श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको कामप्रति बेलाबेला प्रश्न उठ्ने गरेको छ । सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनका लागि बोर्ड गठन गरेको थियो । वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्थाबमोजिम गठन भएबो बोर्डले उद्देश्यअनुरुपको काम भने गर्न सकेको छैन । जसले गर्दा बोर्डको कामप्रति प्रश्न उठ्नु स्वाभाविक हो ।
हाल बोर्डको अनलाइन प्रणाली निरन्तर अवरुद्ध बन्दा सेवाग्राहीलाई सास्ती भएको छ । दुई हप्तादेखिको यो समस्या हटाउन बोर्ड असफल देखिएको छ । जसको प्रत्यक्ष प्रभाव सेवाग्राहीमा परेको छ । यति लामो समयसम्म पनि अनलाइन प्रणालीमा देखिएको समस्या सुझाउन नसक्नु बोर्डको चरम लापारवाही हो । बोर्ड नेतृत्वले यसको जिम्मेवारी लिनुपर्छ । किनकि सूचना प्रविधिले छलाङ मारिसकेको वर्तमान अवस्थामा अनलाइन प्रणालीको समस्या दुई हप्तासम्म पनि ‘रिकभर’ गर्न नसक्ने भन्ने हुन्न ।
यही फागुन १ गते सफ्टवेरमा समस्या आएको भन्दै बोर्डले सूचना जारी गरेको थियो । सूचनामा आर्थिक सहायतालगायतका सेवाग्राहीलाई दिनुपर्ने सेवा अवरुद्ध हुन पुगेको उल्लेख गरिएको थियो । वेबसाइटको सर्भरमा केही दिनदेखि आएको समस्या छिट्टै सञ्चालन हुने बताए पनि झण्डै दुई हप्ता बित्दासम्म समस्या समाधन भएको छैन । बोर्डले अझै पनि अनलाइन प्रणाली अवरुद्ध रहेको सूचना आफ्नो वेबसाइटमा राखिरहेको छ । वेबसाइटको भण्डारण क्षमता (स्पेस)भन्दा बढी ‘डेटा’ तथा फाइल अपलोड हुँदा सफ्टवेयरमा समस्या आएको बोर्डका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकाल बताउँछन् ।
बोर्डको प्रणाली अवरुद्ध बन्दा मुख्यगरी रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका आफन्तलाई राहत दिने कार्य प्रभावित बनेको छ । आफन्त गुमाएर शोकमा रहेका परिवारलाई बोर्डले थप सास्ती दिइरहेको छ । मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च उपलब्ध गराउने, विदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन, विदेशमा सुरक्षित गृह सञ्चालन गर्ने जिम्मेवारी बोर्डले बोकेको छ । तर, एउटा अनलाइन प्रणाली रिकभर गर्न नै दुई हप्ताभन्दा बढी समय लगाउनुले नै बोर्डको काम कति प्रभावकारी भइरहेको छ भन्ने प्रस्ट्याउँछ । यस्तो कार्यशैली तत्काल सुधार गरी सेवाग्राहीलाई राहत दिलाउन ढिला नगरियोस् ।