काठमाडौं– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आजदेखि काठमाडौँमा सुरु भएको छ ।
नेपाल कलापरिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा आज आयोजित चित्रकला प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन्।
प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका दुई सय चित्रहरु राखिएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत खोटाङको समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र भल्किने चित्र प्रदर्शनी गरिएको नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । पालिकाको भौगोलिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी गरिएको उनले बताए । “सामाजिक उत्थानका लागि यस प्रदर्शनीले सहयोग गर्ने विश्वास लिएका छौँ”, उनले भने ।
प्रदर्शनी यही फागुन १७ गतेसम्म सञ्चालन हुने छ । तस्विरः मनिष राई /प्रभाव