- राष्ट्रिय सभा अध्यक्षका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई अघि बढाउने सत्ता गठबन्धनको सहमति थियो
- तर पहिलो दल बनेसँगै माओवादीले यो पद आफैंले राख्नुपर्ने सुझाउँदै प्रधानमन्त्रीसमेत रहेका दाहाललाई दबाब
- संवैधानिक परिषद्मा आफ्नो रिक्तता नदेखिन कांग्रेस–माओवादी दुवै त्रसित
काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष पद नछाड्ने अडान लिने देखिएको छ । माओवादी स्थायी कमिटीका अधिकांश सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष पद नछाड्न प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिएका हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना फागुन २० गते छ वर्षे कार्यकाल पूरा गरी बिदा हुँदै छन् । उक्त स्थानमा फागुन २९ गते निर्वाचन गर्ने तयारी गरेको छ । तर सत्तारुढ गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनअघि कांग्रेसका कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने चर्चा थियो । १९ सिटका लागि भएको निर्वाचनपछि माओवादी अहिले राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको छ ।
यही कारणले पनि आफ्नो दलले राष्ट्रिय सभाको अध्यक्ष पद छाड्न नहुने माओवादीका सांसद जनार्दन शर्मा बताउँछन् । ‘राष्ट्रिय सभामा सबभन्दा ठूलो दल हाम्रो हो । हामीले दाबी नगरे कसले गर्ने ?,’ सोमबार प्रतिनिधिसभाको बैठकपछि शर्माले प्रश्न गरे । राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले लिने सहमति भइसकेको हैन र ? सञ्चारकर्मीले शर्मालाई प्रश्न गरे । जवाफमा शर्माले भनेका थिए, ‘व्यक्तिगत रुपमा कसले कहाँ ग¥यो सहमति त्यसबारे केही थाहा छैन । संस्थागत केही निर्णय भएको छैन ।’
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्यहरुले पनि यो पद नछाड्न पार्टीलाई सुझाव दिएका छन् । आइतबार कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा सदस्य रहेका र नवनिर्वाचित सदस्यबीच परिचयात्मक कार्यक्रममा प्रमुख सचेतक रमेशजंग रायमाझीले अध्यक्ष पद छाड्न नहुने अडान राखेका हुन् । रायमाझी भने फागुन २० बाट बिदा हुँदै छन् । यसैगरी प्रकाश पन्थले पनि यो पदमा अडान राख्नुपर्ने सुझाएका छन् ।
यता माओवादी बैठकमा शर्माले भनेझैं मंगलबार स्थायी कमिटी सदस्यहरुले राष्ट्रिय सभा अध्यक्ष पद नछाड्न अध्यक्ष दाहाललाई दबाब दिएको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । ‘अधिकांशले राष्ट्रिय सभाको अध्यक्ष छाड्नुहुन्न भन्ने मत राख्नुभएको छ,’ बैठकपछि प्रवक्ता सापकोटाले भने ।
कांग्रेस र माओवादी दुवैको पीडा उस्तै
राष्ट्रिय सभाको अध्यक्ष दाबी गर्ने दल नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैको एउटै चाहना हो संवैधानिक परिषद्मा आफ्नो उपस्थिति देखाउन । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा कांग्रेसका एक जना पनि सदस्य छैनन् । प्रतिनिधिसभामा पहिलो दल भएर पनि आफ्नो सहभागिता नहुँदा कांग्रेसमा ठूलो छटपटाहट देखिन्छ ।
पाँच सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष र अरू पाँच सदस्य हुन्छन् । सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहन्छन् । हाल सभामुख देवराज घिमिरे एमालेबाट निर्वाचित हुन् । यता उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी हुन् ।
संवैधानिक परिषद्मा शून्य रहेकोले पनि कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष नछाड्ने दाबी गरेको हो । यता राष्ट्रिय सभा अध्यक्ष कांग्रेसले लिँदा सरकारको नेतृत्व फेरिए फेरि माओवादी संवैधानिक परिषद्मा शून्य हुने छ । अहिले प्रधानमन्त्री दाहाल यसका अध्यक्ष हुन् । यही पीडा देखाउँदै दुवै दल राष्ट्रिय सभाको अध्यक्ष पदको तानातानीमा लागेका देखिन्छ ।
कृष्ण भर्सेस् उर्मिला
गठबन्धनका कारण माओवादी राष्ट्रिय सभामा पहिलो दल बनेको छ । यही मौकामा माओवादीले उपाध्यक्ष उर्मिला अर्याललाई अध्यक्षमा बढुवा गर्ने तयारीमा लागेको देखिन्छ । यसको निर्णय आजको स्थायी कमिटीले ल्याउने माओवादी प्रवक्ता सापकोटा बताउँछन् । जारी स्थायी कमिटी आज बिहान पनि बस्दै छ ।
यता कांग्रेस भने संविधान बुझेका सिटौलालाई अघि सार्ने तयारीमा छ । निर्वाचनअघि नै सिटौलालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवारको रुपमा प्रचार गरिएको थियो । सिटौलाको पक्षमा माओवादी अध्यक्ष दाहालसमेत सकारात्मक रहेको कांग्रेसको दाबी छ ।