काठमाडौं - एकैपटकमा पाँच कृतिलाई नेपाल एयरलाइन्समा कार्यरत लेखक डा. पुरण राईले सार्वजनिक गरेका छन् । काठमाडौँ कमलादिस्थित नेपाल प्रज्ञाभवन हलमा डा. पुरण राईद्वारा लिखित ५ कृति एकैसाथ सार्वजनिक गरेको हाे ।
उक्त सार्वजनिक कृतिहरुमा ‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान्’ (सिद्धान्त र विश्लेषण), ‘वसन्त रितु ’ (उपन्यास), ‘अस्तु’ (कथासङ्ग्रह), ‘लासमाथिको मानवता’ नाटकसङ्ग्रह र ‘डरका बिम्बहरू’ (कोभिड डायरी) रहेका छन् ।
फागुन १२ गते शनिबार आयोजित उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले पाँच कृतिहरुमध्ये ‘अस्तु’ कथासङग्रहको लोकार्पण गरेका थिए । त्यसै समयमा डा. राईका अन्य कृतिहरू ‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान्’ (सिद्धान्त र विश्लेषण), ‘वसन्त रितु’ (उपन्यास), ‘लासमाथिको मानवता’ नाटकसङ्ग्रह र डरका बिम्बहरू’ (कोभिड डायरी) पनि एकसाथ लोकार्पण गरेको हो ।
पर्यटन तथा नागरिक उड्यनमन्त्री मन्त्री किरातीले पाँच सन्तान यानेकि पाँच कृतिका लेखक डा. पुरण राईलाई बधाई तथा शुभकामना दिँदै सम्पूर्ण साहित्यकार एवम् लेखकलाई समाजवादको विकासका निम्ति कलम चलाउन समेत आग्रह गरे ।
‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान’ (सिद्धान्त र विश्लेषण)मा त्रिभुवन विश्वविद्यालयका प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेलले समालोचना गर्दै आप्रवासी नेपाली कवितामा अलङ्कारविधानमा नै केन्द्रित रही अध्ययनका साथ तयार गरिएको प्रथम शोधप्रबन्ध हो त्यसैलेको यसको विशेष महत्व रहेको आफ्नो धारणा व्यक्त गरेका थिए ।
उक्त आयोजित कार्यक्रममा डा. राईलाई शुभकामना व्यक्त गर्दै लेखकको बहुआयामिक व्यक्तित्व लेखनमा झल्किएको राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले आफ्नो धारण राखेका थिए । नेपाल एयरलाइन्समा कार्यरत लेखक डा. राईले उपन्यास र नाटक आफ्नो पहिलो प्रयास भएको जानकारी गराउँदै लेखनका क्रममा आवश्यक सल्लाह सुझाव दिने सम्पूर्णप्र्रति आभार प्रकट गरेका थिए ।
त्यसैगरी ‘डरका बिम्बहरू’ (कोभिड डायरी) का बारे डा. राईले भने,– ‘म हजारौं मानिस आवातजावत हुने अन्तर्राष्ट्रिय विमानस्थलमा दिनरात खट्नुपर्दाको विश्वव्यापी महामारी कोभिडले आक्रान्त बनाएका मानिसको कहालीलाग्दो अवस्थाको प्रत्यक्ष साक्षी पनि थिएँ । त्यस महामारी कोभिडको आक्रान्त कहालीलाग्दो समयमा ‘डरका बिम्बहरू’ (कोभिड डायरी) तयार हुन गयो । ’