माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार क्रमश असफलतातिर अघि सरेको छ । प्रधानमन्त्री र मन्त्रीहरुको मैमत्ता समीक्षाले सरकार असफलतातिर अघि बढेको पुष्टि हुन्छ । अर्थमन्त्री डा प्रकाशशरण महत प्रधानमन्त्रीलाई सल्लाहै नगरी बजेट कटौति गर्ने, अर्थमन्त्रालयमा समीक्षा समारोह गर्ने, प्रधानमन्त्री दाहाल पनि एकपछि अर्को काम असफल हुँदै गएपछि आफै पत्रकार सम्मेलन गरेर कर्मचारीलाई दोष लगाउने ।
अरु मन्त्रीहरुले पनि प्रशासनलाई दोष लगाउँदै पन्छिने । काम गर्न सकेन भनेर प्रधानमन्त्रीले सचिवहरुलाई दोष लगाइरहने । यसअघि प्रधानमन्त्री दाहालले निर्देशन दिने काम गर्थे । बिहीबार भने सरकारको अर्ध वार्षिक समीक्षा गर्दै दाहालले कर्मचारीहरुमा निर्णय गर्ने क्षमता नै नदेखिएको तर्क गर्न भ्याए ।
खासमा प्रधानमन्त्री दाहाल कमजोर बन्दै जानुको मुख्य कारण हो हरेक काममा आफै अघि बढ्नु र जस पनि आफै लिन खोज्नु । सरकारको नेतृत्व लिइरहेको व्यक्तिले हरेक काममा आफै हात हाल्ने होइन । सरकारमा हरेक मन्त्रालय सम्हाल्नेगरी मन्त्री तोकिएका हुन्छन् । अहिले केही मन्त्रालयमा राज्यमन्त्रीसमेत छन् । २१ मन्त्री र ३ राज्यमन्त्रीलाई जिम्मेवारी दिएपछि उनीहरुबाट रिपोर्ट लिने र उनीहरुलाई अप्ठ्यारो परे समन्वय गर्ने काम प्रधानमन्त्रीको हो । तर प्रधानमन्त्रीले यो अवधिमा के समन्वय गरे ? जसकारण मन्त्रीहरुबाट काम बनोस् अनि कर्मचारीबाट प्रगति ।
अविश्वासको खाडल बढाउँदै जाँदा प्रधानमन्त्री दाहालको तेस्रो कार्यकाल अधिक असफलतातिर बढेको छ । उनका निकट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत दाहाललाई लोकले सम्झने खालको काम गर्न सुझाएका छन् । तर दाहाल यस्तो नीतिमा अघि सर्ने देखिन्न । उद्घाटनका कार्यक्रममा कम जाने भनेर प्रतिबद्धता जनाएका दाहालको उद्घाटन मोह चुलिँदो छ । निर्देशन र प्रश्नहरु गर्नेमा रेकर्ड कायम गरेका छन् ।
शक्ति सन्तुलनको नाममा सहयात्री दलहरुसँग निहुँ खोज्दै यो सरकारको कार्यकाल टुंगिने संकेत उत्तिकै बढ्दो छ । दाहालले कांग्रेसलाई तर्साउन कहिले एमालेतिर ढल्कन्छन् भने कहिले एमालेलाई तर्साउन कांग्रेसतिर ढल्कन्छन् । जसका कारण मन्त्रीहरुलाई पनि चैन छैन । कुन बेला पद चट् हुने हो भन्ने डर मन्त्रीहरुलाई उत्तिकै छ । दुई दिने मन्त्री भन्दै कर्मचारीले नटेर्ने त पहिलेदेखिकै नियति हो । प्रधानमन्त्री दाहाल आफै हेरफेरको चेतावनी दिइरहन्छन् । जसका कारण मन्त्रीले स्थायी बनेर काम गर्न नसकेको हो । यो विषय प्रधानमन्त्रीले बुझ्नु जरुरी छ । सरकार सफल बनाउने हो भने मन्त्री र सचिवहरुलाई विश्वासमा लिएर प्रोत्साहन दिन थाल्नुस् । नभए आफै काम गर्न खोज्दाको परिणाम असफलता नै हो प्रधानमन्त्रीज्यू ।