तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीले एकैपटक उद्घाटन गरेका देशभरका ३६३ वटा अस्पतालमध्येको एक हो, सूर्यविनायक नगर अस्पताल । ती अस्पतालहरूमध्ये अधिकांश नाममात्रको अस्पतालका रूपमा सञ्चालित रहेका छन् । कतिपय बन्द प्रायः भइसकेका छन् । तर डा. मनिषाजस्ता दृढ समर्पण भाव रहेका स्वास्थ्यकर्मीहरूका कारण सूर्यविनायक नगर अस्पतालले फरक पहिचान बनाउन सफल भएको छ ।
अस्पताल भन्नेबित्तिकै सबैलाई लाग्छ, सकेसम्म जानै नपरोस् । तर रोगले च्यापेपछि अस्पताल नगई धर पाइन्न । आफैं बिरामी हुँदा मात्र होइन, आफन्त वा साथीसंगी बिरामी हुँदा पनि अस्पताल पुग्नुपर्ने हुन्छ । अस्पतालमा एक त रोग र खर्चको चिन्ता त छँदै छ, त्यसमाथि कतिपय अस्पतालमा कर्मचारीको व्यवहारले पनि बिरामी र आफन्तलाई दिक्दार बनाउँछ । त्यही कारण ‘अस्पताल जानै नपरोस्’ भन्ने कामना हरेक व्यक्तिले गरेका हुन्छन् ।
भक्तपुरको सूर्यविनायक नगर अस्पतालमा पुग्ने बिरामीले भने फरक अनुभूति गर्न पाउँछन् । यसको श्रेय अस्पतालकी जनसम्पर्क निर्देशक डा. मनिषा कार्कीलाई जान्छ । उपचारका लागि यस अस्पतालमा आउने बिरामीलाई उनी आफ्नै आफन्तसरह व्यवहार गर्छिन् । र, बिरामी पनि उनलाई आफ्नै आफन्त ठान्छन् । विशेषगरी कोरोना महामारीको समयमा उनले पु¥याएको निःस्वार्थ सेवाबाट सयौं बिरामी र बिरामीका आफन्तहरू लाभान्वित भएका थिए । जसबाट बिरामी र आफन्तको विश्वास जित्न सफल भएकी छन् डा. मनिषा ।
उनी उपचारमा ज्येष्ठ नागरिक, निम्न वर्गका र असहाय बिरामीलाई पहिलो प्राथमिकता दिने गर्छिन् । जसकारण सूर्यविनायक नगर अस्पतालमा उपचारका लागि पुग्ने अधिकांश बिरामी उनको सेवाको प्रशंसा गर्छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीले एकैपटक उद्घाटन गरेका देशभरका ३६३ वटा अस्पतालमध्येको एक हो, सूर्यविनायक नगर अस्पताल । ती अस्पतालहरूमध्ये अधिकांश नाममात्रको अस्पतालका रूपमा सञ्चालित रहेका छन् । कतिपय बन्द प्रायः भइसकेका छन् । तर डा. मनिषाजस्ता दृढ समर्पण भाव रहेका स्वास्थ्यकर्मीहरूका कारण सूर्यविनायक नगर अस्पतालले फरक पहिचान बनाउन सफल भएको अस्पतालका वरिष्ठ चिकित्सकहरु बताउँछन् ।
दैनिक ३०० जनाभन्दा बढी बिरामीले यो अस्पतालबाट सेवा लिइरहेका छन् । १३ शय्याको यस अस्पतालमा पाँचजना डाक्टर र १३ जना नर्सले सेवा पु¥याइरहेका छन् । वार्षिक १० करोड रुपैयाँ बजेट सूर्यविनायक नगरपालिकाले उपलब्ध गराउँदै आएको छ । डा. मनिषा स्वयंसेवकको रुपमा यो अस्पतालमा प्रवेश गरेकी हुन्, दुई वर्ष स्वयंसेवककै भूमिकामा काम गरिन् । यसअघि उनी नागरिक अस्पतालमा कार्यरत थिइन् ।
कुनै पनि व्यक्तिले मान, दाम र इज्जत विशेष परिस्थिति, विशेष अवस्थामा मात्र पाइन्छ । नत्र प्रत्येक मान्छेको कर्मकाण्डी रूपमा नै बित्दै जान्छ जिन्दगी । डा. मनिषा नागरिक अस्पतालमा कार्यरत रहँदाको कुरा हो– त्यसबेला कोरोना (कोभिड–१९) महामारीले विश्वव्यापी संकट निम्त्याइरहेको थियो । मानिस घरबाहिर निस्कनसमेत प्रतिबन्ध लगाइएको थियो । स्वास्थ्यकर्मी चिकित्सकहरूले समेत धमाधम राजीनामा दिँदै घर बस्न थालेका थिए ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू पनि सकेसम्म आफूलाई टाढै राखी बिरामीको सेवामा लागिरहेका थिए भने कतिपय नेता, मन्त्रीदेखि स्वास्थ्यकर्मीहरुले सेवाभन्दा बढी स्वास्थ्यमा व्यापार गरिरहेका थिए । मान्छेको नाउँमा बाँचिरहेका लासमाथि पनि व्यापार गर्ने स्वास्थ्य क्षेत्रका अधर्मीहरुले एम्बुलेन्स मिलाइदिने भन्दै कमिसन खान महँगो नर्सिङ अस्पताल पु¥याएर होस कि, अनावश्यक दुःख दिएर लाखौं रुपैयाँ ठगेका घटना सञ्चारमाध्यममार्फत सार्वजनिक भएका थिए । त्यतिबेला थोरै स्वास्थ्यकर्मीहरू थिए, जसले आफू र आफ्नो घर परिवारलाई भन्दा बढी बिरामीको सेवामा समय दिइरहेका थिए । आफ्नो घरसमेत नगई कोरोनाबाट प्रभावित बिरामीको उपचार खटिरहे ।
त्यस्ता थोरै स्वास्थ्यकर्मीहरूमध्येमा पर्छिन् डा. मनिषा । खाना र निद्रालाई समेत वास्ता नगरी खटाएको ठाउँ मनोहरा भक्तपुरको सुकुम्बासी बस्तीदेखि धनगढीसम्म पनि बिरामी सेवामा लाग्दा भगवान्को कृपाले आफूलाई कोरोनाले नछोएको उनी सुनाउँछिन् । धपेढीका कारण ज्वरो आउँथ्यो तर आत्मवललाई दह्रो बनाएर सेवामा लाग्दा आन्तरिक शक्ति जागृत भई कोरोनाले पनि छुन नसकेको डा. मनिषाको अनुभूति छ ।
स्वास्थ्य सेवामा लाग्न आमाबाट उत्प्रेरणा
सर्वधर्म समभावका प्रतीक साइबाबामा आस्था राख्छिन् डा. मनिषा । उनलाई डाक्टर बन्न आमा आशा कार्कीबाट उत्प्रेरणा मिलेको हो । आफू ‘टिस्यु कल्चरिस्ट’ भएर पनि उनलाई डाक्टर बन्ने इच्छा रहेछ । बुबा मेकानिकल इञ्जिनियर श्रीबहादुर कार्की, समाजमा चिनिएका सम्पन्न व्यक्तित्व थिए तर उनको किड्नी फेल हुँदा तत्कालीन समयमा राम्रो उपचार पाउन नसक्दाको पीडा नजिकबाट नियालेकी थिइन्, डा. मनिषाले ।
त्यो बेला स्वास्थ्य उपचारमा हुने व्यापारीकरण, खर्च गर्न सक्ने र नसक्ने बिरामी तथा तिनका आफन्तप्रति गरिने विभेदलाई नजिकबाट नियालिन् । उनको दाजु इञ्जिनियर बनेपछि आमाको इच्छा र हौसलाका कारण मनिषाले डाक्टर बन्नका लागि तयारी गरिन् । कडा मिहेनतको परिणाम उनी डाक्टर हुन सफल भइन् ।
उनले आफू डाक्टर बनेपछि डाक्टरको जागिरे करिअरमात्र नठानी भ्याएको समय समाजका दीन दुःखी, ज्येष्ठ नागरिकको सेवा गर्ने दृढ निश्चय गरी सो लक्ष्यअनुसार सेवा दिँदै आएकी छन् । सेन्ट मेरिज स्कुलमा अध्ययन गरी पोखराको मणिपाल कलेज हुँदै चिकित्सा क्षेत्रमा अगाडि बढ्दा डा. मनिषाले स्वास्थ्य क्षेत्रमा व्याप्त व्यापारीकरणले पारेको अप्ठ्यारो सामना गर्नुप¥यो । बुबाको मृत्युलगायत व्यक्तिगत जीवनमा भोग्नुपरेको बज्रपातका घटनापछि आफूलाई झनै बलियो रूपमा काममा होमिन तयार भइन् ।
उनले आफूलाई बिरामीकै सेवामा समर्पित गरेकी छन्, प्रशासनिक र चिकित्सकीय माध्यमबाट । यसको सम्पूर्ण श्रेय आफ्नी आमालाई दिन्छिन् उनी । ‘मेरै अगाडि पिताले मृत्युवरण गर्नुभयो । श्रीमान् पनि बित्नुभयो । म पनि एक दिन मर्नुपर्छ । एकदिन मरिजाने जीवनमा बिरामीलाई आफूले सकेको माया दिएर हुन्छ कि उपचार सर्वसुलभ दिएर हुन्छ मैले सेवा पु¥याउनुपर्छ भन्ने लाग्यो,’ उनले सुनाइन् ।
श्रीमान्को निधनपछि नै उनले आफूलाई बिरामीप्रति नै समर्पित गर्ने सोचसहित अगाडि बढेकी हुन् । सूर्यविनायक नगरपालिकाको गुण्डुमा बनाएको घरमा निःशुल्क स्वास्थ्य सेवा, परीक्षण गर्ने क्लिनिक चलाइन् । डा. मनिषाको गुण्डुको क्लिनिकमा स्वास्थ्य परीक्षण निःशुल्क मात्र गरिदिँदा पनि स्थानीय बासिन्दाले ठूलै राहत महसुस गरेर आशीर्वाद दिएर जाने गरेका छन् । अन्य बिरामीका लागि आवश्यक सहयोगमा पनि खटिन्छिन् उनी ।
डाक्टर भनेको औषधि लेखिदिने मात्र होइन
अबको आफ्नो लक्ष्य नर्स, डाक्टर र स्वास्थ्यकर्मी भनेको औषधि लेखिदिने व्यक्ति मात्र होइन भन्ने दस्तावेज तय गर्दै जाने रहेको डा. मनिषा बताउँछिन् । त्यसका लागि गुण्डुमा स्थापित सानो निःशुल्क स्वास्थ्य क्लिनिकलाई सदुपयोग गर्ने उनको सोच छ । स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण हुन नदिन चेतनामूलक स्वास्थ्य अभियान थाल्ने डा. मनिषा बताउँछिन् ।
आफ्नो चिकित्सा पेसाप्रति नै पुनःविचार गर्नुपर्ने गरी बिरामीमाथि भइरहेको व्यापारको सञ्जाल ध्वस्त तोड्न ढिला भइसकेको उनलाई लागेको छ ।
यसका लागि राजनीतिमै लाग्नु परे पनि तयार छिन् उनी । राजीनीति नै गर्नुपर्ने सोच आउनुको पछाडिका कारणबारे उनी भन्छिन्, ‘एकजना डाक्टर बिरामीको उपचार सेवाको वरिपरि नै रूमल्लिरहेको हुन्छ तर राजनीतिक क्षेत्रमा लागेर स्वास्थ्य नीति, ऐनमा सुधार/संशोधन गर्न पाए त्यस्तो नीतिले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्न सकिने र यस क्षेत्रको भ्रष्टाचार न्यूनीकरणका लागि सहयोग पुग्छ । मेरो अनुभवमा यहाँ हाल ठूला र सुविधा सम्पन्न निजी अस्पतालमा बिरामी जान वाध्य पारेर उपचारको बहानामा दुःख दिने प्रवृत्ति पनि बढेको छ ।’
थोरै खर्चमा गरिने उपचारलाई पनि बढी खर्च लाग्ने गरी विविध परीक्षण, औषधि दिएर दिने दुःख र सास्तीको अन्त्यका लागि राजनीतिक तबरबाटै आवाज उठाउनु जरूरी रहेको उनी ठान्छिन् । यसकारण राजनीतिमा जाने विकल्प पनि सोचेको डा. मनिषा बताउँछिन् ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाको बेला मृत्यु हरेक व्यक्तिको वरिपरि घुम्दा स्वास्थ्य क्षेत्रले भने कमाए । तर कोरोनाप्रभावित बिरामीको सेवामा खटिएका चिकित्सकले परिवारको माया र साधारण उपचारबाहेक विशेष सुविधा पाएका थिएनन् । यद्यपि, डा. मनिषा जस्ता चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले विशेष सुविधाभन्दा बिरामीको सेवालाई महŒव दिएका थिए । त्यही अनुभव र सेवाभावलाई नगर अस्पतालमा प्रयोग गरिरहेकी छन् डा. मनिषा । जसले सर्वसाधारणमा सूर्यविनायक नगर अस्पतालप्रतिको विश्वास र भरोसा बढाउँदै लगेको प्रत्यक्ष अनुभूति गर्न सकिन्छ ।