काठमाडौं - अञ्जना पौडेलले पहिलो पटक ‘चरीमाई’ उपन्यास सार्वजनिक गरेकी छन् ।कथा, कविता, गीत, हाइकु र मुक्तक लेख्दैआइरहेका अञ्जना पौडेल पहिलो पटक ‘चरीमाई’ (इन्डिगो इन्क प्रा .लि, २०८० वैशाख) उपन्यास लेखेकी छन् ।
मानवशास्त्रमा विद्यावारिधि गरिरहेका भएकाले पनि उनी सोही विषयमा केन्द्रित भएर आख्यानात्मक चौथो कृति प्रकाशन गर्न सक्षम भएको हुनुपर्छ । लमजुङ माइत भएर पनि नुवाकोट पूर्वी भागको परिवेश राखेर लेखकले बेचबिखनमा परेका सीमान्तकृत चेलीहरूको सामूहिक स्वर अभिव्यक्त गरेको प्रस्तुत ‘चरीमाई’ नेपालका ‘चरीमाईहरूप्रति’ नै समर्पित छ ।
उपन्यासको कथा सरल छः छोरी जन्मँदा खुसी हुने नुवाकोटको कुनै गाउँको परिवारमा जन्मेकी चरीमाईलाई उनका बाबुले १४ वर्षका उमेरमै गाउँकै २५ बर्से केटा कमानसिंहसँग उनको इच्छाविपरीत जबर्जस्ती बिहे गराइदिन्छन् । उनको पतिले उनलाई काठमाडौँमा व्यापार गर्ने भनी लगेरपछि औषधि खुवाई भारतको बम्बैमा बेचिदिन्छ । त्यहाँ उसलाई आफ्नै गाउँभन्दा परकी आफ्नै जातकी एक महिलाले आफूले चलाएको कोठीमा जबर्जस्ती धन्दामा लगाउँछिन् । त्यहाँ ऊ जस्तै दलालमार्फत बेचिएका अरू चेली पनि हुन्छन् ।
भारतमा १६ वर्षमुनिका लागि त्यस्तो काममा लगाउन नपाइने कानुन बने पनि त्यो लागू हुँदैन । पछि कोठीबाट बाहिर जान छुट दिने, ग्राहकले कोठीबाट बाहिर लग्ने क्रममा एक दिन भागेर उनी एक नेपाली चौकीदारका मद्दतबाट काठमाडौँ हुँदै गाउँ फर्किन्छिन् । तर त्यहाँ पनि उनका बाले बस्न दिँदैनन् । माइतबाट केही पर टहरो हालेर बसिरहेकी उनले बा र कुनै पार्टीको गाउँको अध्यक्ष भएको आफ्नो पतिविरुद्ध उजुरी दिँदा पनि प्रहरीचौकीले लिन मान्दैन । उल्टो उनलाई ‘बम्बैमा केटी बेच्ने दलाल’ भनेर आरोप लगाइन्छ, गाउँका नेता, वडाध्यक्ष र प्रहरीसमेतले घर छाडेर हिँड्न दबाब दिन्छन् ।
फर्केर माइती नजिकै मितिनीका घर आउँदा पनि त्यहाँका अज्र्याल बाजेले काठमाडौँ लगेर यौनशोषण गर्छन् । उनी गर्भवती हुन्छिन् । फलफूल बेच्ने तराईका रामलालले पनि उसैगरी बिहे गरेको बहाना बनाएर उनलाई वीरगन्ज लग्छ । त्यहाँ एक महिलाले उनलाई पहिलेकै बम्बैकी कोठी सञ्चालिकालाई बेचिदिन्छिन् । त्यहाँ उसले अज्र्याल बाजेका तर्फबाट ‘गङ्गाजमुना’ जन्माउँछिन्, तिनलाई पनि धन्दामै लगाउन विवश पारिन्छ । उनी फेरि गाउँ फर्की होटल व्यवसायमा लाग्छिन् । त्यहाँ उनको गाउँले जितबहादुरसँग विवाह भई एक छोरी जन्मन्छिन् । पछिल्लो लोग्नेको हत्या हुन्छ । बम्बैमा नै पु¥याइएकी गाउँकै शान्ति दिदी र उनले एक गैर सरकारी संस्थाको सहयोगमा दायर गरेको मुद्दाबाट नुवाकोट अदालतबाट कमानसिंहविरुद्ध जन्मकैदको फैसला हुन्छ तर तीन महिनापछि पुनरावेदन अदालतले बेकसुर रहेको आदेश दिन्छ ।
यो कथा उपन्यासकी नायिकाले अमेरिकामा विद्यावारिधि गर्न गएका र नुवाकोटमा अनुसन्धान गर्न आएका एक विद्यार्थी भूपेन्द्रलाई सुनाएकी हुन् र वक्ता तिनै हुन् । अब चरीमाई र उनकी कान्छी छोरी लता कमानसिंह जस्ता अपराधीलाई कारागार पु¥याउन सर्वाेच्च अदालतमा मुद्दा हाल्ने तयारीमा छन् । उपन्यासको कथावस्तु खासै नौलो होइन, ग्रामीण भेग खासगरी बागमती प्रदेशका जिल्लामा चेलीबेटी बेचबिखनका थुप्रै घटना भएका छन् र अदालती प्रक्रियामा गएका छन् । तैपनि यदाकदा यस्ता घटना दोहोरिइरहेका छन् । उपन्यासकारले आन्तरिक पर्यटकका रूपमा घुम्दा र घटनाहरू नियाल्दा पाएको ज्ञानलाई यस कृतिका रूपमा उभ्याएको हो ।
आफ्ना छोरी, दिदीबहिनी, पत्नीलाई नै दलाल, धन्दा व्यवसायीलाई बेच्ने अमानवीय प्रवृत्ति र यौनधन्दामा जबर्जस्ती लाग्नुपर्ने चेलीको विवशतालाई उठाएर लेखिकाले त्यस्तो बेचबिखन बन्द गर्न, बेचिएकाहरूको सकुशल रिहाइ गर्न र समाजमा सम्मानित जीवन बाँच्न पाउनुपर्ने तिनको अधिकारबारे आवाज उठाउन गरेको प्रयत्न प्रशंसनीय छ । भूमिका लेखक कृष्ण धरावासीले घरेलु हिंसा, बलात्कार, बेचबिखन जस्ता कुरामा कानुन र समाजलाई खासै चासो नभएको र यस्तै चरित्र र महिला बेचबिखनमा पिल्सिएको समाजमा कृति केन्द्रित भएको जनाउँदै यस्ता विषयबारे राज्यलाई सम्झाउने काम यसमा गरिएको स्पष्ट गर्नुभएको छ । लेखिका–अनुसन्धाता पौडेल भने, “एउटा कालो पाटोलाई अलिकति च्यात्ने प्रयत्न मात्रै गरेकी हुँ । मलाई थाहा छ यो मैले एक्लै पार लाग्ने लडाइँ हुँदै होइन । तर पनि सबै चुप लाग्दा आवाजविहीनहरूका आवाज सधैँ दबिएर रहने रहेछ । मैले चरीमाईहरूको एउटा आवाज बोल्ने कोसिस मात्रै गरेकी हुँ ।”
कृतिमा कथा भन्ने शैली पुरानै छ । निकै प्रसङ्ग दोहोरिएका छन् र एकै वाक्यमा उही उही शब्द पनि धेरै परेका छन् । कथा वक्ता भूपेन्द्रका प्रसङ्ग अनावश्यक रूपले लम्बिएको हो कि भन्ने लाग्छ । एकै शब्दका पनि तीन–तीन वटा वर्णविन्यास (इसा, इशा, ईशा) देखिएका छन् भने अन्य त्रुटि (गोधिली, मस्जित, ब्याज, बसाइँ, दैनिकी) पनि बर्गेल्ती नै छन् । ठाउँ ठाउँमा नछुट्टिनुपर्ने दफाहरू पनि छुट्टिन पुगेका छन्, जुन प्राविधिक गल्ती हो ।
विद्यार्थीहरू वनभोज गएको स्थल नुवाकोटको झिल्टुङलाई मकवानपुरको टिस्टुङ उल्लेख गरेर लेखकले आफ्नो सामान्य ज्ञानको कमजोरी पनि प्रदर्शन गरेकाे छ । सबभन्दा आश्चर्य त २२४ पृष्ठको उपन्यासमा पात्रहरूबीच थुप्रै संवाद भए पनि अल्पविराम र उद्धरण चिह्न एकाध मात्र देखिनामा छ । उपन्यास लेखनले नौलो शैली र प्रस्तुति लिइरहेको वर्तमानावस्थामा युवा लेखकहरूले पनि मौलिक नयाँ शैलीको प्रयोग गर्दा नै यस विधामा उन्नति हुँदै जाने विश्वास गर्न सकिन्छ ।