काठमाडाैं -आर्थिक वर्ष २०८०/८१ को सात महिनामा ८६ अर्ब नाघेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु निर्यात ७.१ प्रतिशतले कमी आई रु.८६ अर्ब ८३ करोड कायम भएको हाे ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११.३ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ३३८.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड,जुस, तयारी पोसाक, अदुवा लगायतकावस्तुको निर्यात बढेको छ भने पाम तेल,सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैचा लगायतका वस्तुको निर्यात घटेको छ ।
निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले कमी आई रु.८११ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.७ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.८८ अर्ब १८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.७१ अर्ब ७८ करोड बराबरको भएको थियो ।
सार्वजनिक भएकाे तथ्यांक अनुसार वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६.४ प्रतिशत र ४३.४ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात्०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५३.९ प्रतिशत, ०.५३ प्रतिशत र ४५.५ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९.२ प्रतिशत, पुँजीगत वस्तुको ८.९ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.१ प्रतिशत, ८.६ प्रतिशत र ३८.३ प्रतिशत रहेका थिए ।