काठमाडौं (प्रस)– श्रम, रोेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्दै आएका १४५ वटा स्वास्थ्य संस्थाको नवीकरण गरेकोे छ । मन्त्रालयले वैदेशिक रोजगार ऐनको दफा ७२ र नियमावलीको नियम ४५ (क) तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि–२०७२ बमोजिम ती स्वास्थ्य संस्थाको नवीकरण गरेको हो ।
मन्त्रालयले एक सूचना जारी गर्दै वैदेशिक रोजगारमा जाने कामदारहरुको विदेश जानुअघि स्वास्थ्य परीक्षण गराउने संस्थाहरुले कानुनबमोजिम सूचीकरण नवीकरण हुनुपर्ने व्यवस्था भएका कारण तोकेअनुसार आवश्यक कागजात र दस्तुरसहित पेस गरिएका संस्थाहरुको नवीकरण भएको उल्लेख गरेको छ । कार्यविधिअनुसार तीन वर्षका लागि सूचीकरण नवीकरण गरिएको पनि मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगार ऐन, नियमावली र कार्यविधिले वैदेशिक रोजगारमा विदेश जाने कामदारहरुको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाहरु अनिवार्यरुपमा श्रम मन्त्रालयमा सूचीकरण हुनुपर्ने व्यवस्था गरेको छ । यसरी सूचीकरणमा रहेका स्वास्थ्य संस्थाहरुले एकैपटक तीन वर्षका लागि नवीकरणको सुविधा पाउने व्यवस्था छ । विदेश जाने कामदारको हकमा मन्त्रालयमा सूचीकृत तथा नवीकरण भएकाबाहेक अन्य संस्थाहरुले गरेको स्वास्थ्य परीक्षण मान्य नहुने व्यवस्था छ ।
यसपटक मन्त्रालयले जारी गरेको नवीकरण भएका स्वास्थ्य संस्थाको संख्या भने घटेको छ । यसअघि २१६ वटा स्वास्थ्य संस्थाले व्यावसायिक प्रयोजनका लागि नवीकरण गरेका थिए । मन्त्रालयले उपत्यकामा रहेका १२२ र मोफसलबाट २३ वटा स्वास्थ्य संस्था नवीकरण भएको जनाएको छ ।