- को विरुद्ध कति दाबी ?
- सूर्यराज कँडेल – ८९ करोड आठ लाख
- इप्टिसा – ८७ करोड ५८ लाख
- चन्द्रबहादुर थापा – ७१ करोड ५८ लाख
- सिएमसी डि रेभेना – ६५ करोड १४ लाख
- गजेन्द्रकुमार ठाकुर – ६० करोड ४९ लाख
- शिवकुमार शर्मा– ४८ करोड ३६ लाख
- केदारप्रसाद अर्याल – ४४ करोड ७३ लाख
- रामचन्द्र देवकोटा – ३२ करोड ३५ लाख
- मणिभद्र न्यौपाने – ३२ करोड ३५ लाख
- रामचन्द्र न्यौपाने – ३२ करोड ३५ लाख
- बेगनाथ पौडेल– ३२ करोड ३५ लाख
- भोजविक्रम थापा – ३२ करोड ३५ लाख
- घनश्याम भट्टराई – २२ करोड ७५ लाख
- रुद्रसिंह तामाङ – ११ करोड नौ लाख
- पूर्वसचिव सञ्जय शर्मा – छ करोड ९७ लाख
- सहसचिव मुकुन्दप्रसाद पौडेल – छ करोड ९७ लाख
- भीमप्रसाद उपाध्याय – चार करोड ११ लाख
-
- सबैभन्दा बढी बिगो दाबी गरिएका सूर्यराज कँडेल तत्कालीन आयोजना प्रमुख हुन् । त्यतिबेला उनकी श्रीमती अञ्जु खड्का ट्यांकर र जारबाट पानी व्यापार गर्थिन्
- अर्को धेरै बिगो दाबी गरिएका चन्द्रबहादुर थापा मेलम्ची निवासी हुन् । माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य थापाले आयोजनामा लामो समय रजगज चलाएका थिए
- अख्तियारले मुद्दा दायर गरेका तीन जना डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर खानेपानी मन्त्रालयका पूर्वसचिव हुन्
काठमाडौं– काठमाडौंबासीको तिर्खा मेटाउने मेलम्ची लामो समयपछि बने पनि पानी नियमित प्रवाह हुन सकेको छैन । अझै पनि मेलम्ची खानेपानी आयोजनाले ठेकेदारको लागत र स्थानीयको जग्गाको भाडा तिरेको छैन । यही समस्या देखाउँदै पानी पठाउन कचिंगल गरिरहने कम्पनीदेखि विभिन्न समयमा यस आयोजनामा संलग्न रहेका सरकारी कर्मचारी र परामर्शदाता कम्पनीविरुद्ध अर्बौं घोटालाको अभियोग लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको पाइएको भन्दै १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसी डी रेभेनाले काम नै नगरी भुक्तानी गरेको पाइएकाले परामर्शदाता तथा निर्माण कम्पनीमाथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ । यता डी रेभेनाले भने कयौं ठेकेदार र निर्माण सामग्री राखेको जग्गाको भाडा अझै नदिएको स्थानीयको आरोप छ ।
अख्तियारले पूर्वसचिव सञ्जय शर्माविरुद्ध छ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ, सहसचिव मुकुन्दप्रसाद पौडेलविरुद्ध छ करोड ९७ लाख ८३ हजार १७८ बिगो दाबी गरेको छ । खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्यायविरुद्ध चार करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।
यसैगरी खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध ६० करोड ४९ लाख १९ हजार ८८४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध ११ करोड नौ लाख १७ हजार ४५८ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । तामाङ हाल अध्यागमन विभागमा महानिर्देशक छन् ।
आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध ७१ करोड ५८ लाख ३७ हजार ६४३, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराईविरुद्ध २२ करोड ७५ लाख १९ हजार आठ सय ९६ बराबरको बिगो दाबीका मुद्दा दायर गरेको छ ।
मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेलविरुद्ध ८९ करोड आठ लाख ९८ हजार २८५ रुपैयाँ, समितिका तत्कालीन उपसचिव मणिभद्र न्यौपानेविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३, लेखा अधिकृत रामचन्द्र न्यौपानेविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ बराबरको बिगो दाबी गरिएको छ । तत्कालीन उपसचिव बेगनाथ पौडेलविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३, तत्कालीन उपसचिव केदारप्रसाद अर्यालविरुद्ध ४४ करोड ७३ लाख ७३ हजार ७२,समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ बराबरको बिगो दावी गरेको छ ।
परामर्शदाता कम्पनीका ‘डिपुटी टिम लिडर’ शिवकुमार शर्माविरुद्ध ४८ करोड ३६ लाख सात हजार ५८०, परामर्शदाता कम्पनी इप्टिसालाई ८७ करोड ५८ लाख ८३ हजार ३६० र निर्माण कम्पनी सिएमसीलाई ६५ करोड १४ लाख ५७ हजार ४१० बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाए ।
मुछिएका तीनजना पूर्वसचिव
अख्तियारले मुद्दा दायर गरेका तीन जना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन् । डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर यो अभियोगमा मुछिएको पूर्वसचिवहरु हुन् । मन्त्रालयका सचिवका हैसियतमा तीनै जना मेलम्ची खानेपानी बोर्ड अध्यक्षहरु बनेका थिए ।
को हुन् कँडेल ?
मेलम्चीमा सबैभन्दा बढी नोक्सानी गरेको अभियोग सूर्यराज कँडेलमाथि लागेको छ । उनी तत्कालीन समयमा मेलम्ची आयोजनाको प्रमुख थिए । वि.सं. २०७५ तिर ठेकेदारलाई भगाउने कँडेल भएको दाबी गरिन्थ्यो । कँडेल हाकिम हुँदा उनका श्रीमती अञ्जु खड्का ट्यांकर व्यवसायी थिइन् । क्रिस्टल अक्वा पानी व्यापारमा खड्का संलग्न थिइन् । त्यसैले कँडेललाई ट्यांकरको पानी बेचेको आरोप लाग्यो । कँडेलमाथि ८९ करोड आठ लाख ९८ हजार दुई सय ८५ रुपैयाँका बिगो दाबी अख्तियारले गरेको छ ।
इप्टिसाबाट पनि क्षति
मेलम्चीको मुख्य परामर्शदाता कम्पनी हो ‘इप्टिसा’ । कम्पनीको कार्यशैलीले आयोजनाको काम प्रभावित हुने गरेको आरोप यसअघि लाग्दै आएको थियो । इप्टिसाले आयोजनाको अनुगमन, डिजाइन सुभरभिजन, सुरुङ गुणस्तर, वातावरणीय पक्षको व्यवस्थापन र समग्र प्राविधिक पक्ष नियाल्ने जिम्मेवारी पाएको थियो । तर कम्पनीको व्यावसायिक र व्यवस्थापकीय पक्ष निकै कमजोर भएकाले आयोजना अवधि लम्बिन पुगेको र मेलम्चीमा क्षति पुगेकोसमेत बताइएको छ ।
स्पेनमा मुख्यालय रहेको इप्टिसा ८ वर्षअघि मेलम्ची आयोजनाको मुख्य परामर्शदाता नियुक्त भएको थियो । उक्त कम्पनी मातहत टिएससी, जियोकम, सिल्ट र टेक नामक कम्पनी स्वदेशी ‘सब कन्सल्ट्यान्ट’ छन् । दक्षिण एसियाका लागि इप्टिसाको क्षेत्रीय कार्यालय भारतको कलकत्तामा छ । इप्टिसामाथि अख्तियारले ८७ करोड ५८ लाख ८३ हजार ३६० रुपैयाँ बिगो दाबी माग गरेको छ ।
को हुन् थापा ?
७१ करोड ५८ लाख भ्रष्टाचारको आरोप लागेका थापा मेलम्ची क्षेत्रका साविकको १४ गाविसमा सञ्चालन भएको उक्त समितिका अध्यक्ष थिए । थापा २०६४ देखि २०७० सम्म उक्त समितिका अध्यक्ष भएर कार्यक्रम सञ्चालन गरेका थिए ।
मलम्ची क्षेत्रमा सञ्चालित उक्त कार्यक्रम विवादमा परेको थियो । थापा अध्यक्ष हुँदा धेरै कार्यक्रम विवादमा परेको थियो भने नियमित रुपमा गर्नुपर्ने अधिवेशनसमेत नगरेर लामो समय आफैं अध्यक्ष भएर बसेका थिए । स्थानीयको चर्को दबाबपछि उनले त्यतिबेला ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमको अध्यक्ष छाडेर त्यहीबाट प्रभावितहरुको तर्फबाट प्रतिनिधित्व गर्दै मेलम्ची खानेपानी आयोजनाको बोर्ड सदस्य भएका थिए ।
मेलम्ची नगरपालिका–१ निवासी चन्द्रबहादुर थापा माओवादी वृत्तमा ‘किशोर’ उपमाले परिचित छन् । माओवादी युद्धको समयमा भूमिगत भएर विभिन्न जिल्लाको इञ्चार्जसमेत भएका थापा शान्ति प्रक्रियामा आएपछि सिन्धुपाल्चोक जिल्लाका सेक्रेटरी भएका थिए । थापा हाल माओवादीका वैकल्पिक केन्द्रीय सदस्य हुन् ।