काठमाडौं -दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा ३१ वर्षीय येशिन अहमेद (YSEEN AHMED) र ४८ वर्षीय माेहमद अदनन् लखानी (MUHAMMAD ADNAN LAKHANI) रहेका छन् । फ्लाई दुबई एयरलाईन्सको उडानद्वारा दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट उक्त विदेशी मुद्रा अवैध रूपमा लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उक्त रकम करिब ९५ लाख ४३ हजार ३ सय ८४ नेपाली रूपैयाँ रहेकाे प्रहरीले जनाएकाे छ ।प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने छ ।