ललितपुर - नेपाली कांग्रेसको महासमिति बैठक गोलमटोल निर्णय गर्दै सकिएको छ । पार्टीको नीति प्रष्ट पार्न आयोजना गरिएको बैठकमा तीन प्रस्ताव प्रस्तुत गरिएको थियो ।
बिहीबार तीनै प्रस्ताव हलले सर्वसम्मत पारित गरेको घोषणा महामन्त्री गगन थापाले गरे । तर उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री थापाको सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव भने परस्पर विरोध गर्ने खालका प्रस्ताव छन् ।
कांग्रेसले निर्वाचनपूर्व गठबन्धन गर्न हुँदैन भन्ने लाइन गगनको देखिन्छ भने उपसभापति खड्का र महामन्त्री शर्माको लाइन गठबन्धन गर्नुपर्ने लाइनमा छन् । तीनै प्रस्ताव केही परिमार्जनसहित महासमितिमा पेश भएको थियो । महासमितिमा चार समूह बनाएर छलफल गर्दा अधिकांशले गठबन्धनलाई निरन्तरता दिनुपर्ने प्रस्ताव राखेका थिए । यद्यपि गठबन्धन गर्दा माओवादीलगायत दललाई मत दिनुपरेका क्षेत्रका महासमिति सदस्यहरुले भने रुखमै मत हाल्न पाउनुपर्ने हक सुनिश्चित गर्न माग गरेका थिए ।
बाग्मती र गण्डकीमा यस्तो मत धेरै उठेको विषयमा बाग्मती प्रदेशका पार्टी सभापति इन्द्र बानियाँले राखेपछि हलमा होहल्लासमेत भएको थियो । बानियाँले निर्वाचनअघि गठबन्धन गर्न नहुने मत पनि आएको छ भन्नसाथ हलबाट महासमिति सदस्यहरु उठेर मञ्च घेर्न पुगेका थिए । त्यसपछि अवरुद्ध बन्दसत्रमा महामन्त्री थापाले प्रस्ताव आउँदै नआइ विरोध गर्न नहुने उल्लेख गर्दै महासमिति सदस्यहरुलाई शान्त रहन आग्रह गरेका थिए । त्यसपछि निरन्तर चलेको महासमिति बन्दसत्रमा महामन्त्री थापाले तीनवटै प्रस्ताव पारितका लागि पेश गरे ।
‘महासमितिको वैठकमा उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गर्नु भएका सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक प्रस्तावमा सहभागी सदस्यहरुबाट अत्यन्तै महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । प्राप्त सुझावहरुका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जन सहित अन्तिम रुप दिने गरि तीनवटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गर्दछ,’ थापाको घोषणापछि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको मुख्य हलमा ताली गुञ्जिएको थियो ।
महामन्त्री थापाले महासमितिले यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको सुनाए । थापाले आफ्नो प्रस्तावमा समेटेको रुखमै मत हाल्न पाउने अधिकार सुनिश्चित गर्ने विषय भने कतै समेटिएको छैन । बन्दसत्रपछि सम्बोधनको क्रममा काम गर्न नसक्ने मन्त्रीहरुलाई सरकारबाट हटाउनुपर्ने माग गरे । यद्यपि आफ्नो मुद्दाको विषयमा उनले मुख खोलेनन् । यता अर्का महामन्त्री शर्माले पार्टीमा ‘एक्जिट पोलिसी’ चाहिने उल्लेख गर्दै अब यो विधान बन्ने बाटोमा गएको बताए । शर्माले कुनै एक व्यक्ति एकपटकपात्र राष्ट्रपति बन्न सकिने, दुईपटक मात्र प्रधानमन्त्री बन्न सकिने, तीनपटकमात्र मन्त्री बन्न सकिने र चारपटकमात्र सांसद बन्न सकिने व्यवस्था अब लागू हुनुपर्ने धारणा राखे ।
शर्माले प्रस्तुत गरेको प्रस्तावमा पनि यो नीति उल्लेख गरिएको छ । मंगलबार शर्माले यो प्रस्ताव पेश गर्दा हलमा चर्को समर्थनस्वरुप ताली पाएका थिए । यो नीति लागू भए देउवा अब प्रधानमन्त्री बन्न पाउने छैनन् । देउवा यसअघि नै पाँचपटक प्रधानमन्त्री बनिसकेका छन् । माओवादीसँग गठबन्धन सरकारमा रहेको कांग्रेस सभापति देउवा छैटौंपटक प्रधानमन्त्री बन्ने दाउमा छन् । यसो त देउवालाई ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको समेत बताइन्छ ।
यता महामन्त्री गगन पनि सांसद बन्न पाउने छैनन् । उनी यसअघि नै चारपटक सांसद बनिसकेका छन् । अहिलेको मन्त्रिपरिषद्मा भएका अर्थमन्त्री महत, स्वास्थ्य मन्त्री मोहन बस्नेतलगायत मन्त्री बन्न पाउने छैनन् । उनीहरु यसअघि नै पटकपटक मन्त्री भइसकेका व्यक्ति हुन् ।
के यो नीति महासमितिले पारित गरेको हो त ?
सभापति देउवाले यी प्रस्तावहरु पारित भइनसकेको बताएका छन् । ‘प्रस्तुत प्रतिवेदन केन्द्रीय समितिले परमार्जन गर्ने गरी पारित भएका छन् । आगामी केन्द्रीय समितिले यो प्रस्ताव परिमार्जन गर्नेछ,’ महासमिति बैठक टुङ्ग्याउँदै देउवाले भने ।
हिन्दु लाइन समाउँदै शशांक
कांग्रेसले अर्को चुनावमा हिन्दु राष्ट्रको मुद्दालाई अघि बढाउने गरी तयारी गरेको देखिएको छ । बिहीबार नै केन्द्रीय सदस्य शंकर भण्डारीले एकहजार ६३ जना महासमिति सदस्यको हस्ताक्षरसहित हिन्दु राष्ट्र नेपालको माग गर्दै विशेष पुरक प्रस्ताव देउवालाई बुझाए । उनको समर्थनमा पूर्व महामन्त्रीसमेत रहेका शशांक कोइरालाले धर्मनिरपेक्षता गलत भएको बताए । ‘धर्म स्वतन्त्र हुन्छ । तर दुर्भाग्यबश हामीले धर्मािरपेक्षता बनायौं । यो गलत हो,’ कोइरालाले भने । उनले पनि यो अभियानमा हस्ताक्षर गरेका थिए ।
त्यसैगरी कोइरालाले चुनावअघिको गठबन्धन ठीक नभएको तर्क गरे । महामन्त्री गगनको लाइनमा समर्थन जनाउँदै कोइरालाले भने, ‘चुनावभन्दा पहिले गठबन्धन गर्नु दुर्भाग्य हो । सरकार बनाउँदा हो गठबन्धन गर्नुपर्ने । हाम्रो पार्टी कमजोर छैन । गठबन्धन गर्नु आवश्यक छैन ।’
यसैगरी कांग्रेस भन्दै अर्कैलाई मत दिने कार्याकर्ता पार्टीलाई आवश्यक नरहेकोसमेत उनले बताए । ‘३६४ दिन कांग्रेस बन्ने, मत हाल्ने दिन अरुलाई हाल्ने, यस्तो कांग्रेस हामीलाई चाहिदैन,’ कोइरालाले भने । धर्म निरपेक्षतालाई नै निरन्तरता दिने विषयमा कांग्रेस अडिग रहन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगरले आग्रह गरे । उनलेसंंघीय गणतन्त्रका मुल मर्म नै यही भएको उल्लेख गर्दै सभापति देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
हिन्दु धर्मबारे कांग्रेसले के निर्णय गर्छ त ? यसबारे अहिले कुनै निर्णय नलिने पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए । ‘यो धर्मनिरपेक्षसहितको संविधान हो । यसको संरक्षण गर्ने र कार्यान्वय गर्ने विषयमा कांग्रेस प्रतिबद्ध छ । संविधान र पार्टीको विधानप्रति कांग्रेस थप प्रतिबद्ध छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।