नेपाली संगीतका एक साधक, सुरका भक्त भक्तराज आचार्य सदाका लागि संसारबाट बिदा भएका छन् । वि.सं. १९९९ असोज १६ गते धनकुटामा जन्मिएका आचार्यको भजन तथा गीत नेपालीहरुको मनमनमा गुञ्जिरहेका छन् । उनको नाम आउने बित्तिकै हजार सपनाहरुको माया लागेर आउँछ, हजार आँखा हेर्ने मेरी मायालुलाई जस्ता गीतहरु गुञ्जिन सुरू भइहाल्छ ।
जति चोट दिन्छौ देऊ मायालु, मुटु जलिरहेछ, माया मेरी साँझ बनी, तिम्रो जस्तो मुटु मेरो पनि, जीवन भन्नु त भूल, उस्तै उस्तै पानी बग्नेजस्ता सुमधुर गीत गाएका भक्तराज लामो समय मौन बाँचे । २०५० मा क्यान्सरका कारण जिब्रो काटिएपछि ३० वर्ष भक्तराज मौन बाँचे पनि उनको गीतहरु सदाबहार गुञ्जिरहे ।
लामो समय मौन रहेकै कारण धेरैलाई भक्तराज कहाँ छन् चासोको विषय बनेको थिएन । हठात् सोमबार उनको निधनको खबर फैलियो । मंगलबार पशुपति अर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिए । श्रद्धाञ्जली समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत पनि पुगेका थिए ।
२०३० सालदेखि २०४६ सालसम्म नेपाली संगीतमा भक्तराजले धेरै गीतमा स्वर दिए । संसारबाट अस्ताएसँगै भक्तराजले आफ्नो दुःख पनि बिसाएका छन् । डेढ वर्षको उमेरमा महामारीका कारण बुबा गुमाएपछि करिब तीन दशक आमासँगै भारतको दार्जीलिङमा बिताएका आचार्यले २०२० सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका थिए ।
स्वर परीक्षा पास गरेको १० वर्ष अर्थात् २०३० सालमा रेडियो नेपालको देशव्यापी गीत प्रतियोगितामा प्रथम भई उनले स्वर्णपदक हात पारेका थिए । २०४६ साल मंसिर १९ काठमाडौंको बौद्धमा उनीमाथि सांघातिक आक्रमण भयो । उक्त आक्रमणमा उनको टाउकोमा गहिरो चोट लागेको थियो । त्यसको चार वर्षपछि जिब्रो नै काट्नुप¥यो क्यान्सरका कारण ।
जिब्रो काटिए पनि उनको स्वर गुञ्जिन छाडेन । सुर सम्राटका रुपमा उनी झनै चिनिए । भजनमा उनको ख्याती फैलिएको छ । भजन शिरोमणिका रुपमा परिचित उनको निधनले एउटा युगको अन्त्य भएको छ । एक दिन मैले प्रभुसँग सोधें, कसरी शान्ति मिल्छ ? भजन धेरैको मनमनमा गुञ्जिएको भजन हो । ३० वर्ष चुपचाप बसेका भक्तराज मौन प्रस्थान गरेका छन् । उनको निधनले धेरैको मुटु जलेको छ । नेपाली गीत संगीत क्षेत्रले एउटा नक्षेत्र गुमाएको छ । अलबिदा सुरका धनी, संगीतका भक्त भक्तराज । हार्दिक श्रद्धाञ्जली !