काठमाडौं– संस्कार समाज नेपालले सार्वजनिक सवारी साधनबाट हुने फोहरलाई नियन्त्रण गर्न पाँच सय ‘डस्बिन’ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ÷सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँै’ भन्ने नारासहित समाजले घान्दुुक समाज हङकङको सहकार्यमा शनिबार नयाँ बसपार्कबाट विभिन्न जिल्लामा आवत–जावत गर्ने सार्वजनिक सवारीलाई ‘डस्बिन’ वितरण गरेको हो ।
समाजका अध्यक्ष पशुपति गुरुङ समाज र देशको विकासका लागि असल संस्कार आवश्यक रहेको बताए । उनले व्यक्ति व्यक्तिमा असल संस्कारको विकास भएमात्र देशमा विकास हुने बताए । संस्कार समाजले यसभन्दा अगाडि नयाँ बसपार्कबाट देशका विभिन्न क्षेत्रमा आवत–जावत गर्ने एक हजार सार्वजनिक सवारी साधनलाई जनचेतनामूलक अडियोसहितका पेनड्राइभ वितरण गरेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सार्वजनिक सवारी साधनलाई सफा राख्नुपर्ने बताउँछन् । उनले भने, ‘लाखौँ व्यक्ति सार्वजनिक सवारी साधन चढ्ने भएकाले यसलाई सफा राख्नु सबैको दायित्व हो ।’
घान्द्रुक समाज हकङङका प्रतिनिधि विशुसम ‘समृद्ध नेपाल’ निर्माणका लागि समाजले सहयोग गरेको बताउँछन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका अध्यक्ष दीपक कुँवरले फोहररहित नयाँ बसपार्क निर्माणका लागि संस्कार समाज नेपालले डस्बिन वितरण गरेर राम्रो कामको थालनी गरेको बताउँछन् ।