हाम्रो शरीर पनि पञ्चतत्वबाटै बनेको हुन्छ । पञ्चतत्वमध्ये पृथ्वीको मात्रा धेरै हुने भएकाले हामी हाम्रो शरीरलाई पार्थिव शरीर पनि भन्ने गर्दछौं । आकाश तत्वमा सत्वगुणको मात्रा धेरै भएर श्रोत्रेन्द्रीय (कान) बन्ने गर्दछ । त्यसैगरी वायु तत्वमा सत्वगुणको मात्रा धेरै भएर त्वगिन्द्रीय (छाला), तेज तत्वमा सत्वगुणको मात्रा धेरै भएर चक्षुरिन्द्रीय (आँखा), जल तत्वमा सत्वगुणको मात्रा धेरै भएर रसनेन्द्रीय (जिब्रो) र पृथ्वी तत्वमा सत्वगुणको मात्रा धेरै भएर घ्राणेन्द्रीय (नाक) बन्ने गर्दछ ।
ज्ञान साधनमिन्द्रीयम् ज्ञानेन्द्रीयम् अर्थात् जीवलाई विषयसम्बन्धी बोध गराउने इन्द्रीयलाई ज्ञानेन्द्रीय भनिन्छ । जसलाई हामी पाँच प्रकारले जान्न सक्दछौं आँखा, कान, नाक, जिब्रो र छाला । पदार्थहरूलाई ज्ञान गर्ने भएकाले ज्ञानेन्द्रीयहरूको भूमिका शरीरमा महत्वपूर्ण रहेको हुन्छ । आँखाले दृश्य शक्तिको ज्ञान गर्ने गर्दछ ।
कानले श्रवण शक्तिको ज्ञान गर्ने गर्दछ । नाकले घ्राण अर्थात् गन्ध शक्तिको ज्ञान गर्ने गर्दछ । जिब्रोलाई रसनेन्द्रीय पनि भनिन्छ जसले रसको ज्ञान गर्ने गर्दछ भने छालाले स्पर्श शक्तिको ज्ञान गर्ने गर्दछ । कम्प्युटरमा ‘इनपुट डिभाइस’को रूपमा विभिन्न यन्त्रहरूले काम गरेजसरी ज्ञानेन्द्रीयहरूले हाम्रो शरीरमा काम गर्ने गर्दछन् । इन्द्रीयहरू मनको नियन्त्रणमा हुन्छन् भने मन बुद्घिको नियन्त्रणमा हुन्छ ।
अध्यात्मवादीहरूले ‘चित्तमिन्द्रीयसंघातं मनो बुद्धिस्तथाष्टमी । अष्टौं ज्ञानेन्द्रीयाण्याहुरेता अध्यात्मचिन्तकाः ।।’ भनेर चित्त, मन र बुद्धिसहित जम्मा आठ इन्द्रीयहरू मान्ने गरेको पाइन्छ । पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच तत्वहरूको समूहलाई पञ्चतत्व भनिन्छ । शंकराचार्यको ‘तत्वबोध’ पुस्तकका अनुसार यो सम्पूर्ण सृष्टि उत्पत्तिको कारक नै माया हो । मायानाम परमात्मनः शक्तिः अर्थात् परमात्माको शक्ति नै माया हो ।
परमात्माले मायाबाटै सृष्टि गर्ने गर्दछ । सृष्टिको क्रममा मायाबाटै आकाशको उत्पत्ति हुन्छ । त्यसैगरी आकाशबाट वायु, वायुबाट तेज, तेजबाट जल र जलबाट पृथ्वी हुँदै अपञ्चीकृत पञ्चमहाभूतको उत्पत्ति हुन्छ । अपञ्चकृत भन्नाले शुद्ध पदार्थलाई बुझ्नुपर्दछ । शुद्ध आकाश, शुद्ध वायु, शुद्ध तेज, शुद्ध जल र शुद्ध पृथ्वी । माया पनि सत्वगुण, रजोगुण र तमोगुण गरी त्रिगुणात्मक हुने गर्दछ । यो सम्पूर्ण जगत्को सृष्टि नै पञ्चतत्वमा त्रिगुणहरू मिलेर भएको हुन्छ ।
हाम्रो शरीर पनि पञ्चतत्वबाटै बनेको हुन्छ । पञ्चतत्वमध्ये पृथ्वीको मात्रा धेरै हुने भएकाले हामी हाम्रो शरीरलाई पार्थिव शरीर पनि भन्ने गर्दछौं । आकाश तत्वमा सत्वगुणको मात्रा धेरै भएर श्रोत्रेन्द्रीय (कान) बन्ने गर्दछ । त्यसैगरी वायु तत्वमा सत्वगुणको मात्रा धेरै भएर त्वगिन्द्रीय (छाला), तेज तत्वमा सत्वगुणको मात्रा धेरै भएर चक्षुरिन्द्रीय (आँखा), जल तत्वमा सत्वगुणको मात्रा धेरै भएर रसनेन्द्रीय (जिब्रो) र पृथ्वी तत्वमा सत्वगुणको मात्रा धेरै भएर घ्राणेन्द्रीय (नाक) बन्ने गर्दछ ।
यसैगरी अपञ्चीकृत पञ्चमहाभूतमा त्रिगुणहरूको मिश्रणबाटै पञ्चीकृत पञ्चमहाभू, पञ्चकर्मेन्द्रीय र अन्तःकरण चतुष्टय बन्ने गर्दछन् । पञ्चीकृत पञ्चमहाभूत भन्नाले पञ्चतत्वमध्येका कुनै एक तत्वमा पनि सूक्ष्म रूपले पाँचै तत्वहरू रहेका छन् भन्ने बुझ्नुपर्दछ । यसप्रकार पञ्चतत्वबाटै स्थूल शरीर, सूक्ष्म शरीरका साथै सम्पूर्ण जगत्को सृष्टि भएको हुन्छ ।
सनातन परम्परामा पाञ्चायन देवता भन्नाले ‘गणेशो भाष्करो देवी शिव विष्णुश्च पञ्चमः’ भनेर पाँच मुख्य देवताहरूको समूहलाई बुझिन्छ, जसमा विष्णु, शिव, गणेश, देवी र सूर्य पर्दछन् । माथि उल्लिखित पाँच देवताहरूमध्ये कुनै एकलाई प्रमुख बनाएर पूजा गर्ने परम्परा भएकाले सनातन संस्कृतिमा मुख्यतया पाँच सम्प्रदायहरू रहेको पाइन्छ । भगवान् विष्णुको अस्तित्वलाई सर्वश्रेष्ठ मान्नेहरुले आफूलाई वैष्णव मान्ने गर्छन् । भगवान् शिवको सत्तालाई स्वीकार्नेहरूले शैव सम्प्रदाय मान्दछन् । नारी स्वरुपको अस्तित्वलाई स्वीकार गर्नेहरूले आफूलाई शाक्त मान्दछन् ।
भगवान् गणेशलाई सर्वोपरि ठान्नेहरूले गाणपत्य सम्प्रदाय मान्ने गर्दछन् भने जगत्का प्रत्यक्ष देवता भगवान् सूर्यलाई इष्टदेव मानी पूज्ने समुदायले आफूलाई सौर्य सम्प्रदाय भन्ने गर्दछन् । विशेषतः कुनै सम्प्रदायको जानकार नभएको तर आफूलाई हिन्दू मान्नेहरूले समष्टीगत पाञ्चायन देवता पूज्ने गर्दछन् । पाञ्चायन देवतामा पनि कुनै एकलाई इष्टदेवता मानी पूज्ने परम्परा रहेको छ । शिवलाई प्रमुख मान्दा शिवपाञ्चायन, विष्णुलाई प्रमुख मान्दा विष्णुपाञ्चायन, गणेशलाई प्रमुख मान्दा गणेश पाञ्चायन, देवीलाई प्रमुख मान्दा देवी पाञ्चायन र सूर्यलाई प्रमुख मान्दा सूर्य पाञ्चायन भनेर पूजा गरिन्छ ।
सामान्यतया पञ्च ज्ञानेन्द्रीय, पञ्चतत्व र पाञ्चायन देवताको विषयमा ज्ञान गर्यौं भने अब बुझौं यिनीहरूबीचको सम्बन्धका विषयमा । पञ्चेन्द्रीयहरूले पञ्चतत्वकै विषयहरूको बोध गर्दछन् भने पाञ्चायन देवताहरू पञ्चेन्द्रीय र पञ्चतत्वकै अधिष्ठातृ देवताको रूपमा रहेका हुन्छन् । पृथ्वी गन्धवती छिन् । नाकले पृथ्वीमा रहेको गन्धलाई ज्ञान गर्ने गर्दछ भने गणेश नाकका अधिष्ठातृ देवता हुन् । अर्थात् यो भनौं कि नाकमा सूक्ष्म रूपी घ्राणत्वको रूपमा गणेश देवताको बास भएको हुन्छ र नाकले गन्धको ज्ञान गर्ने गर्दछ । त्यसैगरी जिब्रोले जलको ज्ञान गर्ने गर्दछ भने जिब्रोका अधिष्ठातृ देवता भगवान् विष्णु हुन् । आँखाले तेजको ज्ञान गर्ने गर्दछ भने आँखाका अधिष्ठातृ देवता भगवान् सूर्य हुन् ।
छालाले वायुको ज्ञान गर्ने गर्दछ भने छालाका अधिष्ठातृ देवता आदिशक्ति देवी हुन् । कानले आकाश अर्थात् शब्दको ज्ञान गर्ने गर्दछ भने कानका अधिष्ठातृ देवता भगवान् शिव हुन् । यसरी यी पाञ्चायन देवताहरूले पाँच इन्द्रीयहरूलाई तत्तत् विषयमा क्रियाशील बनाएर सञ्चालन गरेका कारण पञ्चेन्द्रीयहरूले आ–आफ्ना विषयको ज्ञान गरेका हुन् । इन्द्रीयत्वको अभावमा इन्द्रीयले कार्य गर्न सक्दैनन् । इन्द्रीयत्व भन्नाले इन्द्रीयमा रहने गुण भन्ने बुझिन्छ । आँखामा रहेको चक्षुत्व गुणले गर्दा आँखाले देख्ने गर्दछ ।
कानमा रहेको श्रोत्रत्व गुणले गर्दा कानले सुन्ने गर्दछ । नाकमा रहेको घ्राणत्व गुणले गर्दा नाकले सुँघ्ने गर्दछ । छालामा रहेको त्वक्त्व गुणले गर्दा छालाले स्पर्श गर्ने काम गर्दछ भने जिब्रोमा रहेको रसनात्व गुणले गर्दा जिब्रोले स्वाद लिने काम गर्दछ । हामीले कहिलेकाहीँ यस्ता मानिसहरू देख्ने गर्दछौं कि जसको कान हुन्छ तर उनीहरूले सुन्न सक्दैनन् । जसको आँखा हुन्छ तर उनीहरूले देख्न सक्दैनन् । यस्तो हुनुको कारण पनि इन्द्रीयमा इन्द्रीयत्वको अभाव भएर नै हो ।
यसलाई हामी यसरी पनि बुझ्न सक्छौं कि इन्द्रीयहरू बत्ती हुन् भने इन्द्रीयत्व विद्युत् हो । विद्युत्को अभावमा जसरी बत्ती बल्न सक्दैन त्यसैगरी इन्द्रीयत्वको अभावमा इन्द्रीयहरूले कार्य गर्न सक्दैनन् ।यसप्रकार पञ्च ज्ञानेन्द्रीय, पञ्चतत्व र पाञ्चायन देवताबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । सृष्टि, स्थिति र लय यी तिनै कार्यमा पाञ्चायन देवताको महत्वपूर्ण भूमिका रहेको हुनाले हाम्रा ऋषि, महर्षिहरूले पनि पाञ्चायन देवता पूजनमा विशेष महत्व दिएको पाइन्छ ।