- खुमबहादुर खड्काले सुरु गरेको अभियानलाई बोकेर चर्चा बटुल्दै केन्द्रीय सदस्य शंकर भण्डारी
- २०७५ मा भएको महासमितिमा पनि भण्डारीले यो मुद्दालाई चर्र्काएका थिए
- कांग्रेसमा कमजोर मानिएका नेताहरुले यो अभियानलाई उचालेकाले महासमितिमा खासै प्रभाव नपर्ने शीर्ष नेताहरुको दाबी
काठमाडौं– हिन्दूराष्ट्र पक्षधर नेताहरुले कांग्रेस महासमितिमा धार्मिक एजेण्डा चर्काउने भएका छन् । शुक्रबार केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा केन्द्रीय समितिमा केही नेताको हस्ताक्षरसहित विशेष पूरक प्रस्तावसमेत पेस भएको छ ।
पार्टीको नीति प्रस्तावमा धर्मबारे केही उल्लेख छैन । पार्टी उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको प्रस्तावमा यो विषय पनि समेटिनुपर्ने मागसहित भण्डारीले २२ जनाको हस्ताक्षरसहित पूरक प्रस्ताव पेस गरेका हुन् । प्रस्तावमा भण्डारीले नेपालमा ९४ प्रतिशत जनता सतानत हिन्दूधर्म भएको उल्लेख गरेका छन् । फागुन ७ बाट ललितपूरको गोदावरीमा कांग्रेस महासमिति बैठक सुरु हुँदै छ । आफ्नो नीति तय हुने बैठकमा यो विषयलाई महŒव दिनुपर्ने माग आफूहरुको रहेको भण्डारीले बताए ।
‘७ फागुनदेखि प्रारम्भ हुने महासमिति बैठकका सन्दर्भमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजहरूमा वैदिक सनातन धर्मजस्तो बहुमत महासमिति सदस्यको भावना र आमनेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नल्याइएप्रति चिन्तित हुँदै हामी सनातन हिन्दूराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा यो प्रस्ताव पेस गरेका छौं,’ विशेष पूरक प्रस्तावमा भनिएको छ ।
प्रस्तावमा भण्डारी, दिलेन्द्र बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमति शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी, सारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादवलगायतले हस्ताक्षर गरेका छन् । यस्तै कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा हस्ताक्षर गरेका छन् । यसअघि २०७५ मा भएको महासमितिमा पनि भण्डारीले यो मुद्दालाई प्रवेश गराएका थिए ।
त्यतिबेला ७०० जना महासमिति सदस्यले हस्ताक्षर गरेको भण्डारीले दाबी गरेका थिए । तर महासमितिले उनको अभियानलाई कुनै सुनुवाइ नगरेपछि भण्डारी पुनः सक्रिय भएका हुन् । कांग्रेसमा हिन्दूराष्ट्रको अभियानलाई खुमबहादुर खड्काले ब्युँताएका थिए । उनको निधनपछि डा. शेखर कोइरालाले यो अभियानको जिम्मा लिने अनुमान गरिएको थियो । यद्यपि शेखरले यो मुद्दालाई बोकेका छैनन् ।
२०७२ असोजमा नयाँ संविधान जारी भएसँगै देश धर्म निरपेक्ष राष्ट्र घोषणा भएको थियो । यस विषयमा कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले असन्तुष्टि जनाउँदै आएका छन् । शशांकले देश धर्मनिरपेक्ष हुनै नसक्ने बरू धर्म स्वतन्त्र हुनुपर्ने भन्दै घुमाउरो भाषामा हिन्दूराष्ट्रको वकालत गर्दै आएका छन् । लुम्बिनी प्रदेशको प्रदेश सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवाले यो विषयमा सोच्न सकिने बताएका थिए । देउवाको ‘ग्रिन सिग्नल’ पाएपछि आफूहरु हिन्दूराष्ट्रको पक्षमा अझ बलियो रहेको देखिएको भण्डारीको दाबी छ ।
आज महाअभियानको घोषणा
कांग्रेसका हिन्दूराष्ट्रपक्षधर नेताहरुले ‘सनातन हिन्दूराष्ट्र महाअभियान’को घोषणा गर्ने जनाएको छ । यसका लागि नेताहरुलाई आज दिउँसो साढे १२ बजे बानेश्वरको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा उपस्थित हुन यस अभियानका प्रवक्ता लोकेश ढकालले आग्रह गरेका छन् ।
शेखरको बेग्लै असन्तुष्टि
नेता डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन र दस्तावेजमा गठबन्धनको छाया परेको आरोप लगाएका छन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेसको मौलिकतामा आधारित नरहेको आरोप लगाएका हुन् । ‘यहाँ प्रस्तुत प्रतिवेदन र दस्तावेजहरू हेर्दा कता–कता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो । महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपथ्र्यो त्यो देखिएन,’ शेखरले भने ।
आफ्नो इतिहासको गुणगान मात्र गाउन र यथास्थितिमै रमाउने बानी परिवर्तन गर्न उनको सुझाव छ । ‘सबै समस्यालाई मार्गचित्र सहित भरोसायुक्त समाधान दिने काम गरौं । कतै हाम्रो असक्षमताका कारणले त निराशा बढिरहेको छैन ? यसबारे सूक्ष्म विश्लेषण गर्दै सक्षमताको खोजी गरौं,’ उनले भनेका छन् ।
महासमिति बैठकमा २९ वटा संसदीय निर्वाचन क्षेत्र र केही भ्रातृ तथा शुभेच्छुक संस्थाको प्रतिनिधित्व नहुने अवस्था आएको भन्दै कोइरालाले महासमितिको बैठकले ‘विधान संशोधन मस्यौदा समिति’ बनाएर विधानलाई समयानुकूल परिमार्जन गर्न जरुरी रहेको बताए ।
महामन्त्री गगन थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्तावमा १५ औं महाधिवेशनको कार्यतालिका आएको भन्दै महासमितिको बैठकले त्यो कार्यान्वयनको सुनिश्चित गरिनुपर्ने कोइरालाको भनाइ छ ।
कोइरालाले निर्वाचन प्रणालीसमेत फेर्नुपर्ने प्रस्ताव पार्टीको नीतिमा आउनुपर्ने धारणा राखेका थिए । ‘अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिँदैन । तसर्थ संविधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागी नेपाली कांग्रेसले पहल गर्ने,’ उनले भने ।
युवाको जोड– कर्मकाण्डी नहोस्
कांग्रेसका युवा नेताहरूले महासमिति बैठकलाई कर्मकाण्डी मात्र नबनाउन आग्रह गरेका छन् । पार्टीको महासमिति बैठकमा उठाउनुपर्ने एजेण्डाका लागि महासमिति सदस्यहरूले शुक्रबार बोलाएको भेलामा युवा नेताहरूले पार्टीका आन्तरिक समस्या, देशका राष्ट्रिय समस्या र जनजीविकाका सवालमा गम्भीर रूपमा बहस गर्नुपर्ने बताएका हुन् ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना गरिएको कार्यक्रममा महासमिति बैठकमा उठाउनुपर्ने विषयका साथै एजेण्डाहरूका विषयमा छलफल गरेका हुन् । भेलामा युवा नेता भूपेन्द्रजंग शाहीले अब पार्टी पुरानै पाराबाट चल्न नसक्ने बताए । बिहीबारका लागि बोलाएको भेलामा कोही नआएपछि शुक्रबार बैठक राखिएको थियो ।
भेलामा नेताहरु देवराज चालिसे, विनोद बान्तवा, तारा कोइराला, नारायण भट्टराई, मैना कार्की, खगेन्द्र मल्ल, रिता शाही, बलबहादुर कुँवरलगायत सहभागी सहभागी थिए ।
प्रस्तावहरु पारित
कांग्रेस केन्द्रीय समितिले महासमिति बैठकमा पेस हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ । केन्द्रीय समितिले उपसभापति खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगन थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखापरीक्षण प्रतिवेदन पारित गरेको हो ।
यही फागुन ३ र ४ गते पार्टी सभापति देउवाको अध्यक्षतामा बसेको बैठकले उक्त सबै प्रस्तावमाथि छलफल गरेर प्राप्त सुझावलाई समावेश गरी परिमार्जनसहित महासमितिको बैठकमा प्रस्तुत गर्ने गरी पारित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी बैठकले महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको छ । बैठकले कांग्रेस संघीय संसद्, संसदीय दलको कार्यसमितिको निर्वाचन गराउन सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ ।