काठमाडौं (प्रस)– वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको लमही नगरपालिका–५ घर भई हाल ललितपुर भैसेपाटी बस्ने कमलप्रसाद भण्डारी र उदयपुरको त्रियुगा नगरपालिका–३ घर भई हाल भक्तपुर बालकोट बस्ने नविन बुढाथोकी रहेका छन् ।
भण्डारीले मञ्जु रावत घर्तीसमेत दुई जनालाई पोर्चुगल पठाई मासिक एक लाख ५० हजार रुपैयाँ तलवमा एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी रकम ठगी गरेको प्रहरीले जनाएको छ । उनले पीडितसँग पटक–पटक गरी १८ लाख ६४ हजार रुपैयाँ लिएर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । रकम संकलन गरी फरार रहेका भण्डारीलाई खोजतालासका क्रममा मिनभवनबाट पक्राउ गरिएको बताइएको छ ।
त्यस्तै अर्का व्यक्ति बुढाथोकीले विजय राईलाई मासिक एक लाख रुपैयाँ तलब हुनेगरी कतार पुलिसमा काम लगाइदिने भन्दै ठगी गरेको बताइएको छ । उनी पीडितबाट पटक–पटक गरी पाँच लाख ६० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेको प्रहरीले उल्लेख गरेको छ । फरार अवस्थामा रहेका बुढाथोकीलाई पनि मिनभवनबाटै गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।