काठमाडौं – वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेर विभिन्न समस्या झेलिरहेका थप ७४ जना नेपाली श्रमिकले ‘एक्जिट भिसा’ पाएका छन् । साउदीस्थित नेपाली राजदूतावासको समन्वयमा त्यहाँको अध्यागमन कार्यालयले हुरुब (कम्पनी छोडेर भागेका) लागेका र अकामा (बस्ने अनुमति) सकिएका वा नपाएका उनीहरुलाई एक्जिट भिसा दिएको हो ।
गैरकानुनी रुपमा रहेका आप्रवासी कामदारलाई स्वदेश फर्कन दिने नीति अनुरुप तीन हजार १०० बढी नेपालीहरुले विभिन्न मितिमा एक्जिट भिसा पाइसकेको दूतावासले जनाएको छ । एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने भएकाले यसबापत कुनै पनि निकायमा शुल्क बुझाउनु नपर्ने दूतावासले जनाएको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
दूतावासले अकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि अकामा प्राप्त नगरेका वा हुरूब लागेका व्यक्तिको मात्र एक्जिट भिसा प्रोसेसिङ गरिदिने प्रस्ट पारेको छ । साथै अप्ठेरोमा परेका नेपालीहरुले आवश्यक जानकारी र सहजीकरणका लागि रियादस्थित दूतावासको कार्यालय र जेद्धास्थित नेपाली महावाणिज्यदूतावासमा बिदाको दिनबाहेक कार्यालय समयभित्र सम्पर्क राख्न सकिने बताइएको छ ।