नेपाली राजनीतिको एउटा महारोग हो एकै व्यक्ति एकै पदमा पटकपटक पुग्नु । पद नपाए अरु पदमा घुमिफिरी आउनु । जप्ने लोकतन्त्र, मान्ने अधिनायकवाद । यो महारोग आफूलाई लोकतान्त्रिक बताउने पार्टी नेपाली कांग्रेसमा पनि व्याप्त छ ।
एकै व्यक्ति एकै क्षेत्रबाट पटकपटक सांसद बन्ने त्यतिमात्र हैन पैसा र शक्तिको भरमा निर्वाचन क्षेत्र बदलेर भए पनि सरकारमा आउने । यस्ता नेताहरुको लर्को लामै छ । कांग्रेस सभापति शेरबहादुर देउवा सात पटक सांसद बनिसके । एमाले अध्यक्ष छ पटक सांसद बनिसके । यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल चार पटक सांसद बनिसके ।
एकै व्यक्तिले नेतृत्वमा रजगज गर्दा अरुले मौका पाउने त कुरै भएन । जसकारण राजनीतिप्रति जनताको मोह घट्दो छ । यद्यपि राजनीति देशको लागि अपरिहार्य विषय नै हो । यसैले पनि राजनीतिमा पस्ने ढोका खुल्ला हुँदा निस्कने बाटो भने बन्द कतै देखिँदैन । यसैले राजनीतिलाई सङ्लो बनाउने विषयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो आवाज बुलन्द पार्दै आएका छन् ।
कांग्रेसको गोदावरी महासमितिमा त शर्माले पार्टीले ‘एक्जिट पोलिसी’ प्रस्तावसमेत पेश गरेका छन् । कुनै व्यक्ति राष्ट्रपति एकपटकमात्र बन्न पाउने प्रस्ताव उनले अघि सारेका हुन् । एमालेकालमा विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति बनिसकेकी छिन् । उनले प्रधानमन्त्री पद दुईपटकलाई इनफ मान्नुपर्ने प्रस्ताव अघि सारेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका छन्, यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल तेस्रोपटक सत्ताको नेतृत्व गर्दैछन् ।
व्यवस्थामा खासै सुधार नगर्ने तर बाँडीचुँडी खानमा यी नेताहरु खप्पिस रहेको खुलिसकेकै विषय हो । जसकारण जनता यस्ता नेतृत्वबाट आजित बनिसकेका छन् । त्यसैले महामन्त्री शर्माको प्रस्ताव समयअनुकुल रहेको देखिन्छ । उनले कुनै व्यक्ति तीनपटक भन्दा बढी मन्त्री बन्न नपाइने प्रस्ताव पनि अघि सारेका छन् । त्यस्तै एकै व्यक्ति चारपटकभन्दा बढी सांसद बन्न नपाइने प्रस्ताव उनको दस्तावेजमा छ । देउवा सातपटक र एमाले अध्यक्ष केपी शर्मा ओली छ पटक सांसद बनिसके ।
सत्ता र राजनीतिक खेलमा आफैं जित्ने नीति बनाउन पछि नपर्ने नेता नै हुन् । यहीबीचबाट नेपालकै पहिलो दलका प्रभावशाली नेताले ‘इक्जिट पोलिसी’ प्रस्ताव ल्याउनु प्रशंसानीय छ । यो नीति लागू भएमा काम गर्न सक्ने व्यक्तिहरु नेतृत्वमा पुग्ने छन् । यसले राजनीतिक पारदर्शिता कायम हुने र राजनीनिप्रतिको धारणा पनि बदलिँदै जाने छ ।