काठमाडौं– सीतापाइलाको भैरवटोलमा बुधबार एकै परिवारका तीन जनाको हत्यापछि आत्महत्या भएको घटनाको कारण विवाहेत्तर सम्बन्ध रहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनामा संलग्न भनिएका राजु घिमिरे भन्ने काजी विश्वकर्माले छोरा अनिशको मोबाइलमा खिचाएको भिडियो सन्देशका आधारमा प्रहरीले घटना हुनुमा विवाहेत्तर सम्बन्ध कारक रहेको निष्कर्ष निकालेको हो ।
५१ वर्षीय काजीले श्रीमती ईश्वरी श्रेष्ठ, आठ वर्षीया छोरी अनिशा र साढे दुई वर्षकी नातिनी शिवानी श्रेष्ठको हत्या गरेका थिए । उनले १४ वर्षीय छोरा अनिशलाई खिच्न लगाएको भिडियोमा उनले श्रीमती ईश्वरीको अरू पुरुषसँग सम्बन्धमा रहेको भन्दै हत्या गरेको बताएका छन् । उनले भिडियोमा बुहारी जेनी श्रेष्ठसँग गुनासो गर्दै आउँदा दिनमा छोरासँग मिलेर बस्न र आफ्नो छोरा अनिशलाई हेला नगर्न भनेका छन् ।
बुहारी जेनीलाई सासुआमा ईश्वरी पहिल्यैदेखि परपुरुष सम्बन्धमा रहेको थाहा भए पनि आफूलाई नभनेका कारण घटना हुन पुगेको काजीको भनाइ छ ।काठमाडौं प्रहरी परिसरका एसएसपी भूपेन्द्र खड्काका अनुसार काजीले भिडियोमा भनेका छन्, ‘मैले हिजो बेलुका भनेको काम गरिसकेको छु । मैले भनेको सबै कुरा भइसक्यो । मैले गरिसकेँ । यो भिडियो सुनेर रमेशलाई र चितवनको केटालाई छाड्ने होइन । रमेशबारे पनि सबै कुरा तँलाई थाहा रहेछ । तैँले सबै कुरा किन गुपचुपमा राखिस् । पहिल्यै सबै कुरा मलाई भनेको भए आज यो घटना नै हुने थिएन । तैँले मलाई पहिले नै केही कुरा भनिनस्, त्यही भएर मैले यस्तो निर्णय गरेँ ।’
उनले पटक–पटक श्रीमतीको व्यवहार सुध्रिन्छ कि भनेर पर्खेको पनि भिडियो सन्देशमा भनेका छन् । तर, नसुध्रिएपछि घटना घटाउन पुगेको बताएका छ्न । ‘मैले बाँचेर गरी खाने ठाउँ भएन । आज पो राम्रो होला कि, भोलि पो राम्रो होला कि भनेर हेरेँ । कहिल्यै पनि राम्रो भएन । सुध्रिएनन् पनि । त्यही भएर मैले यस्तो निर्णय गरेको छु । तिमीहरू मिलेर गरिखानू । मिलेर बस्नू । ममीजस्तो भएर नहिँड्नु । त्यही हो मेरो भनाइ । माफ गरिदे मलाई,’ काजीले भिडियोमा भनेका छन् ।
कोठाको चाबी र कागजपत्र अनिशलाई जिम्मा दिएको पनि काजीले मर्नुभन्दा पहिले खिचाएको भिडियोमा उल्लेख छ । काजीले श्रीमती ईश्वरीसँगै आठ वर्षकी छोरी अनिसा र दुई वर्षकी नातिनी शिवानीको हत्या गरेपछि आफन्तलाई टेलिफोन गरेर आफूले तीन जनाको हत्या गरेको बताएका थिए । घटनापछि आफू पनि मर्न जान लागेको बताएका थिए ।
नभन्दै उनी घर नजिकैको जंगलमा मृत फेला परे । घटनाको अनुसन्धान गरिरहेको प्रहरी अधिकारीहरूका अनुसार उनी र ईश्वरी श्रेष्ठबीच १८ वर्षअघि प्रेम विवाह भएको थियो । ईश्वरीले भने काजीसँग विवाह गर्नु पहिले पहिलेका श्रीमान्सँग सम्बन्धविच्छेद गरेकी थिइन् । उनले काजीसँग विवाह गर्दा पहिलो श्रीमान्तर्फका छोरालाई पनि लिएर आएका थिए । उनी अहिले विदेशमा छन् । बुहारी जेनी परिवारसँगै बस्दै आएकी थिइन् ।
काजीले हत्या गरेकी नातिनी सिवानी विदेशमा रहेका छोरो र बुहारी जेनीकी छोरी हुन् । ईश्वरी र काजीको सम्बन्धबाट भने एक छोरा (अनिश) र एक छोरी (अनिशा) थिए । अनिशाको आमासँगै हत्या भयो । अनिशलाई भने अरूको हत्या गर्ने बेलामा काजीले नै पसलमा पठाएको खुलेको छ ।
हत्यापछि बाबुको भिडियो सन्देश खिचेको भेटिएपछि उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीले बताए । उनीहरूबीच एकअर्काको सम्बन्धलाई लिएर पटक–पटक झगडा भएको पनि खुलेको छ । काजीले ईश्वरीको अरू पुरुषसँग सम्बन्ध रहेको भन्दै शंका गर्थे । जसले गर्दा घरिघरी झगडा हुने गरेको विवरण सार्वजनिक भएको छ । सोही क्रममा ईश्वरीले विष खाएको र अन्ततः अस्पतालमा उपचार गराएर निको पारेको आफन्तले बताएका छन् ।
आफ्नी श्रीमती ईश्वरीको काठमाडौंकै एक पुरुषसँग सम्बन्ध रहेको र ती पुरुषलाई ईश्वरीले बलात्कार मुद्दासमेत दायर गरेकी थिइन् । तर, ती पुरुष अदालतको आदेशअनुसार पाँच लाख धरौटीमा छुटेका छन् । यद्यपि, ईश्वरी भने परपुरषसँगको सम्बन्धमा नरहेको बताउँथिन् । एक दिन भने काजीले परपुरुषसँगै श्रीमती ईश्वरीलाई फेला पारेको आफन्तलाई भनेका थिए । अन्ततः ती पुरुष र ईश्वरीको मेसेञ्जरमा तस्बिर पनि फेला परेको र त्यसपछि काजी र ईश्वरीको झगडाले उग्र रुप लिएको थियो ।
अन्ततः ती पुरुष अदालतबाट छुटेको एक सातामै बुधबार हत्या घटना भएको हो । प्रहरीले फेला पारेको भिडियो अनुसार काजीले चितवनका अर्का पुरुषसँग पनि ईश्वरीको सम्बन्ध रहेको भन्दै शंका गर्थे । काजीको घर सोलुखुम्बुको सोलदुधकुण्डमा पर्छ । हाल डेरा रहेको ठाउँमा उनीहरू एक वर्षदेखि बस्दै आएका थिए ।