काठमाडौं– मलेसियामा सबैभन्दा धेरै आप्रवासी श्रमिक आपूर्ति गर्ने मुलुकमध्ये नेपाल तेस्रो स्थानमा परेको छ । हाल वैधानिक रुपमा झण्डै तीन लाख ६८ हजार नेपाली श्रमिकले काम गरिरहेको मलेसिया सरकारले जनाएको छ ।
मलेसियाको मानव संशाधन मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको सरकारी समाचार एजेन्सी बर्नमाले हाल रोजगारीका लागि ३ लाख ६७ हजार ४ सय ९८ नेपाली श्रमिक रहेको उल्लेख गरेको छ । मलेसियामा आप्रवासी श्रमिकको संख्या २१ लाख २३ हजार रहेको बताउँदै श्रमिक आपूर्ति गर्नेमा नेपाल तेस्रो स्थानमा रहेको जनाइएको छ ।
बर्नमाका अनुसार श्रमिक आपूर्ति गर्नेमा बंगलादेश पहिलो र इन्डोनेसिया दोस्रो स्थानमा छन् । सरकारी तथ्यांकअनुसार ७ लाख ८६ हजारभन्दा बढी बंगलादेशी श्रमिक वैधानिक रुपमा काम गरिरहेको बताइएको छ भने इन्डोनेसियाबाट चार लाख ५० हजार बढी श्रमिक मलेसियामा रहेका छन् ।
त्यसैगरी मलेसियामा कामदार आपूर्ति गर्ने म्यानमार चौथो र भारत पाँचौं स्थानमा रहेका छन् । मलेसियाले यीबाहेकका अन्य मुलुकहरुबाट पनि श्रमिक आयात गर्ने गर्छ । यद्यपि मलेसियाले ती देशहरुबाट सीमित संख्यामा मात्रै श्रमिक लिने गरेको सञ्चार माध्ययमा उल्लेख गरिएको छ ।
एकताका नेपालीहरुको प्रमुख गन्तव्यको रुपमा रहेको मलेसियाली श्रम बजारको ठूलो हिस्सा नेपाली श्रमिकले ओगटेको थियो । मलेसियामा ६ लाख बढी नेपाली श्रमिक रहेको विभिन्न अध्ययनहरुले देखाएको थियो । कोभिड १९ ले थला परेको मलेसियाको श्रम बजारमा प्रवेश गर्ने नेपालीको संख्या बढ्दो अवस्थामा रहेपनि पछिल्लो समय आप्रवासी श्रमिक भर्ना प्रक्रियालाई निरुत्साहित गर्ने त्यहाँको सरकारी नीतिले थोरै मात्रामा नेपालीले रोजगारीको अवसर पाइरहेका छन् ।
गत आर्थिक वर्ष २०७९÷८० मा नेपाली श्रमिकको पहिलो गन्तव्य बनेको मलेसिया चालु आर्थिक वर्षमा चौथो स्थानमा छ । कारण स्थानीय श्रमिकलाई नै रोजगारीमा संलग्न गराउने उद्देश्यबाट मलेसियाले आप्रवासी श्रमिक आपूर्तिमा कटौती गरेको बुझिएको छ । तथापी रोजगारदाताले आप्रवासी श्रमिक ल्याउन पाउनु पर्ने माग राख्दै मलेसियाली सरकारलाई दबाव दिइरहेको बताइन्छ ।