अहिले भौमानका नाममा अनगिन्ती कुरा हुन थालेका छन् । को भौमान, को मानव, को दानव बुझ्न नै कठिन छ । ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्ने छ कवि’ होइन, ‘जहाँ पुग्दैन कवि, त्यहीँ पुग्छ रवि !’ जस्तै भएको छ । शक्तिको भक्ति अहिले हो र ऊ बेलादेखि नै भएको थियो । भन्छन्– कस्तो गणेश प्रवृत्ति । विचरा, यति लामो सँुढ भएको गणेशलाई दोष दिन्छन् ? सक्नेले कर्म गर्ने हो नसक्नेले मात्र भक्ति गर्ने हो !
सत्ता र भत्ता उस्तैउस्तै हुन् जति खाए पनि नअघाउने । बीरबहादुरले त्यसै भक्तिगान गर्ने ग¥या हो र ? विचरा, कर्म गर्दा केही नै नभएपछि शक्तिको भक्तिगानमै छ । ‘आऊ, मिलाउँ हाम्रा यी हातहरु’ भन्दै भक्तिगान गर्न थालेपछि पो बीरबहादुरका दिन सुरू भए । कवि नपुग्ने ठाउँमा रवि पुग्न थाल्या छ नि !
सत्य युगमा शिवका पुत्र गणेशले सुमेरु पर्वत परिक्रमा गर्न गएनन्, तर कुमार सुमेरु पर्वत परिक्रमा गरेर फर्कंदा गणेशले शिवको भक्तिमा आफ्नो आवश्यकता पूरा गरिसकेका थिए । अर्थात् त्यसबेलादेखि नै शक्तिको भक्ति थियो भनेरै होला बीरबहादुर आजकल कर्म हैन भक्तिमै तल्लीन छन् ।
बीरबहादुरको भक्तिगानले छिमेकी लुरेले पनि आजकल भक्तिगान गर्न थालेको छ । हिजोसम्म सत्य कुरा गर्ने, कर्ममा विश्वास गर्ने लुरे, वीरबहादुरको संगतले नै होला आफ्नो त्यस्ता त भन्ने चीजमात्र हो पो भन्न थालेका छन् । कम्तीमा कर्मको त विश्वास गर साथी ।
मान्छेको अनुहारैपिच्छे कुरा गर्न खप्पिस बीरबहादुरले लुरेलाई कहाँ सबै शक्तिका सामु लैजान्थ्यो र ? जहाँ–जहाँ आफ्नो स्वार्थ पूरा गर्नुपर्ने थियो त्यही लुरेको उपस्थिति उसका लागि महŒवपूर्ण हुन्थ्यो । लुरेको बोलीलाई भरपूर प्रयोग गर्न सफल भएको थियो । काप्राका बोटमुनि बीरबहादुरले देखाएको ‘आफू हुँदा ठीक, अरू हुँदा बेठीक’ भन्ने लुरेले बुझेको भने थिएन ।
जता हावा लाग्छ उतै हल्लिन जान्ने बीरबहादुर र नानीदेखि सत्य बोल्ने लुरेले दुई÷चार दिनमा नै के भक्ति गर्न सक्थ्यो र शक्तिको ! लुरेका हजुरबाले भन्थे, ‘दरबार नपस्नु, खरानी नधस्नु’ । अहिले दरबार पनि बस्नै पर्छ खरानी पनि धस्नै पर्छ । नत्र उही हो ताल । बाटोमा हिड्न पनि मुश्किल पर्छ ।
पहिले पो एउटा राजदरबार थियो । अहिले त दरबार नै दरबार छन् । दाहाल दरबार, देउवा दरवार, ओली दरबार, यादव दरबार, नेपाल दरबार । नगई हुँदै नहुने ! नगए पछि परिने । विचरा, लुरे दरबारतिर लागोस् । उता जिम्मेवारी पूरा गर्न पो लागोस् । यता गए उता छुट्ने, उता गए यता छुट्ने । धेरै बैगुनी । शक्तिका लागि मुखै हेर्दिनँ भनेर पनि लास्टा अँगालो नै मार्नुपर्ने ।
दुई/चार दिन बीरबहादुरको संगतले भक्तिगानमा हिँडेको लुरे फेरि उही लाइनमा आइसकेको छ । नानीदेखि लागेको बानी विचरा ! कसरी छुट्थ्यो र । कार्यालय गयो हाकिमको भक्ति, संगठनमा गयो नेताको भक्ति, काम गर्न हिँड्यो काम लगाउनेको भक्ति ! भक्ति गर्दा गर्दै विचरा लुरेका सकिने भो शक्ति ! शक्तिको भक्ति गर्नुपर्ने बेलामा भक्ति गर्दै शक्ति सकिएपछि के–के पाउँथ्यो र फल !
हिजो आज विद्यालयका मास्टरहरु संगठनका नेताहरुको भक्तिमा, प्रधानाध्यपक शिक्षाका हाकिमको भक्तिमा, कर्मचारीहरु गुट उपगुटका भक्तिमा, प्रशासकहरु शक्ति केन्द्रको भक्तिमा ठेकेदारहरु नेताको भक्तिमा । सबै भक्तिहरु धनको शक्तिमा । यही शक्ति र भक्तिका कारण लुरेले बीरबहादुरसँग सम्बन्ध बिच्छेद गरेको छ ।
किनकि, आज सम्बन्ध बिच्छेद पनि उही भक्तिका गाउँमा छ । उता श्रीमान् खाडीमा, यता श्रीमती अर्कैको रंगीन साडीमा भएपछि गाउँमा माल्दाइले भने जसरी नै सम्बन्ध बिच्छेद बढेको छ ।
त्यही भएर शक्तिको भक्ति अपरम्पार छ । सत्तामा पुग्नेलाई पनि शक्तिको भक्ति गाउनु परेको छ । नगाई त सुखै छैन । पद प्रतिष्ठा सबै शक्तिकै भक्तिमा अडिएको छ । त्यही भएर होला गठबन्धनको दिक्दारी भएर शक्ति पाउन आएकाहरु त्यही गठबन्धनसँग मितेरी लगाई भक्ति गाइदिएका छन् । कुरा एकातिर काम अर्कोतिर भएको छ । सत्ययुगमा महादेवले त भक्ति गान गर्ने गणेशलाई वोकेर हिडँे भने अहिले कलियुगका शिवहरुले के बोकेर हिड्छन् त ?
कलियुगमा कर्म गर्नेहरुसँग डराउनु पर्ने लुरेले थाहा पाइसकेको छ । कलियुग त सुन तस्करहरुको हो । ब्याज असुल्नेहरुको हो । ठगी गर्न जान्ने, झूठो खेती गर्न जान्नेहरुका लागि फलिफाप नै हो । अरूलाई त पाएसम्म भित्ता पु¥याउने नै हो । बीरबहादुरहरुले त्यसै शक्तिको भक्ति गरेका होइनन् । आज बीरबहादुर त्यसै बीरबहादुर बनेको छैन । अनि लुरे सधंै मरन्च्याँसेभन्दा बाहिर आउन नसकेको पनि त्यही भएर होला । नभएको कुरा पनि हो भन्न नसक्ने लुरेहरुका लागि खाडी नै ठीक छ ।
बीरबहादुरहरुलाई यहीँको राष्ट्रवाद ठीक छ । जसरी पनि, जहिले पनि, जति पनि, जोसुकैसँग पनि, जुनसुकै बेला पोलेरै भ्याउनु छ । शक्ति र भक्तिका सामु जोगी र भैँसी उस्तैउस्तै हुन् । शक्ति भक्तिसँग डराउने, भक्ति शक्तिसँग डराउने । दुवैको भूमिका उस्तै । कलियुगका छेपारे भगवान्हरु शक्तिविना पानीविनाको माछाजस्तै हुन्छन् । छट्पट–छट्पट भइ नै रहने स्तुतिगान भएन भने त निद्रा नै नलाग्ने ।
त्यही भएर नै होला लुरेहरु लाहुर पसे, बीरबहादुरहरु दरबार घुसे ! प्रसोसन खाउँ भक्ति गाउँ । सत्ता पाऊ, भक्ति गाउँ । यो, त्यो, ऊ, सबै आफ्नै बनाउँ तर वन्दना गर्दै भक्ति गाऊ । शक्ति देखाऊ । विनाभक्ति लुरेहरुको हुँदै हुँदैन शक्ति । त्यसैले आऊ, मिलेर गाउँ शक्तिको भक्ति !