काठमाडौं– समयमै मागपत्र प्रमाणीकरण हुन नसक्दा रोमानियाको विभिन्न क्षेत्रबाट आएको रोजगारीको अवसर ‘पेन्डिङ’मा परेको छ । सन् २०२४ को प्रारम्भबाटै उच्च प्राथमिकता दिएर नेपालबाट श्रमिक लैजाने गरी रोमानियाले रोजगारीको अवसर दिएपनि सम्बन्धीत कुटनीतिक नियोगबाट समयमै मागपत्र प्रमाणीकरण नहुँदा पेन्डिङमा परेको छ ।
रोमानियाले २०२४ को लागि २० हजार नेपालीलाई रोजगारीको लागि भिसा दिने पक्का गरिसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले बताउँदै आएका छन् । यद्यपि प्रारम्भिक चरणमै माग प्रमाणीकरणमा समस्या देखिएपछि रोमानियाको रोजगारी अड्किएको मन्त्रालयकै एक उच्च अधिकारीले बताए ।
‘हाल रोमानियाको विभिन्न श्रम क्षेत्रबाट आएको ६ हजार बढी नेपालीको मागपत्र प्रमाणीकरण हुन सकेको छैन,’ ती अधिकारीले भने, ‘परराष्ट्र मन्त्रालयको मौनता र रोमानिया हेर्ने सम्बन्धीत कुटनीतिक नियोगका कर्मचारीको कमजोरी कारण यस्तो अवस्था आएको छ ।’
सरकारले रोमानियालाई नेपालीको गन्तव्य मुलुकको रुपमा विकास गर्न गत असोजमा द्विपक्षीय श्रम समझदारी गरिसकेको छ । समझदारी अनुसार समयमै श्रमिकहरुको मागपत्र प्रमाणीकरण हुन सके यसै वर्षभित्र २० हजारले रोमानियामा रोजगारीको अवसर पाउने बताइएको छ ।
५५ वर्ष लामो कुटनीतिक सम्बन्ध भएको रोमानियामा नेपाली राजदूतावास नभएका कारण पनि श्रमिकको मागपत्र प्रमाणीकरणमा ढिलाई भएको हो । १० हजारभन्दा बढी नेपाली भएको ठाउँमा दूतावास स्थापना गर्ने नेपाल सरकारको निर्णय भएपनि अझै कार्यान्वय हुन नसक्दा रोमानियालगायतका गन्तव्य मुलुकबाट आएको मागपत्र प्रमाणीकरणमा समस्या देखिएको जानकारहरुको भनाई छ ।
‘श्रम समझदारी पश्चात रोमानिया सरकारले संस्थागत रुपमै २०२४ मा २० हजार नेपाली श्रमिक लैजाने कमिटमेन्ट नै गरेको छ,’ सचिव भण्डारीले भने, ‘महिला श्रमिकलाईसमेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारीको सम्बन्धमा आपसी सहकार्य गर्ने चाहना रोमानियाले राखेको छ ।’ अहिले मागपत्र प्रमाणीकरणमा केही समस्या आएपछि छिट्टै हल हुने उनले बताए । यसलाई नियतबस नभई प्राविधिक समस्याको रुपमा बुझ्नुपर्ने सचिव भण्डारीको भनाई छ ।