काठमाडौं - श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कामदारको भर्ना प्रक्रिया स्वच्छ बनाउन युएईस्थित रोजगारदाताहरुसँग आग्रह गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले युएईमा आयोजना गरेको ‘द रिक्र्युटमेन्ट जब फेयर–२०२४’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले श्रमिकको सुविधा बढाउनुपर्नेमा पनि जोड दिए ।
युएईले हासिल गरेको विश्वव्यापी उपलब्धिमा नेपाली श्रमिकको पनि कहीँ न कहीँ योगदान रहेका स्मरण गर्दै उनले कामदारको स्वच्छ भर्ना प्रक्रिया र सुविधा वृद्धिका लागि आग्रह गरे । अहिलेको डिजिटाइजेसनको युगमा विभिन्न प्रविधिको विकास र प्रयोगले एकैसाथ अवसर र चुनौती ल्याएको भन्दै उनले अन्तराष्ट्रिय श्रम बजारको मागअनुसार नेपाली श्रमिकको सीप, दक्षता, क्षमता अभिवृद्धि गर्न सबैसँग हातोमालो गर्न तयार रहेको बताए ।
‘यस्ता मेला र अन्तरक्रिया कार्यक्रमले द्विपक्षीय सम्बन्ध बलियो बनाउनुका साथै नीति निर्माणमा पनि सहयोग पुग्छ भन्ने विश्वास छ,’ मन्त्री भण्डारीले भने, ‘श्रमिकहरुलाई भाषा, संस्कृति, श्रमबजार, प्रविधि र वातावरण बुझाउन पनि जरुरी छ, यसले दुवैपक्षलाई फाइदा पुर्याउँछ ।’
मन्त्री भण्डारीले घरेलु कामदारको रुपमा महिला पुरुष दुवै वैदेशिक रोजगारीमा जाने गरे पनि महिला कामदार बढी प्रभावित हुने गरेको पाइएको बताए । ‘घरेलु महिला कामदार पठाउने सम्बन्धमा बढी नै जिम्मेवार र होसियारी अपनाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘हाम्रो सरोेकारको विषय भनेकै महिलाहरुले काम गर्न पाउने वातावरण र सुरक्षाको सुनिश्चितता हो ।’
सरकारले पछिल्लो समय वैदेशिक रोजगारको क्षेत्रमा केही नीतिगत निर्णयहरु गर्न लागेको जनाउँदै मन्त्री भण्डारीले अधिकतम सेवासुविधा, समाजिक सुरक्षा र काम गर्ने स्वच्छ वातावरणको ग्यारेन्टी भए अन्तर्राष्ट्रिय श्रमबजारमा सबैखाले नेपाली श्रमिक उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । मन्त्री भण्डारीले वैदेशिक रोजगारीलाई पुनःपरिभाषित गर्नुपर्ने अवस्था आएको भन्दै यसलाई मर्यादित, सम्मानित र पारदर्शी बनाउन व्यवसायी, रोजगारदाता र सरोकारवाला सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।