- भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग एमाले सचेतक महेश बर्तौलाको माग
- एक मिनेट पनि मन्त्री ज्वाला पदमा बस्न नहुने जिकिर
- जाँचबुझ आयोगबाट बालकुमारी घटनाको मुख्य दोषी नै मन्त्री ज्वाला ठहर
- राजीनामा दिएर अलग हुने मुडमा छैनन् मन्त्री ज्वाला
काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला ललितपुरको बालकुमारीमा भएको हिंसात्मक घटनामा जाँचबुझ आयोगले मुख्य दोषी भएको ठहर गरेपछि गम्भीर नैतिक संकटमा फसेका छन् । उनलाई पदबाट राजीनामा दिनुपर्ने दबाब बढेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले मन्त्री ज्वालाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राजीनामा नदिए बर्खास्त गर्न उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे ।
‘मन्त्रीकै गम्भीर कमजोरी र लापरबाहीको कारण उक्त दुःखद् घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उहाँलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट छैन । तत्काल उहाँलाई मन्त्री पदबाट बर्खास्त गरिनुपर्छ र प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्छ,’ सामाजिक सञ्जालमा बर्तौलाले शनिबार लेखेका छन् ।
गत १३ पुसमा बालकुमारीमा कोरिया रोजगारीका लागि फाराम भर्न पाउनुपर्ने माग गर्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो । उक्त घटना हुनुमा मुख्य दोषी यातायातमन्त्री ज्वाला नै भएको निष्कर्ष निकाल्दै जाँचबुझ आयोगले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष प्रतिवेदन बुझाएको थियो ।
त्यही कारण मन्त्री ज्वालालाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको बर्तौलाले बताएका हुन् । उनले मन्त्रीलाई जोगाएर सुरक्षाकर्मीहरूलाई कारबाहीको दायरामा नल्याउन चेतावनी दिए । उनले प्रधानमन्त्री दाहाल अग्निपरीक्षामा रहेको पनि बताए । मन्त्री ज्वाला इपिएस परीक्षा फाराम भर्ने क्रममा युवाहरूले आन्दोलन चर्काउँदा परिस्थितिको आँकलन नगरी झण्डा हल्लाउँदै असंवेदनशील भएर घटनास्थल हुँदै गएका थिए । त्यहीबेला उनलाई आन्दोलनकारी युवाहरूले रोकेको र आन्दोलन भड्काउने गरी अभिव्यक्ति दिएर घटना गराउन भूमिका निर्वाह गरेको जाँचबुझ आयोगको निष्कर्ष छ ।
तर उनले घटना हुँदा आफू त्यहाँ हुँदै नभएको भनेर पार्टी बैठकमै ढाँटेका थिए । गृहमन्त्री श्रेष्ठले भने संसदीय समिति बैठकमा मन्त्री ज्वालाको गल्ती भएको भन्दै आलोचना गरेका थिए । उनले मन्त्री ज्वाला प्रदर्शनकारीबाट घेरिएपछि गोली प्रहार भएको देखिएको बताएका थिए । वैकल्पिक मार्ग प्रयोगमा ज्वाला चुकेको उनको भनाइ थियो ।
शुक्रबार जाँचबुझ आयोगको प्रतिवेदनले पनि ज्वाला नै मुख्य दोषी ठहर गरेपछि पदबाट राजीनामा दिन थप दबाब बढेको हो । उनलाई पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि यसअघि पदबाट राजीनामा दिन आग्रह गरेका थिए । बालकुमारी घटना ज्वालाकै असावधानीले भएको उनको टिप्पणी थियो । तर मन्त्री ज्वाला भने अजिर भएर पदासिन छन् । उनले पदबाट राजीनामा दिने छाँट देखाएका छैनन् ।
गत पुसको तेस्रो साता प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमा भएको भेटवार्तामा मन्त्री ज्वालालाई फिर्ता बोलाउन आग्रह गरेका थिए । नेपालले भने फिर्ता बोलाएनन् । यसले गर्दा प्रधानमन्त्री दाहाल पनि अप्ठेरोमा छन् ।
सरकारले कुनै घटनाको छानबिन गर्न गठन गरेको आयोग वा समितिले घटनामा दोषी ठहर गरेको अवस्थामा सम्बन्धित व्यक्तिले नैतिकताको आधारमा राजीनामा दिएर अलग हुने परम्परा छ । यसलाई मन्त्री ज्वालाले भने तोड्ने देखिएको छ । सरकारले घटना भएको तीन दिनपछि १६ पुसमा पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराई सदस्य थिए । पुस २० गतेदेखि आयोगले छानबिनको काम गरेको थियो । आयोगले छानबिनपछि सरकारलाई बुझाएको प्रतिवेदनमा प्रहरीको फिल्ड अफिसर उमेश लम्साल र मन्त्री ज्वालाका पिएसओ बोधराज दनुवारको पनि कमजोरी औँल्याइएको छ ।