उत्पादनमूलक क्षेत्रमा कोरिया जान आवेदन दिएका एक लाख ६३ हजार जनाको भाषा परीक्षा सकिनै एक वर्ष लाग्ने देखिएकाले कोरियाली पक्षबाट अन्य क्षेत्रमा थप कामदार लैजान नसकिने जानकारी दिएको इपिएस शाखाले जनाएको छ ।
काठमाडौं– दक्षिण कोरियाले यस वर्ष उत्पादनमूलकबाहेक अन्य क्षेत्रमा कामदार लैजान नसकिने बताएको छ । उत्पादनमूलक क्षेत्रमा जान भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका कारण यस वर्ष (सन् २०२४) अन्य क्षेत्रमा भाषा परीक्षा सञ्चालन गर्न र कामदार लैजान नसकिने बताएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी दिएको हो ।
उत्पादनमूलक क्षेत्रमा कोरिया जान आवेदन दिएका एक लाख ६३ हजार जनाको भाषा परीक्षा सकिनै एक वर्ष लाग्ने देखिएकाले कोरियाली पक्षबाट अन्य क्षेत्रमा थप कामदार लैजान नसकिने जानकारी दिएको इपिएस शाखाले जनाएको छ ।
भाषा परीक्षामा सहभागी हुने परीक्षार्थीको संख्या ठूलो भएका कारण समय लाग्ने देखिएको भन्दै यस वर्ष अन्य क्षेत्रमा थप कामदार लैजान नसकिने जानकारीसहित औपचारिकरुपमै एचआरडी कोरियाबाट पत्र प्राप्त भएको शाखाकी निर्देशक मैयाँ कँडेलले बताइन् । ‘पत्रमार्फत नै नेपालको विकल्पमा अरू क्षेत्रका लागि अन्य मुलुकबाट कामदार लैजाने जानकारी दिएका छन्,’ उनले भनिन्, ‘परीक्षा सकिनै समय लाग्ने देखिएकाले उनीहरुले विकल्प खोजेको देखिन्छ ।’ तर यसअघि भाषा तथा सीप परीक्षण उत्तीर्ण गरेर रोस्टरमा रहेकाहरू भने कोरिया जान पाउने उनको भनाइ छ ।
शाखाले निकालेको तालिकाअनुसार उत्पादनमूलक क्षेत्रमा कोरिया जान आवेदन दिएका एक लाख ६३ हजारभन्दा बढी नेपालीहरूको भाषा परीक्षा आगामी पुस २ गतेसम्म सञ्चालन हुने छ । कोरियाले यस वर्ष उत्पादनमूलक क्षेत्रमा नेपालबाट १५ हजार ८४८ जना कामदार लैजाने कोटा निर्धारण गरे पनि भाषा परीक्षाका लागि १० गुणाभन्दा बढी आवेदन परेपछि परीक्षा सकिन झण्डै एक वर्ष लाग्ने निर्देशक कँडेलले बताइन् ।
‘अहिले पहिलो चरणअन्तर्गत दैनिक २०० जनाको दरले पाँच सिफ्टमा एक हजार जनाको परीक्षा लिइरहेका छौं,’ उनले भनिन्, ‘आगामी मई महिनाबाट सुरू हुने दोस्रो चरणको परीक्षामा सहभागी संख्या बढाउन र छिटो परीक्षा सम्पन्न गर्न आवश्यक उपकरण र जनशक्ति थप गर्न एचआरडी कोरियालाई आग्रह गरेका छौं ।’
भाषा परीक्षाकै लागि एक वर्ष लाग्ने भएका कारण अन्य विकल्पको खोजी गर्न पनि कोरियाली पक्षले सुझाएको शाखाका एक अधिकारीले बताए । उनका अनुसार परीक्षा सञ्चालनमै समय खर्च हुने भएपछि नेपालबाट जति कामदार आपूर्ति गर्ने लक्ष्य राखिएको हो त्यो पूरा गर्न नसकिने हुँदा अर्को देशबाट छनोट गरी लैजानुपर्ने बाध्यता आएको कोरियाली पक्षले जानकारी दिएको छ । यद्यपि, यसपटक अन्य क्षेत्रमा नेपाली कामदार लिन नसक्ने जानकारी दिएको कोरियाले उत्पादनमूलक क्षेत्रमा निर्धारण गरिएको कोटाभन्दा बढी संख्यामा कामदार लैजाने संकेत दिएको छ । रोजगारदाताको रोजाइमा नेपाली कामदार परेका कारण यसपालि ३० हजार जनाको हाराहारीमा कोरियाले नेपाली कामदारको माग गर्ने ती अधिकारीको दाबी छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत वर्ष (सन् २०२३) २१ हजारभन्दा बढी नेपाली कामदार रोजगारीका लागि कोरिया पुगेका छन् । कोरियाले इपीएस प्रणालीबाट सबैभन्दा धेरै कामदार नेपालबाट लैजाने गरेको छ । पछिल्लो समय कोरियाले नेपालबाट उत्पादनमूलक तथा कृषि क्षेत्रका साथै निर्माण क्षेत्र, सेवामूलक र पानीजहाज निर्माण क्षेत्रमा पनि कामदार लैजाने प्रक्रिया अघि बढाएको छ ।