काठमाडौं- अपांगता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
'मलाइ पनि तिमिसँगै गणना गर: मेरो आवाजले अर्थ राख्छ' भन्ने नाराका साथ शुक्रबार सुरु भएको कार्यक्रम काठमाडौं घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न हुने छ ।
कार्यक्रममा सात प्रदेशबाट ३६ जना अपांगता भएका महिला र महिला एवं अपांगताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रियस्तरका संस्थाका प्रतिनिधि गरी ९० जनाभन्दा बढी कार्यक्रममा सहभागी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला र अपांगताको क्षेत्रमा काम गर्दै आएका संस्थाहरु दलित महिला संघ (फेडो), राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपाल, नेत्रहीन महिला संघ नेपाल, एक्सेस प्लानेट नेपाल र पहिचान नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
उपसभामुख इन्दिरा रानामगर उद्घाटन गरेको कार्यक्रममा राष्ट्रिय सभा सदस्य पदम परियार, राष्ट्रिय महिला आयोगको अध्यक्ष कमला पराजुली, समावेशी आयोगका प्रतिनिधिलगायतको समेत उपस्थिति रहेको छ ।
कार्यक्रममा बोल्दै उपसभामुख रानामगरले अपांगता भएका महिलाहरूको सवालहरुमा आफू चिन्तित रहेको र आफ्नो तर्फबाट नीतिगत तहबाट सक्दो सहयोग गर्ने बताइन् ।
अपांगता भएका महिलाहरुको विविधता, अन्तरसम्बन्धताका सवाल, अर्थपूर्ण सहभागिता र न्यून प्रतिनिधित्व तथा सीमान्तकृत अपांगता भएका महिलाहरुको सवाल एवं समस्याहरुको पहिचान गरी सोको सम्बोधनका लागि निति निर्माणमा निर्णायक तहका व्यक्ति र सरोकारवाला निकायहरुलाई दवाब दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दलित महिला संघ (फेडो)को अध्यक्ष कला स्वर्णकारले बताइन् ।