काठमाडौं– उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक र पैदलयात्री धुलोको ठुलो मारमा पर्थे । सरकारी कर्मचारी सडक यात्रामा एउटा पोशाक र कार्यालयमा अर्काे पोशाक लगाउन बाध्य थिए । उपत्यकाको मुख्य सडकमा हाल त्यो समस्या केही हराएर गएको छ ।
काठमाडौं महानगरपालिकाले ब्रुमरको सहायतामा नियमित धुलो सफा गरिरहेको छ । प्रहरीले ट्राफिक व्यवस्थापन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वाधार विकास र शहरी विकास मन्त्रालयले शहरको सौन्दर्यकरणका साथै अन्य योजना सञ्चालन गरिरहेको छ ।
वर्षौँदेखि बिग्रिएका ट्राफिक बत्तीसमेत सञ्चालनमा आएको छ । उपत्यकाको मुख्य सडकमा खाल्डाखुल्डी देखिँदैन । भएका खाल्डा पुर्ने काम जारी छ । सडक चिल्ला र आकर्षक बन्दै छ । ठाउँठाउँमा रंगरोगन लगाएर सौन्दर्यकरणका काम भइरहेको छ । अहिलेको अवस्था नै पर्याप्त नभएपनि उपत्यकाको सडकमा देखिने गरी सुधार आएको छ ।
सरकारले उपत्यकाको भौतिक पूर्वाधार, यातायात र ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम अघि बढाएकाले यो सम्भव भएको हो । संघीय राजधानी काठमाडौंको यातायात व्यवस्थापनमा देखिएका समस्याको पहिचान गर्दै त्यसको समाधान गर्ने काममा सरकारको विशेष ध्यान छ ।
विदेशी विशिष्ट पाहुना र पर्यटकले पहिलो साक्षत्कार गर्ने तथा धेरैजसो अन्तर्राष्ट्रिय सभा–सम्मेलन हुने भएकाले व्यवस्थित र सुन्दर काठमाडौं बनाउन काठमाडौं केन्द्रीत योजना अघि बढाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले बताए ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने मुलुकको राष्ट्रिय आकांक्षा पूरा गर्न पूर्वाधारको विकास महत्वपूर्ण आधार हो । पूर्वाधार निर्माण विना विकास र समृद्धिको चाहना सकिँदैन । नीतिगत र सांगठनिक सुधार गरी विकास निर्माणलाई तीव्रता दिएको बताए । मन्त्री नेम्वाङले भने, ‘विकासको आधार तयार पार्ने अभियानमा सरकार छ, यो वर्षको प्राथमिकतामा उपत्यका हो, उपत्यकाको ‘व्यूटिफिकेसन’मा हाम्रो बढी जोड छ ।’
काठमाडौं उपत्यकाको कतिपय कोरिडोर खुलिसकेका छ भने कतिपय निर्माणाधिन अवस्थामा छ । उपत्यका भित्रिने शाखा सडकको स्तरोन्नतिसमेतलाई प्राथमिकता दिएर काम भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो १०० दिनमा मात्रै सरकारले काठमाडौं उपत्यकाको नौ हजार ५०० खाल्डाखुल्डी पुरेको जनाएको छ ।
हिउँदमा कालोपत्र गरिने समय नभएपनि उक्त अवधिमा उपत्यकाको मुख्य क्षेत्रका २७ किलोमिटर सडक कालोपत्र भइसकेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । उपत्यकाको कोरिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको प्रगति छुट्टै छ ।
मन्त्रालयका अनुसार काठमाडांैको कोटेश्वर चोकमा वर्षाैदेखि हुँदै आएको ट्राफिक जाम व्यवस्थापनका लागि अल्पकालिन समाधानका रूपमा सडक चौडा पार्ने प्रक्रिया थालिएको छ । सडक चौडा पार्न चोकको दक्षिणतर्फको जग्गा प्राप्त भइसकेको र उत्तरतर्फको जग्गा अधिग्रहणको प्रक्रियामा छ ।
मनोहरा कोरिडोरको सडकलाई प्रयोगमा ल्याई कोटेश्वर चोकमा आउने सवारीलाई कम गर्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याउन निर्माण कार्य थालिएको मन्त्रालयले जनाएको छ । आफ्नो एक सय दिनको उपलव्धीबारेमा जानकारी दिँदै मन्त्री नेम्वाङले उपत्यकाको चक्रपथअन्र्तगत ग्वार्काे, सातदोबाटो, नक्खुचोकमा फ्लाई ओभरका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम थालिएको बताए ।
सूर्यविनायक–धुलिखेल सडकखण्डलाई विस्तार गर्न र जडिबुटी–कोटेश्वरको जामको दीर्घकालिन समाधानका लागि जापान सरकारसँग समन्वय भइरहेको उनले बताए । काठमाडौं उपत्यकाको १७ वटा चोकमा ट्राफिक बत्ती जडान गरिसकिएको छ भने छ वटामा असार महिनाभित्रमा जोड्ने योजना सरकारको छ । रासस
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६ ०७:२९