि २०८० वैशाखमा नीति अधिवेशनको तयारी गरेको थियो कांग्रेसले । पछि भदौमा गर्ने चर्चा चल्यो । लामो समय कांग्रेस केन्द्रीय समिति नै बस्ने सकेन । बल्लतल्ल साउन पहिलो हप्ता बसेको केन्द्रीय समितिले नीति अधिवेशनलाई महासमितिकै बोरामा हाल्ने निर्णय ग¥यो ।
‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ (५) बमोजिम नेपाली कांग्रेसको १४औं महाधिवेशनले ‘नीति अधिवेशन’ गर्ने तय गरेकोमा सोही दफामा यस्तो अधिवेशनसम्बन्धी आवश्यक निर्णय केन्द्रीय कार्यसमितिले गर्ने छ भन्ने व्यवस्था भएअनुरुप, नीति अधिवेशनमार्फत गर्ने निर्दिष्ट गरेका कार्य गर्ने गरी २०८० मंसिर १३–१५, काठमाडौंमा महासमितिको बैठक बोलाउने निर्णय गर्दछ,’ साउन १० गतेका निर्णयमा भनिएको छ ।
पछि उक्त मिति मंसिर २९–पुस २ मा सारियो । उक्त समयमा पनि बैठक बस्न सक्ने अवस्था नआएपछि बैठक पुस १६ गते बस्ने भनियो । त्यो पनि रद्द गरेर कांग्रेसले फागुनको नयाँ मिति गरेको हो । फागुन ७ देखि १० गतेसम्मका लागि तय भएको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको प्रचारप्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले बताए ।
बैठकको तयारीका लागि पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न नौ वटा उपसमिति यसअघि नै गठन गरिएका थिए । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता भन्ने नारासहित महासमिति बैठक हुँदै छ ।
बैठकमा आर्थिक, सामाजिक, धार्मिक सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पेजको नीति प्रस्ताव प्रस्तुत गरिने छ । उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको समितिले नीति प्रस्ताव बनाउने काम गरिरहेको छ । यस्तै, महामन्त्री गगन थापाले सांगठनिक र विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् ।
गोदावरीमा स्वागतका लागि २५ गेट
महासमिति बैठकमा सहभागी हुने सदस्यको स्वागतका लागि विभिन्न स्थानमा २५ वटा गेट राखिने छ । कांग्रेसका अनुसार काठमाडौंमा आठ, ललितपुरमा छ, भक्तपुरमा पाँच, काभ्रेमा तीन तथा धादिङ, नुवाकोट र मकवानपुरमा दुई÷दुई वटा स्वागत गेट बनाइन ेछन् । स्वागत गेटमा बिपी कोइराला र सभापति देउवाको फोटो राखिने छ ।
बैठकमा सहभागी हुनेहरुका लागि २० वटा बस निःशुल्क रुपमा सञ्चालन गरिने छ । महासमिति सदस्यहरूलाई बैठक स्थलसम्म पु¥याउन साँगा, सूर्यविनायक, कोटेश्वर, कलंकी, चाबहिल, गौशालालगायत स्थानबाट गोदावरीसम्म बसको व्यवस्था गरिएको छ ।
सहभागीले बिहानको चिया नास्ता, खाना र दिउँसोको खाजा बैठकस्थलमा पाउने छन् ।
साँझको खान नदिने
महासमिति बैठकमा सहभागी हुने प्रतिनिधिबाट जनही तीन हजार दर्ता शुल्क तोकिएको छ । प्रवेश र दर्ता शुल्कबापत उक्त रकम लिने निर्णय गरिएको हो । बिहानको चिया नास्ता, खाना र दिउँसो चिया बिस्कुट (हाइ–टी)को व्यवस्था भने पार्टीले गर्ने छ । साँझको खाना र बासको व्यवस्था आफैंले व्यवस्थापन गर्नुपर्ने प्रचार उपसमितिले जनाएको छ ।
शुल्क तिरेर खान चाहनेलाई महासमिति बैठकस्थल बाहिर भोजन स्टलहरू राखिने उनले बताए । गोदावरीमा सेल्फी स्थान पनि छुट्याउन लागिएको छ । सहभागीहरुले स्मरणका लागि फोटो लिन आकर्षक स्थानमा सेल्फी प्वाइन्ट बनाइने विश्वकर्माले जानकारी दिए । महासमिति बैठकका लागि कांग्रेसले साढे दुई करोड खर्च हुने अनुमान गरेको छ ।
संयोजनको जिम्मा कसकसलाई ?
प्रचारप्रसार उपसमितिबाहेकमा ललितपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई संयोजक तोकिएको छ । प्रचारप्रसार उपसमिति संयोजकमा पार्टी केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा छन् ।
आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमिति संयोजकमा उदय शमशेर राणा, यातायात व्यवस्थापन उपसमिति संयोजकमा धना खतिवडा, स्वयंसेवक परिचालन उपसमिति संयोजकमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमिति संयोजकमा उर्मिला नेपाल ‘केसी’ छन् । आर्थिक उपसमितिको संयोजकमा अनिलकुमार रुंगटा, प्रदेश समन्वय उपसमिति संयोजकमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमिति संयोजकमा ललितपुर सभापति जितेन्द्र श्रेष्ठ चयन गरिएको छ ।
२५ सय प्रतिनिधि हुने
कांग्रेस महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी हुने कांग्रेसका अनुमान छ । १६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुन्छ । कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ ।
कांग्रेसका ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने छन् । जनसम्पर्क समितिबाट करिब एक सय जना महासमिति सदस्य आउने छन् । यस्तै भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुने छन् ।
कांग्रेसका अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन् । भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पनि करिब सय जनाले महासमितिमा भाग लिने छन् । सभापतिलाई बढीमा १५ जना महासमिति प्रतिनिधि मनोनीत गर्ने अधिकार छ । २९ जना जिल्ला सभापति, केही सांसद पर्यवेक्षकका रूपमा महासमिति बैठकमा सहभागी हुने छन् ।
महासमिति सदस्य चयनमा सकस
महासमिति बैठक सँघारमा पनि कांग्रेसले अझै १४ जिल्लामा महासमिति सदस्यको टुंगो लगाउन सकेको छैन । विवाद भएपछि नाम आउन नसकेको विश्वकर्माले बताए । ‘विवाद हुँदा महासमिति सदस्यहरूको नाम नआएको हो,’ उनले भने, ‘निर्वाचन समितिले काम गरिरहेको छ । तर, समाधान गर्न सकिएको छैन ।’
कांग्रेस दोलखामा महासमिति सदस्य छनोट प्रक्रिया विवादमा तानिएको छ । महाधिवेशन पाँचजना महाधिवेशनमा प्रतिनिधिले महासमिति सदस्य छनोट विधानविपरीत गरिएको भन्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी हालेपछि छनोट प्रक्रिया विवादमा परेको हो । दोलखाबाट ११ जना महासमिती सदस्यको नाम केन्द्रमा पठाउनुपर्ने हुन्छ ।
महासमिति सदस्य छनोटको विवादबारे बिहीबार दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउने विश्वकर्माले बताए । ‘विवाद भएका निर्वाचन क्षेत्रहरूमा कसरी समाधान खोज्ने भन्नेबारे भोलिको बैठकले निर्णय लिने छ,’ बुधबार महासमिति बैठकबारे आयोजित पत्रकार सम्मेलनमा उनले भने ।