काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोलप्रसाद अर्याल एक वर्षपछि श्रम मन्त्रालयमा फर्किएका छन् । नयाँ सत्ता गठबन्धन बनेसँगै रास्वपा सरकारमा सहभागी हुँदा अर्याल श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री बनेका हुन् । मंगलबार विनाविभागीय मन्त्रीको शपथ लिएका उनले बुधबार मन्त्रिपरिषद् बिस्तार हुँदा श्रम मन्त्रालयको जिम्मेवारी पाए । उनले बुधबार साँझ नै आफ्नो पदभार सम्हालेका छन् ।
यसअघि २०७९ माघ ३ मा श्रममन्त्री बनेका उनले एक महिना पनि काम गर्न पाएनन् । त्यतिबेला गठबन्धन परिवर्तन भएपछि २०७९ माघ २२ मा रास्वपा सरकारबा बाहिरिएको थियो । दोस्रोपटक श्रम मन्त्रालयको जिम्मेवारी पाएका अर्याललाई त्यतिखेरको अपूरो योजना कार्यान्वयनमा ल्याउने अवसर मिलेको छ ।
उनीमाथि आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नुपर्ने चुनौती छ । वैदैशिक रोजगारसम्बन्धी जानकार रहेको बताउने मन्त्री अर्यालमाथि सुरक्षित, मर्यादित, पारदर्शी र व्यवस्थित वैदेशिक रोजगारीलाई व्यवहारमा उतार्नुपर्ने जिम्मेवारी आएको छ ।
वैदेशिक रोजगारीको हकमा मलेसिया तथा खाडी मुलुकमा जाने कामदारहरुलाई सरकारले व्यवस्था गरेको तर कार्यान्वयनमा ल्याउन नसकेको शून्य लागत (फ्रि भिसा, फ्रि टिकट) कार्यान्वयन गर्न कस्तो पहल गर्लान् ? त्यो हेर्न बाँकी नै छ । निवर्तमान श्रममन्त्री शरतसिं भण्डारीले व्यवसायीको पक्षमा हुने गरी गरेका निर्णयहरुलाई नवनियुक्त मन्त्री अर्यालले कसरी अगाडि बढाउँलान् भन्ने पनि प्रतीक्षाकै विषय बनेको छ ।
म्यानपावर व्यवसायी भएको र स्वार्थ बाझिने मन्त्रालयमा नियुक्ति दिइएको भन्दै विवादमा तानिएका थिए । दोस्रो कार्यकाल मन्त्री अर्यालका लागि चुनौती र अवसर दुवै भएको सरोकारवाला बताउँछन् ।
‘मजदुरको समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने छु’
काठमाडौं (प्रस)– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले संसारभर रहेका नेपाली मजदुरका समस्या एकद्वार प्रणालीबाट जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्दै मन्त्री अर्यालले उक्त प्रतिबद्धता जनाएका हुन् ।
‘संसारभरि रहेका नेपाली श्रमिकको समस्यालाई एकद्वार प्रणालीबाट सबैभन्दा पहिला समाधानको प्रयास गर्ने छु, त्यो श्रम मन्त्रालयको जिम्मेवारी पनि हो,’ उनले भने । विदेश र स्वदेशमा रहेका श्रमिकको हकहित आफ्नो पहिलो प्राथमिकता हुने उनले बताए ।