मेलम्ची खानेपानी आयोजना कुनैबेला सेतो हात्तीका रुपमा चिनिन्थ्यो । त्यस क्षेत्रमा राजनीति गर्नेले महँगा गाडी चढेको देखियो । नेताहरुको जीवनशैलीमा परिवर्तन आयो । तर जनताको घर भने मेलम्चीमा आएको बाढीले क्षणभरमै बगाइदियो ।
२०५७ सालमा नेपाललाई ऋण पत्याएको एसियाली विकास बैंकको पहिलो सर्त हो– सेफ्टी फस्र्ट । नागरिकको होस् या कामदारको आयोजक र ऋण दिने संस्थाको सर्त सबैमाथि यही हुनुपर्ने हो । तर उनीहरुले आफ्नो भिआइपी सल्लाहकार, परामर्शदाता र नेतालाई बाहेक अरूलाई सुरक्षाको कुनै अनुभूति नदिलाएको २०७८ असारमा आएको पहिरो र बाढीले प्रस्टै पार्छ । न त हेडवक्र्स क्षेत्रमा जनता सुरक्षित भए न त तटीय क्षेत्रका जनता ।
यो आयोजनाबाट काठमाडौंले तिर्खा त मेट्यो तर निकै समय दुई दशक लगाएर । कृष्णप्रसाद भट्टराईले २०४८ मै यहाँको पानी काठमाडौं ल्याउने प्रचार गरेका थिए । यो हिसाब गर्दा ३२ वर्ष बढी नै लाग्यो । यसो त यो अध्ययनका वि.सं. २०२० को दशकमै भएको बताइन्छ । यद्यपि यहाँको पानी आउने विषय उपन्यासको कथाभन्दा पनि लामो बनिदियो । यो बीचमा कहानीमा बेग्लाबेग्लै ट्वीस्ट आए ।
कहिले खर्च नपुगेको, कहिले ठेकेदार भागेको, कहिले ठेकेदार भगाएको, कहिले दुर्घटना भएको, गेट नै उल्टो लगाएर इन्जिनियरदेखि चालकको मृत्यु भएको । त्यसपछि हेडवक्र्स नै सार्नुपर्नेसम्मको परामर्श आएको । यही बीचमा सरकारले सार्वजनिक सम्पत्तिमा हानी पु¥याएको भन्दै १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले पौने सात अर्बको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
अख्तियारले दायर गरेको मुद्दाको सूचीमा मेलम्चीको सम्पत्ति दोहन गर्ने शक्तिशालीहरु अझै छुटेका छन् । शक्तिशाली दल नेपाली कांग्रेस, नेकपा एमालेका नेताहरुको नाम सूचीमा देखिन्न । यो सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा पर्ने क्षेत्र हो । यहाँका शीर्ष दलका नेताहरुले यो आयोजनाको नाममा जनतालाई उचालेर लामो समय रजगज गरेको विदितै छ ।
पानी थुन्ने ड्यामको मुनि हेडवक्र्स बनाएर मूर्खता गरेका इञ्जिनियर, वातावरण मूल्यांकनमा झूठा प्रतिवेदन बुझाउने नक्कली अध्यताहरु पनि यहाँका दोषी हुन् । स्थानीय जनताले नछुनु भनेर अडान लिएको पहरामा जबरजस्ती सुरुङ खोपेर आयोजनाले ठूलो नोक्सानी गरेको छ । जबकि स्थानीयले भनेझैं अहिले पानीको इन्टेक नै सार्नुपर्ने अध्ययनले पुष्टि गरेको छ । यस्तो अवस्थामा अख्तियारले यो विषयमा कडाइका साथ थप अनुसन्धान बढाउने र बाँकीलाई पनि मुद्दा हालेर उठेको बिगो रकम इन्टेक सारी पानीको दिगो पथान्तरणका लागि लगानी गर्दा निकै फलदायी हुने देखिन्छ ।