देशमा रोजगारीको वातावरण नभएको होइन । तर व्यवस्थित रोजगार हुन नसक्दा युवाहरु दैनिक विदेश भासिरहेका छन् । देश बिहान ढिला उठ्छ । राति ८ नबज्दै प्रहरी लगाएर सरकारले नै सटर बन्द गर्न लगाउँछ । थोरै अवधिको कामले न त उद्योगीले कामदारलाई पुग्दो तलब दिन सक्छ न त उद्योगलाई नै दिगो बनाउन सकिन्छ ।
यही कारण हरेक पाइलामा युवा ठोक्किने विदेशमा नै हुन्, त्यो पनि कामकै लागि । देशमा रोजगार व्यवस्थित नभएपछि नेपाली युवा जनशक्ति कमाईका लागि विदेशिन बाध्य छन् । सरकार युवाको पसिना भित्रिँदा ‘रेमिट्यान्स’को एसी चलाएर मन्त्रालयमा मस्तराम बधाई थाप्छ । यही देखाउँदै देशको अर्थतन्त्र सुध्रियो भन्दै गफ छाँटिन्छ । तर कुनै बेला रहरको पेशा अहिले बाध्यता बनेको छ । पुराना गन्तव्यमा कमाइ कम हुन थालेपनि नयाँ नयाँ श्रम गन्तव्य दलालहरुले भेट्छन् । राम्रो कमाईको आशामा सरकारले श्रम स्विकृति नदिएको देशमा लुकिछिपी पुग्छन् युवाहरु ।
पछिल्लो उदाहरण हो रसिया । जहाँ नेपालीहरु युद्धको मैदानबाटै उद्धारको गुहार मागिरहेका छन् । तर सरकारलाई चासो छैन उनीहरुको उद्धारमा । किनभने रेमिट्यान्सको पैसाले किनेको एसीमा बस्नेहरु सोच्छन् – पैसा कमाउन गैरकानुनी बाटोबाट गएकाहरुलाई किन ल्याउने ? पढाइको नाममा पनि ठुलो संख्यामा काम खोज्दै विदेशिन्छन् युवाहरु ।
यसरी लाम लाग्दै विदेशिदा सरकारले न त यो विषयलाई व्यवस्थित बनाउन सकेको छ न त यससम्बन्धी कानुन नै गतिलो छ । नेपालीहरु जता पुगे पनि नेपालीबाटै प्रताडित भएर ठगिन्छन् । समयमा प्रक्रिया पुरा नहुने, विभिन्न झन्झटमा फस्नेजस्ता समस्याले श्रमिक आजित हुन्छन् । अझ पटकपटक मन्त्री फेरिने र तिनले थाहै नपाउने गरी नयाँ नयाँ नियम थपिदिँदा श्रममा जाने युवाहरुको धेरैजसो समय यतै अलमलमा बित्छ ।
देशप्रति माया र सद्भाव बढ्ने भनेको प्रणालीगत सुधारले हो । नभए यहाँका पाखापखेरो हेरेर मात्र युवाहरु स्वदेश फर्कने अवस्था छैन । यसैले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न ‘सुपर सुपर’ सेन्टरको आवश्यकता देखिन्छ । वैदेशिक रोजगार विभाग, गैरआवासीय नेपाली संघसंस्था, वैदेशिक रोजगार बोर्ड, श्रम स्वीकृतिजस्ता विषय एकै ठाउँबाट हुने व्यवस्था अब सरकारले गर्नुपर्छ । देशमा रोगगार दिन नसक्ने नाममात्रको श्रम तथा रोजगार मन्त्रालय विनाकामको देखिन्छ । त्यसैले यो मन्त्रालय तत्काल खारेज गरी वैदेशिक रोजगार मन्त्रालय खोल्नु उपयुक्त देखिन्छ ।