काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा तीन घण्टा विभिन्न देशका लोकनृत्य हेरेर मज्जा लिए । एभरेष्ट नेपाल कल्चर ग्रुपले आयोजना गरेको ‘दशौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला’ उनले ११ देशका विभिन्न लोकनृत्य हेरेका थिए ।
करिब तीन घण्टासम्म बसेर उनले विभिन्न देशका लोकनृत्य हेरेका थिए । मेला उद्घाटन गर्न पुगेका उनी लोकसंस्कृतिमा मख्ख भएका थिए । कुनै कार्यक्रमको उद्घाटन गरी हतारमा फर्कने उनी शनिबार भने कार्यक्रम अवधिभर बसेर लोकनृत्यको मज्जा लिएका हुन् । देशअनुसारको विभिन्न पहिरन सजिएका कलाकारको नाच देखेर उनी रमाएका थिए ।
मेलामा नेपालसहित इस्टोनिया, मेक्सिको, बंगलादेश, भारत, मलेशिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलंका, इजिप्टका लोकनाच देखाइएका थिए । गु्रपका अध्यक्ष रामचन्द्र कोइरालाले नेपाल भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा नेपालको लोककला र सांस्कृतिक परम्पराको आदान–प्रदान गर्नुको साथै नेपाललाई विश्व जनसमुदायमाझ आफ्नै सांस्कृतिक सम्पदाको धनी देशको रूपमा परिचित गराउने उद्देश्यले मेला आयोजना गरिएको बताए ।
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६ ०७:३२