काठमाडौं– वैदेशिक रोजगार बोर्डको अनलाइन प्रणाली (सफ्टवेयर)मा आएको समस्या समाधान नहुँदा सेवाग्राही प्रभावित भएका छन् । झण्डै दुई हप्तादेखि सफ्टवेयरमा आएको समस्या अझै समाधान हुन नसक्दा सेवाग्राही प्रभावित भएका हुन् ।
यही फागुन १ गते सफ्टवेरमा समस्या आएको भन्दै बोर्डले सूचना जारी गरेको थियो । सूचनामा आर्थिक सहायतालगायतका सेवाग्राहीलाई दिनुपर्ने सेवा अवरुद्ध हुन पुगेको उल्लेख गरिएको थियो । वेबसाइटको सर्भरमा केही दिनदेखि आएको समस्या छिट्टै सञ्चालन हुने बताए पनि झण्डै दुई हप्ता बित्दासम्म समस्या समाधन भएको छैन ।
बोर्डले अझै पनि अनलाइन प्रणाली अवरुद्ध रहेको सूचना आफ्नो वेबसाइटमा राखिरहेको छ । वेबसाइटको भण्डारण क्षमता (स्पेस)भन्दा बढी ‘डेटा’ तथा फाइल अपलोड हुँदा सफ्टवेयरमा समस्या आएको बोर्डका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालले बताए । ‘हामीसँग विगत १५ वर्षदेखिका डेटा र डकुमेन्ट रहेका कारण सर्भरको क्षमताले धान्न नसक्दा समस्या आएको हो,’ उनले भने, ‘सफ्टवेयरमा देखिएको समस्या समाधानका लागि प्राविधिकले काम गरिरहेका छन्, अब केही दिनमै पुनः सञ्चालनमा आउँछ ।’
अनलाइन सेवा अवरुद्ध भएको समयमा पनि इमेलमार्फत वा भौतिक रुपमा उपस्थित भई दिइएको निवेदन संकलन गरिरहेको ढकालले जानकारी दिए । यद्यपि वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा मृत्यु भएका कामदार तथा तीनका परिवारका सदस्यले पाउनुपर्ने आर्थिक सहायताबापतको रकम भुक्तानी प्रक्रिया सफ्टवेयरमार्फत हुने भएकाले प्रणाली अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् ।