काठमाडाैं - रसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिलन तामाङलाई बुधबार का.म.न.पा. वडा नं. २६ सामाखुशीबाट पक्राउ गरेकाे हाे ।
उदयपुर जिल्लाकाे उदयपुरगडी गा.पा वडा नं. ०९ ध्वासे फुलबारी स्थाई घर भई हाल जिल्ला काठमाण्डौं का.म.न.पा वडा नं. १५ स्वयम्भु बस्ने देब बहादुर तामाङको छोरा वर्ष ३० को मिलन तामाङलाई रसिया पठाईदिन्छु भनी रकम ठगी गरेकाे अभियाेगमा खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गरेकाे हाे ।
तामाङले गणेश बि.सी समेत २ जनालाई वैदेशिक रोजगारीको लागि रसिया पठाईदिन्छु भनी रकम ठगी गरेकाे प्रहरीले जनाएकाे छ । उनले प्रतिव्यक्ती पाँच लाख रुपैयाँ (रु. ५,००,०००/- ) लाग्छ, रसिया पुगेपछी कन्ट्रक्सनमा लेबर काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ ( रु. १,००,०००/- ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु. १,६५,०००/-( अक्षेरुपी एक लाख पैसठ्ठी हजार रुपैयाँ ) रकम लिई सम्पर्कविहीन भएका थिए ।
काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको जनाएकाे छ ।