काठमाडौं - वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक पठाउने बहानामा रकम संकलन गरी ठगी गर्ने तीन जना पक्राउ परेका छन् । क्रोएसिया, युएईको दुबई र मलेसिया पठाइदिने भन्दै बेरोजगार युवाहरुसँग रकम संकलन गरी फरार रहेको आरोपमा हिराजन पन्त, फरमान हवारी र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
लमजुङको बेसीशहर नगरपालिका– ११ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय पन्तले समिर आचार्यलाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई एक प्रतिष्ठित कम्पनीमा प्याकिङको काम लगाइदिने भन्दै मासिक एक लाख ५० हजार रुपैयाँ तलब प्राप्त हुने प्रलोभन देखाई आठ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पीडितसँग पैसा लिएर सम्पर्कविहीन अवस्थामा रहेका उनलाई खोजतलासको क्रममा सामाखुसीबाटै पक्राउ गरिएको बताइएको छ ।
यसैगरी दुबई पठाइदिने बहानामा निरज सेन्चुरीसहित चार जनासँग ११ लाख ६६ हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं बनस्थली बस्ने बारा सिम्रौनगढका २६ वर्षीया खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले पीडितहरुलाई मासिक ७० हजार रुपैयाँ तलब हुने गरी दुबईको एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै ठगी गरेको बताइएको छ ।
यस्तै सिन्धुलीको कमलामाई नगरपालिका घर भई हाल काठमाडौं बस्दै आएकी कार्कीले कान्छा बलसमेत तीन जनालाई मलेसिया पठाइदिन्छु भन्दै दुई लाख १० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।