काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा मेदान्त अस्पतालका तर्फबाट सेल्स एण्ड मार्केटिङ्गका उपाध्यक्ष सुकेश थरेजाले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकलाई अस्पतालले १० प्रतिशत सम्म छुट दिने जनाइएको छ । यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा सहज हुने विश्वास बैंकले लिएको छ । यो सुविधा भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौरलगायतका मेदान्त अस्पतालका सबै शाखाहरूबाट पाउनसकिने उक्त अवसरमा जनाइएको थियो ।