काठमाडौं– हिडन ट्रेजरले आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’ विजेता र उपविजेताहरूले विश्वभर हुने विभिन्न ५ ठूला प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने गरेका थिए । तर, सन् २०२० को लागि भने हिडन ट्रेजरको तर्फबाट ‘मिस युनिभर्स’मा नेपालले प्रतिनिधित्व गर्न नपाउने भएको छ । यसरी ‘मिस युनिभर्स’ खोसिनुको कारणबारे भने हिडन ट्रेजर अनविज्ञ छ । ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकारले आफुहरू नवीकरण प्रक्रियामा जानुअघि नै उनीहरूले यस वर्ष नेपाललाई नदिने भन्ने इमेल आएको बताएका छन् । उनले अर्को वर्ष पुनः पाउने आशा समेत ब्यक्त गरेका छन् ।
‘मिस नेपाल वल्र्ड’ले ‘मिस वल्र्ड’, ‘मिस नेपाल युनिभर्स’ले ‘मिस युनिभर्स’, ‘मिस नेपाल इन्टरनेशसनल’ले ‘मिस इन्टरनेशनल’, ‘मिस नेपाल अर्थ’ले ‘मिस अर्थ’ र ‘मिस नेपाल सुप्रानेशनल’ले ‘मिस सुप्रानेशनल’का लागि प्रतिनिधित्व गर्ने अवसर दिइन्थ्यो ।
‘मिस वल्र्ड’ र ‘मिस युनिभर्स’ एकापसमा प्रतिद्वन्दी इभेन्ट मानिन्छन् । ‘मिस नेपाल’को तर्फबाट विजेता ‘मिस नेपाल’ले ‘मिस वल्र्ड’ र उपविजेता फस्ट रनरअपले ‘मिस युनिभर्स’मा भाग लिने गरेका थिए । यसरी विजेताको सट्टा उपविजेता पठाउने भएको कारणले ‘मिस युनिभर्स’ले ‘मिस नेपाल’लाई नै अवसरबाट बन्चित गरेर कटौटी गरेको अनुमान गरिएको छ ।