काठमाडौं (प्रस)– जापानमा प्रशिक्षार्थी कामदार पठाउन जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरेको भनी कारबाहीमा परेका म्यानपावर कम्पनीहरुले सफाइ पाएका छन् । वैदेशिक रोजगार विभागले आवश्यक अनुसन्धानपश्चात् कैफियत नदेखिएको भन्दै कारबाहीमा परेका १४ वटा म्यानपावर कम्पनीलाई सफाइ दिएको हो ।
यसअघि विभागले नै शंकास्पद तथा नक्कली कागजातको आधारमा नेपालीलाई रोजगारीका लागि जापान पठाउने गरेको भन्दै निलम्बन गरेको थियो । यसरी निलम्बनमा परेका म्यानपावरहरुले आफूहरुमाथि अन्याय भएको भन्दै पुनरवलोकनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आवेदन दिएका थिए । तत्पश्चात निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीले म्यानपावरहरुमाथिको निलम्बन हटाउँदै विभागलाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिएका थिए । म्यानपावरहरुलाई विभागले गरेको निर्णयविरूद्ध श्रम मन्त्रालयमा पुनरवेदन गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
सोही आधारमा विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा गठित समितिको अनुसन्धानपछि कुनै कैफियत नभेटिएका कारण म्यानपावरहरुले सफाइ पाएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए । ‘जापान जाने तयारीमा रहेका कामदारलाई समस्या पर्नसक्ने देखिएको भन्दै म्यानपावरको निलम्बन फुकुवा गरी अनुसन्धान जारी राख्ने मन्त्रालयको निर्देशन थियो,’ उनले भने, ‘अनुसन्धानको क्रममा कारबाही नै गर्नुपर्ने खालको त्रुटि नभेटिएपछि विभागले काम गर्न रोक लगाइराख्नुपर्ने देखिएन ।’
विभागले सफाइ दिएकाहरुमा गुड लाइफ इन्टरनेसनल इम्प्लोइमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डिएन इन्टरनेसनल नेपाल ओभरसिज, रोयल ओभरसिज नेपाल, जब्स ग्लोबल डटकम, लायन्स इन्टरनेसनल, भण्डारी ओभरसिज, वल्र्ड फेवर ओभरसिज, न्याप इन्टरनेसनल, मञ्जुश्री ओभरसिजलगायतका १४ वटा म्यानपावर रहेका छन् ।
विभागले गत असोजमा शंकास्पद तथा नक्कली कागजात पेस गरी नेपालीलाई रोजगारीका लागि जापान पठाउने २३ वटा म्यानपावरमाथि अनुसन्धान थालेको थियो । यद्यपि, विभागले अनुसन्धानपछि १४ वटा म्यानपावर कम्पनीमात्रै निलम्बन गरेको थियो ।